Babukrishna Karki. (बाघ गोठालो)

सम्माननीय प्रधानमन्त्री ज्यू,
अध्यक्ष,
राष्ट्रिय बाघ संरक्षण समिति
नेपाल ।

 

“दिवस आयो । दिवस आयो । बाघ दिवस आयो । खाउंला पिउंला मिठो मसिनो ।”
यो हाम्रा वालक डम्मरुहरुको खुसमाग हो ।

“ दिवस आयो । खुशी आयो । शान्ति पाउंला । सुरक्षा पाउंला । आहार पाउंला । सन्तान बढाउंला । पर्यटक बोलाउंला । फोटो खिचाउंला । सम्बृद्धि ल्याउंला ।” यो हामी बुझ्ने वयस्क बाघहरुको व्यवहारिक अपेक्षा हो ।

यसपालीको बाघ दिवसमा हामी हाम्रा अध्यक्ष महोदयलाई सु–स्वास्थ्य र चिरायुको कामनासहित हार्दिक अभिवादन सन्देश पठाउन चाहान्छौं । साथै, राष्ट्रिय बाघ संरक्षण समितिका सदस्यहरु रक्षा, अर्थ, कानून र वन मन्त्री एवं मुख्य सचिवलाई समेत हार्दिक नमन सहित अभिवादनछ हाम्रो ।

१ सय वर्ष अगाडि हाम्रो संख्या १ लाख भन्दा बढी हुँदा तपाईहरुको धर्ती हराभरा, स्वच्छ, सफा र सुन्दर थियो । हावा र पानीको स्रोत र गुणस्तर उच्चकोटीको र मानवपयोगी थियो । त्यसैले तपाई हाम्रा पुर्खाहरु हट्टकट्ट, ह्रष्टपुष्ट, शक्तिशाली र सुखी खुशी थिए । रामराज्यमा जस्तै ।

अनकण्टार र निसपट्ट हाम्रो ठूलो घर । जताततै सफा पानी । स्वच्छ हावा । सजिलै र पर्याप्त पाइने हाम्रो गुणस्तरीय आहारा । सांच्ची कै रामराज्य । एउटा छेउमा श्रीराम भगवान । बाँकी ठूलो जंगलमा हामी ।

Tiger in Chitwan National Park. Photo by Utshav Thapa, bird and wildlife photographer

यो पनि पढ्नुहोस: बिश्व किर्तिमानको अपूर्व अवसर

१०४ वर्षे राणा शासनमा हाम्रा पुर्खाहरुको बिल्लिबाठ भयो । हजारौको संख्यामा वनशहिद भए पुर्खाहरु । विशाल विशाल सालका रुखहरुमा सेतो कपडाको भित् कसेर बडेमानको हात्तीमाथि सवार राजाहरुले छेकी छेकी मारे हाम्रा पुर्वजहरुलाई ।

ठीक १०९ वर्ष अगाडि सन् १९११ मा बेलायतका सम्राट जर्ज पाँचौले चितवनमा मात्र ३९ बाघ मारे । १८ वर्षपछि १९२९ मा प्रिन्स अफ् वेल्सले १७ बाघ ढाले । ९ वर्षपछि १९३८ मा लिन्लिथोगोले त्यहीं १२० बाघ र २८ चितुवा मारे वन जंगल रगताम्य पारेर ।
बाफ् रे बाफ् ! हाम्रो उसबेलाको संख्या आफै अनुमान लगाउनुहोस् ।

पुर्खा मरे । बाँचेकाले भव्य उत्सव मनाए । किनभने हाम्रो डरलाग्दो जंगलभित्र देश विदेशका राजा महाराजाहरुले पाउकष्ट गरे । कठिन यात्रा र शिविरबास गरे । जोखिम उठाए । बाँच्नेले उहाँहरुलाई झाडीबाट चियाएर देख्न पाए । गति परे । हामीले सुन्दर र बाघको धनी मुलुक नेपाल चिनाउन पायौं ।

राणा हुन् कि शाहवंशीय राजा, अथवा तिनका अतिथि विदेशी रोयल फ्यामिलि, हाम्रो गुनासो छैन । किनभने उनीहरुले हाम्रो माया गरेर संरक्षण खाका कोरिदिए । संरक्षणको बाटो देखाईदिए । तब न हामी आज यो पवित्र भूमिमा छौं । यो पत्र लेख्न पाएका छौं ।

वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । हामीले आकाश झर्ने गरी गर्जेर विजयोत्सव मनायौं । हाम्रो गर्जनसँगै रंगीचंगी मयुरहरु घण्टौं आकाशमा उडेर खुशी मनाए ।

यो पनि पढ्नुहोस: अबैध बन्यजन्तु, तस्करी र व्यापारको नसा चैट्

हेर्दाहेर्दै समयले कोल्टे फेर्यो ।
तपाईहरुको घर घरमा दिपावली सहित खुशी र सुख प्रवेश गर्‍यो । हाम्रो घरमा काल । २००७ देखि २०३० सालसम्म हाम्रो वासस्थानमाथि आक्रमण र लुटपात् शुरु भयो । जसको शक्ति उसको भक्ति, हाम्रो जङ्गल सफाचट् भयो । हाम्रो वंशनाश निश्चित भयो । विज्ञहरुले हाम्रो लोप हुने मितितिथि घोषणा गरिदिए ।

पूर्व राजा महेन्द्रको भोक निन्द्रा हरायो । बेचैनी र छटपटी शुरु भयो । त्यो अप्रिय घोषणाले मुटु छियाछिया पार्‍यो ।
हाम्रो अहोभाग्य ! वंश जोगाउने सोच र संकल्प भयो । छोरा वीरेन्द्रद्वारा पिताको भिजन कार्यान्वयन भयो । भाइ ज्ञानेन्द्रद्वारा तनमन वचनले हाम्रो रक्षा कल्याण सम्मान भयो । हामी बालबाल बांच्यौं । राजाहरुले हाम्रो घर बढाईदिए । हामी पर्सा, बांके, बर्दिया हुँदै शुक्लाफांटासम्म फैलिन र जाग्न पायौं ।

ती राजाहरुको जयजयकार मनायौं ।

समयले डाँडा काट्यो । २०४६ को परिवर्तन आयो । हामीले पहाड हल्लाउने गरेर गर्जेर प्रजातन्त्रलाई स्वागत गर्‍यौं । प्रजातन्त्र आरा खुकुरी बञ्चरो लिएर हाम्रो बास सालका रुख छप्काउन जंगल प्रवेश गर्‍यो । निकुञ्ज प्रशासन घेराउ गर्‍यो । चीफ् वार्डेनलाई ज्यान मार्ने धम्की दियो । हाम्रो डुल्ने घुम्ने बच्चा पाउने लुकाउने हुर्काउने वन सफाया भयो । हाम्रो आहारा सुली चढाईए । झिरमा उनेर सुकुटी बनाईए । हामी घांस खाउं कि ढुंगा खाउ भयौं ।

जनयुद्ध नामको द्वन्द्व सम्झन पनि चाहान्नौं । उत्कर्षताका हाम्रा प्यारा सुरक्षाकर्मीहरुको गार्डपोष्ट बमबारी गरेर उडाइयो र हामीलाई एक्लै पारी गनी गनी मारियो । पर्सामा ४, शुक्लामा ८, बर्दियामा १८ र बांकेमा शून्य संख्यामा झरेपछि हामी पुनः अर्कोपटक लोप हुने विन्दुमा पुग्यौं ।

धन्य, संरक्षणकर्मी र स्थानीय समुदायले काँधमा काँध र हात मिलाएर बालबाल हाम्रो अन्तिम बिउ जोगाईदिए । हामी अनुग्रहित छौं पवित्र भूमि नेपालप्रति ।

बिउ जोगाउने संकल्प छिटो सफल हुंदा मुलुकले लगातार ‘शून्य शिकार वर्ष’ मनाएर विश्वलाई चकित पार्‍यो । हामीले गहभरि हर्षका आँसु पालेर सन्तानवृद्धि गर्दैगयौं ।

२०६७ सालमा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ गठन गर्दा हाम्रो भुंइमा खुट्टा थिएन । त्यसको लगत्तै रुसको पिट्सवर्गमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल स्वयं उपस्थिति भएर ‘१० वर्षभित्र सन् २०२२ मा पाटेबाघ दोब्बर बनाएर देखाउने छौं ’ भनी गरेको संकल्प सुनेर हाम्रो खुशीको सीमा रहेन ।

Tiger in Chitwan National Park. Photo by Utshav Thapa, bird and wildlife photographer

अध्यक्ष महोदय,
राज्यले अन्तर्राष्ट्रिय मञ्चमा गरेको बाचा पूरा गर्न र यो सुन्दर पवित्र भूमिको ईज्जत राख्न हामी मरिमेटेर सन्तान बढाउन लाग्यौं ।
तर बिडम्बना, ‘शून्य शिकार अभियान’ छाडियो । हामी पुनः विषादी, पासो, गोलीको फन्दामा फटाफट पर्न शुरु गर्‍यौं । राजनीतिक नेतृत्वले ‘संरक्षण होइन विकास’ भनेर सस्तो नारा फिंजाईदिएपछि प्रकृति संरक्षणमा ग्रहण लाग्यो । हामी शिकारी र तस्करीको निशानामा पर्‍यौं । शुक्लामा भालेपोथीको अनुपात बिग्रेर १० भाले ६ पोथी भईदियो । चोरी शिकारी पनि बढ्यो । एक भाइ बिरक्तिएर पहाड बंसाई सर्ने भन्दै डढेलधुरा पुग्यो । बाँकेमा ३ भाइ पासोमा परे र २ वटाका छाला बरामद भैसके । पोहोरसाल चितवन सुखीभारमा मारिएको बाघको छाला मकवानपुरमा बरामद भयो । १ भाइलाई पर्सामा गाडीले ठक्कर दिएर ठहरै पार्‍यो । अर्को भाइलाई बर्दिया राजमार्गमा गाडीले ठक्कर दिंदा उ प्रजनन क्षमता गुमाउने गरी मरणासन्न घाईते भयो । बर्दियामा अर्को बाघ मारेर गोठमा गाडेको भेटियो । हामी धेरै दिनसम्म डाको छाडेर रोयौं । हाम्रो आंसु सकियो । चितवनमा ६ दर्जनभन्दा धेरै गैंडा मरे गत २ वर्षमा । गैंडा गणना पोहोर र अहिले लगातार २ वर्ष रद्द भयो । गोही र माछा जालमा परेर भुसुक्कै मरे । हाम्रो आहारा घट्यो । हामीले गुहार गुहार पुकार्‍यौं ।

अध्यक्ष महोदय,
बीचमा कति स्वदेशी विदेशी अतिथि आए हेरे फोटो खिचे र खुशीले उत्सव मनाए ।
हामी हाम्रा प्यारा अध्यक्षलाई ‘अतिथि देवो भवः’ गर्न व्यग्र प्रतिक्षारत थियौं ।

दर्शन पाउनु र दिनु अनि बाघ आशिष दिनु हाम्रो उद्देश्य ।

मन उमङ्ग र चङ्गा गर्नु, विश्राम ध्यान र स्वास्थ्यलाभ गरेर पुनरताजगी भई काममा फर्किनु तपाईको पवित्र उद्देश्य ।

स्वागत गर्नु, राम्रो संरक्षण काम देखाउनु र स्यावासी पाउनु स्थानीय जनताको उद्देश्य ।

पसिना, त्याग र तपस्या देखाउनु, हौसला र मनोबल बढाउनु संरक्षणकर्मीको उद्देश्य ।

स्वच्छ हावाले फोक्सो सफा गरिदिनु, शान्ति दिनु, आँखा आत्मा पवित्र गरिदिनु हाम्रो जङ्गल र स्वच्छ हावाको उद्देश्य ।
तपाईको सक्रियता र प्राथमिकता देखेर दातृ निकाय, विश्व संरक्षण समुदाय, प्रकृति र संरक्षणविद् सबै उत्साहित हुनु, गर्व गर्नु र जयजयकार गर्नु उहाँहरुको उद्देश्य ।

आहा ! सबैलाई विन विनको सुन्दर अवस्था !

अध्यक्ष महोदयको कार्यव्यस्तता सर्वथा स्वभाविक र जायज थियो । तर नेपालमा अध्यक्षको प्राथमिकता, ध्यान र नजर नपर्नासाथ अरुले फुटेको आँखाले नहेर्ने कामठग् र कामचोर प्रवृत्ति अविलम्ब सच्चिन जरुरी छ । राजनैतिक नेतृत्वको उपेक्षा, उदासिनता र उल्टो विकासे नाराले हाम्रो सत्यनाश भयो ।

आहा ! २ तिहाईको स्थायी सरकार पाउँदा हामी हर्षित भै सामूहिक बाघआशिष दियौं । त्यसकै परिणाम हो– तपाईको शीघ्र स्वास्थ्यलाभ, स्वास्थ्यवर्धकता, दिर्घायु र स्थायित्व ।

हाम्रो आशिष हो उपेक्षाको बाबजुद वन मन्त्रीले ३ वर्षको ३/३ वटा बजेट वन तर्जुमा र खर्च गर्न पाएको दुर्लभ अवसर ।
तपाईको बहालीपछि तल्लो घर भारतमा ज्यादै व्यस्त तपाईका समकक्षी प्रधानमन्त्री मोदीले स्वयं उपस्थित भएर एक भव्य समारोहमा बाघको परिणाम सगर्व घोषणा गर्नुभयो । २२२६ बाघलाई ४ वर्षमा बढाएर २९६७ बनाएकोमा उहाँले संरक्षणकर्मी र सारा भारतीय जनतालाई बधाई र स्याबासी दिदै गौरव गर्न सादर प्रेरित गर्नुभयो ।

हाम्रो बासस्थान छेउ अर्को बाघबास वाल्मिकी टाईगर रिजर्भमा हाम्रा माईती मावली बाघहरुले दिपावली सहित धुमधाम उत्सव मनाए र मोदीलाई मुरिमुरि बाघआशिष दिए ।

हामीलाई हाम्रा पनि दिन आए भनेर गहिरो आशा पलायो ।

तर, बिडम्बना, गएसाल हाम्रो गणनाको परिणाम निर्धारित समयमा नगरेर आलेटाले रफ्फु भर्ने जालझेल गरियो । मूलघर चितवनमा १२० बाट घटेर ९३ मा झरेपछि २७ वटा बाघको कमीले हामीसँगै बाघप्रेमी, बाघविज्ञ र संरक्षणप्रेमीहरुको रुवाबासी भयो । ढिलो गरेर सार्वजनिक गरिएको चितवन ९३, पर्सा १८, बाँके २१, बर्दिया ८७ र शुक्ला १६ जम्मा २३५ बाघ संख्या कति ठीक हो हामीलाई शंका छ । निकुञ्ज अतिक्रमण, चोरी शिकारी र अवैध हाम्रो अंग व्यापारले कसरी २ वर्ष पछि हामीले २५० संख्या पुर्‍याएर देखाउनु ? ज्यादै कठिन तर सम्भव छ ।

अध्यक्ष महोदय,
व्यापक पीडा र दर्दलाई दबाएर थोरै माग राख्ने अनुमति माग्दछौं । गर्जेर होइन, विनम्रसाथ ।

पहिलो, ५ वर्षदेखि भुलेको ‘बाघ दिवस ’ यस पटक मनाउन तपाईको पहलता रहोस् । बाघ संरक्षण समितिको बैठक बोलाएर बाघको जानकारी लिने र बाघ दोब्बर गर्ने निर्देशन दिनुभयो भने बाघ सांढे दोब्बर गर्ने र मुलुकलाई सम्वृद्धि दिने काम हाम्रो जिम्मा । यो मुलुकमा दृढ ईच्छाशक्ती र संकल्प भए ७ सय नत्र ५ सय बाघ हाँसी हाँसी अटाउने छौं । अनि लोप हुनु अगाडिको अन्तिम सास यही सुन्दर धार्मिक पूण्य र पवित्र भूमिमा त्याग गर्न पाउँ । बाघ दोब्बर बनाउने भव्य विश्व समारोह सगौरव हाम्रो घर नेपालमा आयोजना होस् ।

दोस्रो, गत गणनामा बाघ बढाउने बर्दिया बाँकेलाई पुरस्कार र घटाउने चितवनलाई दण्ड दिईयोस् र भविष्यमा जवाफदेहिता डिग्री सत् प्रतिशत माग्दै दण्ड–पुरस्कार नीति कडाईकासाथ लागू गरियोस् ।

तेस्रो, २ वर्षदेखि निर्माण सम्पन्न भई ईगो र उपेक्षाले अपरेशनमा नआएको सौराहाको ‘एनिमल अस्पताल’ अविलम्ब सञ्चालनमा आवस र त्यहाँ हाम्रा घाईते बिरामी सन्तानले उपचार पाउन् ।

चौथो, हाम्रो पाठशाला, अनुगमन र अनुसन्धानकेन्द्र, गणना केन्द्र, उपचारकेन्द्र, दातृसंस्था जे भने पनि ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ सँग हाम्रो नङ्ग मासु र रगतको सम्बन्ध छ । त्यो संस्था नभएको भए हामी उहिले निस्प्राण भईसक्ने थियौं । अहिले त्यो संस्थालाई घर न घाटको निस्प्राण राजनीतिक भर्ति केन्द्र बनाएर लथालिङ्ग पारिएको छ । वर्षौ देखि नेतृत्वबिहिन त्यो धर्मशालालाई प्राण भरेर पुनः सक्रिय बनाईदिन विनम्र अनुरोध गर्दछौं ।

पांचौ, हाम्रा कार्यकारी निकुञ्ज विभाग २ महिनादेखि नेतृत्वबिहिन हुंदा अन्तर्राष्ट्रिय सम्पर्क, फिल्ड अनुगमन र निर्देशन, सबै संरक्षण स्टेकहोल्डरहरुसँग समन्वय र सहकार्य, विभाग सञ्चालन जस्ता आधारभूत र अपरिहार्य काम धरापमा पर्दा हाम्रा मुटुमा पीडाको तिर प्रहार भएकोछ ।

छैटौं, शून्य शिकार अभियानलाई तराईबाट पहाड र हिमालसम्म पुर्‍याएर हाम्रा वंशजका हाँगा चितुवा र हिम चितुवा तथा तिनका आहारा प्रजातिको विशेष एवं सन्तुलित संरक्षण योजना अघि सार्नु मुलुकको सौन्दर्यता एवं सम्वृद्धि विकासको जग हुने छ । साथै, भ्रष्टाचार शीघ्र निर्मुल होस् । गरिबी हाम्रो दुश्मन हो ।

सातौं, वैज्ञानिक वन व्यवस्थापनको नाममा सयौं वर्ष पुरानो हाम्रो सालको वन सफाया गरेपछि हामीले प्रजननः बच्चा लुकाउने हुर्काउने काम कहाँ र कसरी गर्नु । वनको त्यो दुरुपयोग र निजगढ विमानस्थलको बहानामा हाम्रो बासस्थान ध्वस्त पार्ने षड्यन्त्र बन्द गरेर हामीलाई सास र राहत दिईयोस् ।

अन्त्यमा, अध्यक्ष महोदयलार्ई बाघ पर्यटन, प्रकृति पर्यटन, ग्रीन पर्यटन, चितुवा र हिमचितुवा पर्यटन,कृषि पर्यटन लगायतका पर्यटन फलाएर फुलाएर  यो मुलुकलाई सुन्दर शान्त सम्वृद्धिमय मुलुक बनाउने जिम्मेवारी पूरा गर्न हामी तनमन र वचनले संकल्पकृत छौं । विश्व बाघ संरक्षण दिवसको पावन उपलक्ष्यमा हाम्रा सच्चा मालिक नेपाली जनताहरु प्रति सादर शुभकामना चढाउदछौं ।

जय प्रकृति !
जय पूण्य र पवित्र भूमि नेपाल !!
आज्ञाकारी
सम्पूर्ण बाघहरु,
नेपाल
(यो लेख बाघहरुको सुस्केरा, भाषा, लय र गर्जन सुनेर त्यसलाई डिकोड गरी तयार पारिएको हो ।)

 

 

 

 

 

 

 

 

 

–बाबुकृष्ण कार्की
बाघ गोठालो


Like it? Share with your friends!

Nepalisite

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format