प्रधानमन्त्रीसँग पहिलो पटक साक्षात्कार वार्तालाप गर्न पाए चिडियाखानाका जीवजन्तुले । पवनकली हात्तीले विशेष श्रृङ्गारका साथ आफ्ना संरक्षक प्रधानमन्त्रीलाई स्वागत गरेपछि कार्यक्रम शुभारम्भ भएको थियो । बाँकी जीवजन्तु कोहि संगित भरिरहेका थिए । पंक्षीहरु चिरबिर चिरबिर धुन दिईरहेका थिए । अजङ्ग पाटेबाघले नजिकै आएर कर्तल ध्वनीका साथ अंकमाल गरौला जस्तो गर्‍यो । सफा र सुन्दर चिडियाखानामा जीवजन्तुहरु हर्सोल्लासका साथ ‘विश्व वन्यजन्तु दिवस’ मनाइरहेका देखिन्थे । यो वर्षको दिवस देखेर जीवजन्तु जस्तै पंक्तिकारका पनि भुंईमा खुट्टा थिएनन् । आफ्नो प्यारो चिडियाखानाले मनाएको दिवस र सन्देश समेटेर यो आलेख तयार पारेको छु ।

PM KP Oli visits Central Zoo on World Wildlife Day.

अभिभाकत्व पाउदाको खुशी

पंक्तिकारले जीवजन्तुको मनोविज्ञान अध्ययन अनुसन्धान गर्ने कोशिस गरें । खुसी मापन गर्न कठिन थियो । तर, जीवजन्तु हर्षित रहेको कुरा छर्लङ्ग देख्न सकिन्थ्यो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षकमा प्रधानमन्त्री रहने राम्रो प्रावधान छ । जीवजन्तुले मार्च ३ मा आफ्ना संरक्षकसँग साक्षात्कार हुने मौका पाए । वास्तवमा अवोध जीवजन्तुको हक हो संरक्षकको दर्शन पाउनु । संरक्षकको पनि हक हो आफ्ना अवोध वन्यजन्तुहरुको स्थलगत निरीक्षण भ्रमण गरेर दु:ख–सुख, गुनासो बुझ्नु र पिरमर्का फुकाईदिनु । त्यसैले संरक्षकलाई पनि जीवजन्तुहरुले प्रफुल्ल र खुशी मुद्रामा देख्न पाए ।

PM KP Oli visits Central Zoo on World Wildlife Day.

समारोहको उच्च गरिमा

चिडियाखानले यो वर्ष २५ वर्ष पुगेको रजत जयन्ती मनाईरहेको थियो । जीवजन्तुहरु रजत जयन्ती उत्सवका सो– पिस थिए । आ–आफ्नो खोरमा अनुशासन र पशुधर्म पालना गरेर उनीहरु सालिनताका साथ भि.भि.आई.पि.को प्रतीक्षामा थिए । वर्ष दिनमा १ पटक आउने यो दिवस विश्वभरि भव्यताका साथ मनाईन्छ । नेपालमा यो वर्ष दिवसको गरिमा प्रधानमन्त्रीले बढाईदिनुभयो । संरक्षक, मन्त्री, सचिव, सदस्य सचिव सबैको दमदार भाषण श्रवण गर्न पाए जीवजन्तुहरुले । संरक्षणलाई महत्व र प्राथमिकता दिने सबैको संकल्प सुनेर जीवजन्तु खुशी हुने नै भए । उपस्थित प्रकृति तथा वातावरणप्रेमी संरक्षणविदहरुले त्यहा व्यक्त गरिएका संकल्पहरुको सफल कार्यान्वयनका लागि प्रार्थना गरिरहेको मनोविज्ञान देखिन्थ्यो ।

‘एडप्ट एन् एनिमल’ कार्यक्रम आफैमा नौलो र रोचक थियो । एडप्ट गर्ने संरक्षणप्रेमीहरुको हानाथाप देखिन्थ्यो । प्रधानमन्त्री स्वयंले धर्मपत्नीको पेन्सनबाट एउटा गैंडा पाल्ने शुभारम्भ गरेर समारोहको गरिमा बढाईदिनुभयो । अबदेखि संरक्षणप्रेमी जो कोहि ईच्छुकहरुले सदर चिडियाखानाको जनावरलाई पाल्न पाउने बाटो खुल्यो । कोभिड महामारीको बिपद् र तनाब झेलेको चिडियाखानामा अब जीवजन्तु भोकभोकै बस्न नपर्ने भयो ।
उहि संरक्षक प्रधानमन्त्रीले आफैं उद्घाटन गर्नुभएको राष्ट्रिय प्राणी उद्यान सूर्यविनायकमा छिटो जान पाउने प्रतिबद्धता सुनेर जीवजन्तुहरु दङ्ग थिए । उनीहरुले धेरै फराकिलो प्राकृतिक बासस्थानको अनुभूत गरेर जिउन पाउने आशा अपेक्षा पालेको १ दशक हुन लाग्यो । राष्ट्रिय प्राणी उद्यान स्थापनाको कामलाई प्राथमिकता दिएर छिटो सम्पन्न गर्ने सरकारको संकल्प दिवस साकार पार्ने महत्वपूर्ण चावी थियो । आशा गरौं–बिना बिलम्ब नयाँ प्राणी उद्यानमा उनीहरु सर्न पाउने छन् र पशुआशिष पाएर मुलुकको सम्वृद्धिमा सुनको ईंटा थपिने छ । यो प्राणी उद्यान स्थापना र संचालनको काम गर्न प्राविधिक दक्षता, अनुभव, समर्पण र त्यागको क्षमता राष्ट्रिय प्रकृति संरक्षण कोषसँग भएकोले कोषलाई यसको जिम्मेवारी सुम्पिनु बान्छनीय हुने छ । सुरक्षा जिम्मेवारी ज्यादै सम्वेदनशील विषय भएकोले संरक्षणको जिम्मेवारी ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनालाई दिनु मितव्ययी, बुद्धिमानी र प्रभावकारी हुने छ । उद्यान स्थापना, सेक्सन निर्माण, पेरिमिटर निर्माणको काम अथवा ‘सुपरभिजन रोल’ नेपाली सेनालाई दिएमा उद्यान छिटो तयारी हुने छ ।

PM KP Oli visits Central Zoo on World Wildlife Day.

संरक्षणक्षेत्रहरुको उज्वल भविष्य

अन्नपूर्ण संरक्षण क्षेत्रको सबैबाट स्मरण र सम्मान भयो । विश्व कै उत्कृष्ट र रमणीय यो प्राकृतिक पार्कको व्यवस्थापन र संरक्षणको काम कोषले गर्दै आएको थियो । माघ ५ गतेबाट करार म्याद समाप्त भएपछि उक्त संरक्षण क्षेत्र भविष्य निर्धारणको निर्णयको प्रतीक्षामा छ । स्थानीय समुदाय र प्रदेशलाई एउटै डुङ्गामा राखेर सबैलाई जितै जित् हुने गरी नमूना व्यवस्थापन र संरक्षण गर्ने कोषको नयाँ प्रश्ताव मननीय र गर्वयोग्य छ । अन्नपूर्ण क्षेत्र अझ टल्किन र चम्किन पावस ।

कोषले व्यवस्थापन गर्दै आएका मनास्लु र कंचनजंघा संरक्षण क्षेत्रको पनि मान सम्मान गरियो । व्यवस्थापन र संरक्षणलाई अझ उत्कृष्ट र उदाहरणीय बनाउने प्रतिबद्धता आयो । भाषण सुनेर ती संरक्षण क्षेत्रहरुकले कति खुशियाली मनाए होलान् कल्पना बाहिरको कुरा । अझ संरक्षण क्षेत्रलाई बढाएर ३० प्रतिशत पुर्‍याउने प्रधानमन्त्रीको पुरानो संकल्पलाई उक्त दिवसको अवसरमा जोडदारसँग उठाईयो । हरित नेपालको सम्वृद्धिको जग भनेर पंक्तिकारको मन प्रफुल्ल भयो । उपस्थित सम्पूर्ण प्रकृति र संरक्षणप्रेमीहरु खुशीले गद्गद् देखिन्थे ।

वैज्ञानिक वन व्यवस्थापनको नााममा भएको दुरुपयोग नयाँ नेतृत्वले बन्द गरेर तारिफयोग्य काम गरेको पुन: स्मरण गरियो । अब हचुवामा अन्धाधुन्ध सालका हरिया रुख नकाटिने भए । जैविक मार्गहरु बढ्ने र सुरक्षित रहने भए । वन्यजन्तुहरुले संरक्षणको प्रत्याभूति पाउने सुनिश्चित भयो ।
संरक्षण क्षेत्र बढनुभनेको प्राकृतिक प्रकोप र बिपद् न्यूनीकरण हुनु हो । जल, जमिन, जंगल बढेर जनस्वास्थ्यमा सकरात्मक प्रभाव पर्नु हो । नेपालको प्रकृति संरक्षणको अन्तर्राष्ट्रिय छवि रक्षा भएर समग्रमा सम्वृद्धिको ढोका खुल्नु हो ।

PM KP Oli visits Central Zoo on World Wildlife Day.

संरक्षकको अभिभाकत्व

चिडियाखानाका १०८ प्रकारका ११ सय ६१ जीवजन्तुको तालुमा आलु फल्ने भयो । उनीहरुले संरक्षकको सद्भाव, शुभेच्छा र शुभकामना त पाए नै, अब छिटै खुल्ला प्राकृतिक बासस्थानमा जान पाउने भए । वृद्ध–वृद्धा, गर्भवती महिला, अशक्तहरुले विद्युतीय बग्गीमा बसेर चिडियाखाना अवलोकन गर्न पाउने भए । उक्त अवसरमा चिडियाखानाले सरकारबाट ४ वटा त्यस्ता बग्गी प्राप्त गरेको छ ।

एक सिङ्गे गैंडालाई रैथाने र नेपालको प्रतीक भनेर संरक्षकले एडप्ट गरिदिएपछि गैंडाको महत्व बढेको छ । अब प्रधानमन्त्रीको गैंडा सँगसँगै नेपालका सबै गैंडाको भाग्य खुल्ने छ । गैंडा गणना हुने छ । गैंडा बासस्थान, स्वास्थ्य र सुरक्षाका समस्याहरु पत्तो लाग्ने छन् र व्यापक सुधारका काम शुरु हुनेछन् ।

कोषका संरक्षकले यो वर्षको वन्यजन्तु दिवसलाई सार्थक बनाएर पशुआशिष प्राप्त गर्नुभएको छ । आशा गरौं पशु आशिषले मुलुकमा दिगो शान्ति र सम्वृद्धि प्राप्त हुने छ ।

Adopt an Animal Program.

नयाँ नेतृत्वको नविन सोच

पहिला प्रधानमन्त्रीहरुको भ्रमण किन भएन ? परामर्स, समन्वय, सहकार्य किन हुन सकेन ? टीमबिल्डिङ्ग र टीमवर्क किन भएन, प्रधानमन्त्रीलाई फुर्सद किन भएन ? प्रकृतिप्रेम र संरक्षणभावको भोक किन जगाईएन ? जुद्ध सम्शेर देखेको बुढा रुखहरु, प्राचिन पोखरी, ऐतिहासिक सम्पदा र वन्यजन्तुका नयाँ पिंढीले पहिलोपटक प्रधानमन्त्री देख्न पाए । वास्तवमा यो ऐतिहासिक समारोह थियो ।

वन तथा वातावरण मन्त्रालयले हाल नयाँ नेतृत्व पाएको छ । कोषले पनि लामो समयपछि नयाँ नेतृत्व पाएको छ । नयाँ नेतृत्वहरुमा राम्रो काम गरौं, प्रकृतिको सेवा भरुम्, वन्यजन्तुहरुलाई गुन लगाउ भन्ने असल भावना र असीम उर्जा देखिन्छ । ‘एडप्ट एन एनिमल’ को स्मार्ट भिजनले यो दिवसलाई सार्थक बनाएको छ । गैंडापनि खुशी संरक्षक प्रधानमन्त्री पनि खुशी । नेतृत्व हुनु र नहुनुमा आकाश पात्तालको फरक हुन्छ । यो दिवसको आयोजना गरेर कोषले आफ्नो गहिरो प्रकृति संरक्षण सेवाभाव प्रकट गरेको छ । जीवजन्तुलाई न्याय दिएको छ । अनन्तकालसम्म वन्यजन्तु सेवामा समर्पित रहिरहने उत्कट अभिलाषा प्रकट गरेको छ ।

संरक्षकले आफ्नो धर्म ठीक ठाँउमा ठीक समयमा निर्वाह गर्नुभएको छ । राष्ट्र प्रमुख र सरकार प्रमुखले वन्यजन्तु र समग्र प्रकृतिको अभिभाकत्व एवं संरक्षकत्व जिम्मेवारी स्वविवेक र स्वनिर्णयमा स्वस्फूर्त लिइदिनुपर्दछ । निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रको नियमित भ्रमण गरी वस्तुस्थिति र समस्याको जानकारी लिएर समाधान र निकासको पहल गरिदिनुपर्दछ । उच्च जोखिम उठाएर जीउ ज्यानको बाजी लगाई अहोरात्र खट्टिने फिल्ड फ्रण्टलाइन स्टाफहरुको हौसला र मनोबल बढाईदिनुपर्दछ । कहिले काहिं आमोद–प्रमोद, ध्यान, विश्राम गर्ने थलोको रुपमा समेत भि.भि.आई.पि.हरुले निकुञ्ज–आरक्ष, संरक्षण क्षेत्रहरुको प्रयोग गरिदिनुपर्दछ ।

तर विगतमा किन यसो हुन सकेन त्यसबाट पाठ सिक्नुपर्दछ । संरक्षकले बाघ दिवसमा दिएको भावपूर्ण सन्देशलाई वन मन्त्रालयले अक्षरश शिरोपर गरेर संरक्षणलाई प्राथमिकता र तिव्रता दिनुपर्ने थियो । यु.एन जैविक विविधता सम्मेलनमा प्रधानमन्त्रीले दिएको सारगर्भित र संरक्षण क्षेत्र ३० प्रतिशत पुर्‍याउने गर्विलो संकल्प साकार पार्ने आधार र गृहकार्य तयारी भएर सार्वजनिक भईसक्नुपर्ने थियो । आशा गरौं अब भविष्यमा यस्तो ‘पंक्षी कराईरहने पिना सुकिरहने’ निर्लज्ज अवस्था आउने छैन । आफ्ना संरक्षक र प्रधानमन्त्रीलाई संरक्षण भोक जगाएर आकर्षण गर्ने काम कोष र सम्बन्धित मन्त्रालयको हो । संरक्षक नै प्रकृतिप्रेमी भएन भने मुलुकमा लक्षिण र सह भित्रिने ढोका बन्द भईरहन्छ । सम्वृद्धि टाढा टाढा भागिरहन्छ ।

प्रकृति र संरक्षणप्रेमी प्रधानमन्त्रीको भिजन र निर्देशन तदारुकताका साथ कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित सबै निकायहरुको हो । गएको ३ वर्ष निर्देशन कार्यान्वयन होइन सिन्को नभांच्ने र संरक्षकलाई असफल अथवा बदनाम गराउनेतर्फ चेन अफ् कमाण्ड कम्मर कसेर लागेको दूर्भाग्य देखिन्थ्यो । जुन संधैको लागि पूर्णबिराम लागोस् ।

PM KP Oli visits Central Zoo on World Wildlife Day.

नेपाली सेनाको संरक्षण संकल्प

नयाँ नेतृत्व नयाँ भिजनले संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनालाई समेत तताएको छ । यो दिवसको पूर्व सन्ध्यामा नेपाली सेनाले जंगी अड्डामा सबै स्टेकहोल्डरहरुलाई आमन्त्रण गरेर ‘प्रकृति संरक्षण गोष्ठी’ सम्पन्न गर्‍यो । त्यो नितान्त टीमबिल्डिङ्ग र टीमवर्कको पहल र प्रयास थियो । छाता संगठनलाई जगाउने र तताउने काम नेपाली सेनाले बराबरी गरिरहनुपर्दछ ।

महामारीसँगै चुलिएको संरक्षण चुनौती सामना गर्न नेपाली सेनाले व्यापकरुमा अपरेशन ‘खोजतलास र रिकोभरी’ संचालन गरेको छ । यो अपरेशनले भारि मात्रामा चोरी शिकारी, तस्कर, बन्दुक र पासोहरु फेला परेका छन् । वन्यजन्तुहरुलाई ठूलो सुरक्षा राहत मिलेको छ । संयोगले नेपाली सेनाले पनि नयाँ प्रतिबद्ध निर्देशक खटाएको छ । यो सबै संरक्षणलाई उच्च प्राथमिकता दिएको सकरात्मक सन्देश हो ।

सि.आई.बि.को सक्रियता

ओभररस्ट्रेचिङ्ग र श्रोत–साधन अभावको बाबजुद सि.आई.बि.ले अवैध वन्यजन्तु व्यापार र तस्करी नियन्त्रणको लागि पुर्‍याएको योगदान उल्लेखनीय छ । सि.आई.बि.को यो गहिरो समर्पण र त्यागको लागि यु.एन.ईन्भाईरोमेण्ट प्रोग्रामले यो वर्ष अन्तर्राष्ट्रिय पुरस्कारले सम्मान गरेको छ । सि.आई.बि.ले राष्ट्रिय ईज्जत र छवि माथि उठाएको छ । यो सम्पूर्ण संरक्षण टीम र संरक्षणप्रेमी जनताका लागि गौरवको विषय हो । यसले फ्रण्टलाईन स्टाफ र सुरक्षाकर्मीहरुको हौसला बढाएको छ ।

कोर एरियामा नेपाली सेनाको सक्रियता र कोर एरिया बाहिर सि.आई.बि.लगायत अन्य सुरक्षा निकायहरु एवं संरक्षण साझेदार संघ संस्थाहरुको समन्वीकृत सहकार्यले संरक्षमा कायापलट हुने छ । सबै टीमलाई संयोजन र समन्वय गर्ने प्रमुख भूमिका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको हो । कोषको आयोजनामा चिडियाखानाको प्राङ्गणमा जम्मा भएको संरक्षण टीमको प्रतिबद्धता र संकल्प हेर्दा लाग्दथ्यो– नेपालमा ‘प्रकृति संरक्षण’ को भविष्य उज्वल छ ।

प्रधानमन्त्रीसँग साक्षात्कार हुन पाउने भाग्यशाली जीवजन्तुहरुको आँखा भरि हर्षका आंसुले बोलिरहेका थिए–

“संरक्षकलाई बराबर देख्न पाईराखूम । संरक्षकको दर्शनले हाम्रो सुस्वास्थ्य र आयु बढ्ने छ । हामी छिटो प्राकृतिक वासस्थान सूर्य बिनायकमा स्थानान्तरण हुन पाउं । प्राणी उद्यान बिस्तार भएर नगरकोट फुलचोकी, लेले, दक्षिणकाली, हात्तीवन चन्द्रागिरि नागार्जुनसम्म फैलियोस् । हामी सम्वृद्धिको नोट छापिदिने छौं । बाघ दोब्बर होस् । गैंडा गणना शीघ्र होस् । गैंडाको बासस्थान सुधार होस् । ३० प्रतिशत संरक्षण क्षेत्रको मनोकामना र संकल्प छिटो पूरा होस् ।

प्रकृति संरक्षणमा राजनीतिक छाया र ग्रहण नपरोस् । यो विशुद्ध अराजनीतिक धार्मिक र पवित्र थलोको रुपमा संरक्षित होस् । कोष महान र त्यागी विज्ञहरुको कर्मथलो होस् ।

हरित नेपालको शुद्ध र शक्तिबर्धक पानी र हावाको सुवासले सारा प्राणीहरुमा सकरात्मक सोच, शान्ति, सुस्वास्थ्य र विशेषायु फैलावस् । सम्वृद्धिको सपना छिटो साकार होस ।”

अन्त्यमा,– प्रधानमन्त्रीले भन्नुभएझैं वनस्पतिले दिने शक्तिबर्धक अक्सिजनले हाम्रो फोक्सो मजबुत होस् । त्यसले मुटु शक्तिशाली बनावस् । र, मुटुले स्वस्थ रक्तसंचार मार्फत हाम्रो मश्तिष्कलाई तिष्ण, दृढ र चुस्त बनाउदै हामी सबैलाई प्रकृति संरक्षणप्रति दत्तचित्त साथ लाग्न प्रेरणा दियोस् ।

नेपालको प्रतीक गैंडा एडप्ट गर्ने संरक्षणप्रेमी संरक्षक प्रधानमन्त्रीलाई ससम्मान सलाम ।

चिडियाखानाको एनिमल एडपप्ट गर्ने सबैभन्दा सानो उमेरको प्रकृतिप्रेमी विवन कोहिनुर सिंह बस्न्यात–१२ लगायत बाँकी टीमलाई पनि सलाम ।

12 years Vivan Kohinoor Singh Basnyat receiving the Certificate by PM for adopting the animal.

जय विश्व वन्यजन्तु दिवस ।
जय जय प्रकृति संरक्षण ।
(लेखक संरक्षणबिद् र सकरात्मक सोच समूहका अभियन्ता हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

यो हेर्नु भयो?

बर्दिया बाघले आक्रमण गर्नुभन्दा केहि मिनेट अगाडी को भिडियो | Bardiya Tiger Attack


Like it? Share with your friends!