प्रकृतिलाई नयां वर्षको शुभकामना चढाउन १ झोला फुल बोकेर हिमालदेखि तराईसम्म कठिन यात्रा गरें । कहीं पहिरो पन्छाउंदै, कहीं ढुङ्गा छल्दै, कहीं खोलामा फड्के हाल्दै गरेको १५ सय कि.मि. मोटरसाईकल यात्रा ज्यादै शिक्षाप्रद, उत्साहजनक र अविस्मरणीय रह्‍यो । प्रकृतिलाई फुल चढाएर हेरें, ढोगेर हेरें, मुसारेर हेरें । अंजुलीमा १ मुठी पानी, १ चिम्टी माटो लिएर सोधें, कहां दुख्छ घाउ । अंजुलीभरि हिंउ उघाएर सोधें खुशी छौ कि नाई । बाघ खोजें भेटिन तर फ्रेस पगमार्क देखें र बाघको मनोविज्ञान जान्‍न खोजें, माग बुझ्‍न चाहें । बाघको खुशी मापन गर्ने प्रयत्‍न गरें । 

प्रकृतिले प्रसन्‍न भएर पेट खोलेर आफ्नो भावना पोखिन् । माग राखिन् । मेरो सादर शुभकामना स्वीकार गरिन् । र, भिर पाखाभरि राताम्य फुलेर हामीलाई शुभकामना फर्काईन् । प्रकृतिसंगको मेरो मनोवैज्ञानिक भलाकुसीलाई समेटेर यो  आलेख तयार पारेको छु । 

विषय प्रवेश

हिमालबाट प्रारम्भ गर्दछु । हिमालले भन्यो ‘ सबै नेपाली अनिवार्य आउ । पृथ्‍वीका ईच्छुक प्रकृतिप्रेमी बहादुर नागरिकहरुले मेला भर । मलाई स्पर्श गरेर जाउ । बुठ्, कांटी, लौरो गाडेर जाउ । म झन् चम्किदिन्छु, टल्किदिन्छु । सु-स्वास्थ्य र खुशीको आशिष दिन्छु । पोजेटिभ ईनर्जी भरेर पठाईदिन्छु । 

सेता हिमाल मुनिका हरिया वन जंगल नदी झरनाहरुले उमङ्ग पोखे -‘ जडिबुटीको खानी हुं । वासलिएर त हेर । स्वच्छ सफा शक्तिबर्द्धक पानी अचाएर त हेर, करेण्ट लागे झैं हुन्छ । पिएर हेर नाचौं नाचौं लाग्छ । वन्यजन्तुको तागत हेर, चौंरी याक भेडाहरुको रातो तातो रगत हेर, उम्लिरहेको छ । धपक्क फुलेको लालीगुरांसका बनजंगल पाखा हेर, ईश्‍वरले खुशीमा अबिरमाला गरिदिएको जस्तो छ । कोशीहरुमा हांस, चखेवा, जलकौवाको पौडी हेर्छौ कि, माछाको माला हेर्छौ कि, डल्फिनको डुबुल्की हेर्छौ कि बगरभरि ध्यानमग्‍न गोहीहरुलाई हेर्छौ ? अथवा, कोशीको वारिपारि गड्तिरमा धपक्क फुलिरहेका सिमल, राजवृक्ष, धंगेरी र भिमसेनपाती हेर्छौ । प्रकृतिको यो सुन्दर काखमा योगा युनिभर्सिटी खोल्नु । बिश्‍वभरिका विधार्थीहरुलाई स्वागत गरेर अन्तरध्यानबाट ज्ञानको ज्योती बालिदिनु । बुद्धत्व र सकरात्मक उर्जा भरेर पठाईदिनु । प्रकृतिको पनि रक्षा सम्मान । मानवजातीको पनि रक्षा कल्याण सम्मान । 

चुरेले भन्यो ‘म तराईको शिर, पानी भण्डार, प्राण वायु भण्डार । तब न तराई अन्‍न भण्डार । म महाभारतको जग, सगरमाथाको पुच्छरको खुड्किलो । म बलियो भए महाभारत उभिएला । मेरो रक्षा भए पो सगरमाथा ठडिएला । फेरि फेरि नाप्दा कद नघट्ला ।’ 

तराईले भन्यो ‘अन्‍न भण्डार, सभ्यताको केन्द्र, निकुञ्‍ज आरक्षको माला, हरियो वन नेपालको धन, गैंडाको मुलघर, पाटेबाघको रामराज्य, आँखा गलाउने दाङ्ग  उपत्यका, मन पगाल्ने शुक्लाफाँटा । शान्ति दिने हलखोरिया, पर्सा ठोरी, माडी ।’ 

सुन्दर गैंडा बाघ पंक्षीले भने ‘हामी शान्तिको प्रतीक । प्राकृतिक सम्पन्‍नताको उदाहरण । नेपालका प्रतीक । सहअस्तित्वको नमुना । समृद्धिको मुहान । उज्‍जवल भविष्यको आशाको केन्द्र ।’

घाउ खोज्दा 

प्रकृति कति सुन्दर शान्त बिशाल । अपरम्पार उस्तै । सौन्दर्यताको सपाट बेलिबिस्तार सुनेर हर्षोल्लास भएँ । प्रकृतिलाई सोधें ‘कहां दुख्छ घाउ ?’ प्रकृति चुपचाप रहिन ।

राती सिमसिम वर्षा गराईदिईन् । बिहान सबेरै ५ बजे उठाएर भोजपुरको ट्याम्के डांडाको चुट्टीमा पुर्‍याईदिईन् । माथि हिमालसम्म छ्याङ्ग खुलेको । तल तराईसम्म उघ्रेको मैले प्रकृतिलाई घुमी घुमी हेरें । प्रकृति शालिन चुपचाप रहेपनि मैले प्रकृतिका घाउहरु देखें । ‘वन फंडानी, भिर पहिरो, डढेलो, नदी दोहन, बगर अतिक्रमण, चोरी सिकार, प्रदुषण, फोहोर, बिषादी, हचुवा पुर्बाधार तनाब, बिकास नामको हचुवा र अस्तव्यस्त बिनासकारी समृद्धि।’ म भावुक भएँ । माफ पाउँ भनेर प्रकृतिको स्तुति गरें । पुजा गरें ।

बिशाल प्रकृतिले यी घाउहरुको प्रवाह नगर्न सम्झाईन् । अनि आश्‍वस्त पारिन्- ‘यी घाउहरु अस्थायी हुन्’ । छिटो खाटा बसेर निको हुने छन् । यी भन्दा ठूला घाउ गरिबी, अशिक्षा, रोग-भोक, बेरोजगारका समस्या हुन् । 

ओखती खोजी

मैले धुंईपत्ताल प्रकृतिको घाउको ओखती खोजें । हिउंभित्र खोजे । अनकण्टार भिरभरि खोजें । निसपट्ट जंगलभित्र खोजें । गहिरो कोशीमा डुबुल्की हानेर खोजें । माथि निलो आकाशमा खोजें ।

प्रकृति प्रकट भईन् । मेरो बन्द आँखा खोलिदिईन् । बोधो मगजमा ओखतीको सुत्र भरिदिईन् । ओखती आफैभित्र रहेछ । निःशुल्क प्राप्त रहेछ । ‘प्रकृतिलाई हानी नोक्सानी नगर्ने । संरक्षण गर्न नसके बिगार नगर्ने । सकरात्मक सोच र सुशासनको ढोका खोल्ने । शान्ति सुरक्षा अमनचयन कायम राखिदिने । प्राकृतिक सम्पदाको रक्षा सम्मान र दिगो सदुपयोग गरिदिने । प्रकृतिलाई जस्ताको तस्तै पबित्र र निर्मल राखेर अनन्तकालसम्मका पुस्तौं पुस्तालाई पुग्‍ने बचाउने गरि हस्तान्तरण गर्दै जाने । सकरात्मक मात्र होईन जवाफदेही भएर हामी सबैले यो कर्म धर्म पूरा गर्ने ।’

भविष्यको स्‍वर्ग

प्रकृतिलाई मैले सोधें त्यसपछि के हुन्छ?’ 

प्रकृतिले अत्यन्त आशावादी भएर मलाई आश्‍वस्त पारिन् । ‘त्यसपछि नेपाल स्वर्ग हुने छ । स्विट्जरल्याण्ड कि दिदी। बिश्‍वको अति आकर्षक गन्तव्य । एकपटक वा धेरै पटक पुगिरहनुपर्ने गन्तव्य । त्यही हराईराखूम जस्तो । बिलीन् भईदिउं जस्तो । बिछट्टै राम्रो, हीराको टुक्रा जस्तो, पृथ्वीमा सँधै चम्किरहने स्वर्ग ।’ 

बाघ, भालु, हात्ती, गैंडा, गोही, कस्तुरी,माटो, पानी, अग्‍नी, जंगल, बायु सबैको एकै स्वरमा एउटै माग थियो । ‘प्रकृतिमैत्री राजनीति, शिक्षा, विकास । प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको रक्षा सम्मान । दिगो शान्ति-सुरक्षा । कानूनी राज्य र सुशासन । हरित समृद्धि । सचेत र जबाफदेही नागरिक । ’ 

बिहान सबेरै कोईलीले संगीत भर्‍यो । मेरो निन्द्रा खुल्यो । कोईलीको भाषा डिकोड्   गरें । उ चिच्याई चिच्याई पुकारिहेको थियो ‘नयां वर्षको शुभकामना। मैले झ्याल खोलेर फर्काएं प्रकृतिलाई पनि नयां वर्षको हार्दिक मंगलमय शुभकामना ।’ जुरुक्क उठेर सपनालाई लिपिबद्ध गरें । यो आलेख तयार भयो । अनि आफू पुनः ‘स्वर्गको सेवा पुस्तक बिमोचनको चक्‍करमा लागि परें । मनमनै पुकारें धन्यवाद २०७८ लाई स्वागत प्राकृतिक स्वर्गको सपना बोकेर आएको नयां वर्ष २०७९ लाई

(उहां संरक्षणकर्मी र स्वर्गको सेवा पुस्तकका लेखक हुनुहुन्छ ।)

 


Like it? Share with your friends!