नयाँ वर्ष २०७८ तथा वन्यजन्तु सप्ताह २०७८ को पूर्व सन्ध्यामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकृतिप्रेमी तथा संरक्षणप्रेमी समुदायलाई खुसीको खबर प्राप्त भएको छ । ६४५ गैँडा व्यापक क्षतिको बाबजुद बढेर ७५२ पुगेको सरकारी आँकडा सार्वजनिक भएको छ । आफ्नो सुन्दर मुलुकको प्रतीक मुटुभन्दा प्यारो एकसिङ्गे गैँडाको बढोत्तरीले सबैभन्दा धेरै आम नेपाली जनतालाई खुसी तुल्याएको पङ्क्तिकारको अनुमान छ । यही खुसीको सेरोफेरोमा रहेर गैँडा संरक्षणको विगत, वर्तमान र भविष्यको समीक्षा गर्न यो आलेख तयार पारेको छु ।

आभार प्रकट

सर्वप्रथम यो वर्ष बिना बहाना, बिना रोकटोक गैँडा गणनाको काम निर्धारित समयमा सम्पन्न गरेर बिना विलम्ब दुधको दुध पानीको पानी दुरुस्त नतिजा प्रारम्भ गर्ने गराउने नेपाल सरकार, वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागप्रति आभार व्यक्त गर्न चाहन्छु । वन र कार्यकारी विभागको नेतृत्व साँच्चिकै प्रशंसाका पात्र हुनुहुन्छ । दोस्रो आभार यो महत्वपूर्ण संवेदनशील र जोखिमपूर्ण कार्य फत्ते गर्ने स्थानीय निकुञ्ज प्रशासन, नेपाली सेना र संरक्षण साझेदार संघसंस्थाका फिल्ड फ्रन्टलाइन स्टाफहरूप्रति व्यक्त गर्न चाहन्छु । स्थानीय संरक्षणप्रेमी समुदाय र संचारकर्मीहरू आभार र प्रशंसाका पात्र हुनुहुन्छ । कठिन र जोखिमपूर्ण संरक्षण होस् वा गणनाको काम त्यसको श्रेय सबै भागिदारहरूलाई दिन चाहन्छु ।

न कोरोना कहरको बहाना, न त डढेलो र घातक प्रदूषणको, न ध्रुवे हात्तीको, न हिंश्रक बाघको । निर्धारित समयमा यो शुभ कार्य समापन भएर हामीमाझ सुखद् समाचार आएको छ । तसर्थ प्रत्यक्ष अप्रत्यक्ष यो पवित्र कार्यमा संलग्न सबैलाई सलाम छ ।

Rhino count down in Bardiya National Park.

श्रद्धाञ्जली र शुभकामना

हामीले हर दिन रात टाढा बसेर प्रार्थना गर्दागर्दै पनि यो गणनामा अप्रिय घटना हुन पुगे । चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एउटा टिम पूरै घाइते हुन पुग्यो र एक होनहार युवा प्राविधिकलाई बचाउन हम्मेहम्मे पर्‍यो । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना गणनामा सहभागी माहुते सहयोगी युवाको ज्यान गयो । ती होनहार युवाको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दछु ।

यसपटकको गणनामा वन्यजन्तुहरूको तनाव बढेको प्रमाण थिए यी दुई अप्रिय घटनाहरू । बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई अनुमोदन गरे यी दुखद् घटनाले । र, व्यवस्थापन पक्षलाई चुनौती आइलाग्यो कि प्राचीन गैँडा गणना मोडलमा पुनरावलोकन र सुधारको आवश्यकता छ । चुस्त (स्मार्ट) र दुरुस्त (एक्युरेट) शान्त र सुरक्षित, आधुनिक र व्यावहारिक गणना प्रविधिको पहिचान र लागु गर्न यो गणनाले व्यवस्थापक र प्राविधिकहरूको आँखा कान खोलिदिएको छ ।

वनदेवी रिसाएर घटना घट्यो भन्ने छुट अब कसरी पाउने ? कुनै पनि वन्यजन्तुको गणनामा कोही कसैको ज्यान नजाने सुनिश्चितताका लागि हामीले एक सेकेन्ड विलम्ब गर्नु हुँदैन । यी दुखद् घटनाले सुखद् समाचारमाथि ग्रहण लगाइदिए । अर्को गणनामा यस्ता घटना हुन नदिन पर्याप्त गृहकार्य, राम्रो तालिम, खतराको पूर्वज्ञान र उच्च सावधानी एवं सतर्कता अपनाउन जरुरी पर्‍यो ।

यो पनि पढ्नुहोस:गैँडा गणना : नम्बर होइन, वासस्थान सुधार आजको आवश्यकता

बाघ वृद्धिको शुभ सङ्केत

यो बाघ गणना थिएन । तर अघिल्लो गणनामा २३५ पाटे बाघ गणना गरिसकेको संरक्षणप्रेमी मुलुकका लागि बाघ वृद्धिको आशाको दियो जाग्यो । गैँडासँगै बाघको सङ्ख्या पनि बढेको हुनुपर्दछ । सन् २०२२ मा हामीले बाघ दोब्बर बनाउने राष्ट्रिय सङ्कल्प पूरा गरेर देखाउनु छ विश्व संरक्षण समुदायलाई । गैँडाले जस्तै बाघको भावी गणना र परिणामले नेपाल र नेपालीको यसैगरी छाती र शिर उँचो पारोस्, पङ्क्तिकारको अग्रिम शुभकामना छ ।

चुनौतीको चुली

गैँडाको सङ्ख्या बढ्यो, हर्षको कुरा । बाघको बढ्ला खुसीको कुरा । तर यी खुसी र हर्षले पुलपुलिएर बस्ने अवस्था छैन । खुसीले थोपरेको चुनौती व्यवस्थापनमा हाम्रो ध्यान जान जरुरी छ ।

यो राष्ट्रिय अन्तर्राष्ट्रिय खुसीले निकुञ्ज विशेषलाई झन् तनावमा राख्ने छ । फिल्ड फ्रन्टलाइन स्टाफहरूको १२ बज्ने छ । स्थानीय समुदायको तनाव अझ बढी हुनेछ । मानव–वन्यजन्तु द्वन्द्वले स्थानीयवासीहरू अझ धेरै प्रताडित हुनेछन् ।

निकुञ्जभित्रका दुर्लभ सुन्दर वन्यजन्तुहरूलाई निकुञ्जकै सिमानाभित्र कसरी छेकबार गरेर अड्काउने ? कसरी भित्रको गैँडालाई भित्रै खुसी बनाएर राख्ने ? र, निषेधित निकुञ्ज क्षेत्रभित्र अवैध घुसपैठ गरेर बाघको मुखमा सरासर पुग्ने स्थानीयवासीहरूलाई कसरी थुनछेक गरेर भित्र पस्न नदिने ? यी चुनौतीहरूको पहिलो इलाज गर्नुपर्दछ स्थानीय निकुञ्ज प्रशासनले ।

जलवायु परिवर्तन, वातावरण प्रदूषण, डढेलो, बाढी विनाश, अतिक्रमण, पूर्वाधार निर्माणका समस्याहरू समाधान गर्न केन्द्रको पहल र प्रयास आवश्यक पर्नेछ ।

Rhinos in Chitwan National Park.

गणकको सुझाव र विज्ञको निष्कर्ष

गैँडा विज्ञहरूको एउटा गोष्ठी ताततातै गर्न अपरिहार्य छ, गणकहरूले औँल्याएको फिल्डको कुरा विश्लेषण गर्न र निष्कर्ष निकाल्न । फिल्डमा विविध समस्या के के देखियो । समाधानलाई सुझाव के थियो ?

गैँडाको समानुपातिक वितरण र विचरण कसरी गराउने ? पर्याप्त आहार र त्यसको सुरक्षा कसरी बढाउने ? समग्रमा गैँडालाई आहार र शान्ति सुरक्षा सुनिश्चित गरेर निकुञ्जभित्रै कसरी खुसी राख्ने ? यी तमाम जिज्ञासा र प्रश्नहरूको उत्तर विज्ञहरूले दिनेछन् । विज्ञहरूले दिएको सुझावका आधारमा तर्जुमा हुने गैँडा संरक्षण योजना राम्रो र कामयाबी हुनेछ ।

सन् २००८ देखि २०१५ सम्मको गैँडा वृद्धिदर थोरै ५ प्रतिशत थियो । २०१५–२०२० को वृद्धिदर अझ घटेर ३ प्रतिशतभन्दा तल झरेको देखिन्छ । जब कि अरू देशले ७ प्रतिशत वृद्धिदर कायम राखेको देखिन्छ र बढीमा १२ प्रतिशत पुर्‍याउन सक्ने विज्ञहरूको दाबी छ ।

चितवनको पूर्वी सेक्टर खाली गरेर पश्चिम सेक्टरमा एकत्रित भएका गैँडाले भविष्यमा अझ धेरै समस्या ल्याउने निश्चित छ । यो नितान्त म्यानेजमेन्ट असफलताको कुरा ठहर हुनेछ । तसर्थ, थप क्षति रोक्न र क्रस ब्रिडिङ गराउन समेत ती एकत्रित गैँडाहरूलाई पूर्वी सेक्टरमा आकर्षक वासस्थानको व्यवस्था गरेर लैजानुपर्ने हुन्छ । स्थानीय बलले पुग्दैन भने विज्ञहरूको सुझावमा केन्द्रीय तागत लगाएर भए पनि चितवनमा समानुपातिक र सन्तुलित गैँडा वितरणको आवश्यकता सम्बोधन गरिनुपर्दछ ।

विभिन्न अध्ययनले बर्दियामा सजिलै एक सय गैँडा अटाउने सम्भावना देखाएको कुरालाई मनन गरी त्यहाँ ६२ ओटा गैँडा बढाउन जोड गर्नुपर्दछ । शुक्लाफाँटामा ५० ओटा गैँडाका लागि वासस्थान छ भनेको सुझावलाई पूरा गर्न ३३ ओटा थप गैँडा पाल्न सक्ने वासस्थानलाई सुधार र सुरक्षित राखिदिनुपर्दछ ।

चितवनको पूर्वी सेक्टरको क्षमता तीन सय गैँडा हो भन्ने अध्ययनले देखाएको छ । वासस्थान सुधार गर्न सक्ने हो भने चितवन एक्लैले एक हजार गैँडालाई खुसी र सुखसाथ पालेर देखाउन सक्नेछ । तर कसरी ? त्यो विज्ञहरूका मुखारबिन्दुबाट सुन्नुपर्दछ । विज्ञहरूको गोष्ठीले सबै प्रश्न र जिज्ञासाको उत्तर दिनेछ । साथै, यो गोष्ठीले गैँडाको अनुगमन कसरी गर्ने र बढाउने समाधान पहिल्याउने छ । र, अर्को गणनाको आधुनिक विधिको खाका अगाडि सारिदिनेछ ।

Rhino counting in Bardiya National Park.

व्यवस्थापन र सुरक्षाको पाटो

यो गणनाबाट गैँडालाई सुरक्षा खतरा कहाँ कहाँबाट कसले कसरी छ भन्ने कुरा छर्लङ्ग खुलेको हुनुपर्दछ । अग्रजहरूले हासिल गरेको ‘शून्य सिकार’ उपलब्धि अनन्तकालसम्म रक्षा गर्ने सुदृढ संरक्षण मोडलको अनुकरणले सबैको जितैजित हुनेछ ।

अब हरेक पोस्टले आफ्नो जिम्मेवारी क्षेत्रको गैँडालाई नामले चिन्नुपर्दछ । भाले, पोथी, वयस्क, बच्चा, विचलित, उदण्ड, घाइते, बूढो, गर्भिणी, सुत्केरी एक एक छुट्याएर हेर्नु, पहरा दिनु र हरेक साँझ प्रतिवेदन गर्नुपर्दछ, प्रभावकारी संरक्षण भनेको त्यो हो । यो कठिन तर सम्भव छ । यो आजको आवश्यकता हो ।

गैँडा बढ्नु भनेको विश्व बजारमा खागको माग बढ्नु हो । चोरी सिकारीहरू आकर्षित हुनु हो । त्यसैले यो सुखद् समाचारले थप सुरक्षा सुदृढीकरणको माग तेर्स्याएको छ । चुनौतीलाई अवसरमा बदल्न त्यहाँ तैनाथ नेपाली सेनाका प्रोटेक्सन युनिटहरूले स्मार्ट सुरक्षा योजना बनाएर आफ्नो सम्पूर्ण ध्यान र तागत संरक्षणमा एकत्रित गर्नुपर्दछ ।

जसरी भित्रको अवैध घुसपैठलाई अनिवार्य रोकेकै हुनुपर्दछ, उसैगरी भित्रको वन्यजन्तुलाई बाहिर निस्कन नदिने र त्यो सम्भव नभए त्यसको अनिवार्य अनुगमन गर्ने सुरक्षा संयन्त्र निर्माण गर्नुपर्दछ । मानव वन्यजन्तु न्यूनीकरणको सूत्र त्यही हो । यो सूत्र कार्यान्वयन र सफलताका लागि इन्टिलिजेन्स राडारको दायरा फराकिलो पार्न र सिबिएपियुलाई सक्रिय बनाई सहकार्य गर्न जरुरी पर्दछ ।

नेपालका दुर्लभ वन्यजन्तुहरू भविष्यमा विश्व व्यापारको तारो हुने निश्चित भएकोले संरक्षण साझेदार सिआइबीलाई हामीले स्रोतसाधन, जनशक्ति सम्पन्न बनाई थप सक्रिय बनाउन जरुरी छ । वन्यजन्तु अंगको माग र व्यापारको नसा र  जरा काटेर निमिट्यान्न बनाउँदा मात्र कोर इलाकाको गैँडालाई राहत मिल्नेछ ।

कागजमा सीमित क्रस बोर्डर संयुक्त मनिटरिङ र सूचना आदान प्रदान एवं संरक्षणको प्रावधानलाई व्यवहारमा उतार्न र दुई तथा त्रिदेशीय संयुक्त अनुगमन र संरक्षणको सुन्दर संयन्त्रलाई थप विश्वसनीय बनाई अनिवार्य परिचालन गर्न अब विलम्ब गर्नु हुँदैन ।

प्राचीन संरक्षण मोडलले आधुनिक चुनौतीसँग जुध्न र जित्न सम्भव छैन । तर, ‘शून्य सिकार’ नेपालको राष्ट्रिय ब्रान्ड हो । अन्तर्राष्ट्रिय संरक्षण समुदायमा बिक्री भइसकेको यो सुन्दर ब्रान्डलाई प्रोटेक्सन युनिटहरूले छाड्नु हुँदैन । अन्तर्राष्ट्रिय सङ्घसंस्थाले स्याबास भनी पुरस्कृत समेत गरिसकेको यो ब्रान्डलाई मूलमन्त्र बनाई दत्तचित्त साथ लाग्नु र त्यसको रक्षा गर्नु हामी सबैको हितमा हुनेछ ।

यो मोडलको तेस्रो खम्बा बफरजोन तथा स्थानीय समुदायको पहल र प्रयासले शुन्य सिकार हासिल गर्न मद्दत पुगेकाले त्यो असरदार खम्बाको उपयोगिता र योगदानलाई ससम्मान, स्वागत र सदुपयोग गर्नैपर्दछ ।

संरक्षण साझेदार सङ्घसंस्थाहरू पन्छिएर होइन, झन् जागेर गैँडा अध्ययन, अनुसन्धान, अनुगमन र संरक्षणमा समर्पित हुनुपर्दछ ।

गैँडाको बासस्थान सुधारका लागि विनियोजित बजेट पर्याप्त देखिन्छ । तर खर्च गर्ने झन्झटिलो प्रक्रिया र आर्थिक नियमको झमेलाले घाँसे मैदान निर्माणको लक्ष्य हासिल गर्न ठूलो बाधा देखियो । छिमेकी देश भारतमा जस्तो वर्षभरि स्थानीय कामदारलाई भाडामा काम लगाएर भुक्तानी दिने लचिलो र खुकुलो नयाँ प्रावधानले मात्र विनियोजित बजेटलाई भरपूर सदुपयोग गरी अधिकतम परिणाममुखी काम समापन गर्न सकिन्छ । चिफ वार्डेनले चराको गुँड र बच्चा, चित्तलको बच्चा, गोहीको फूल संरक्षण गर्दै चरणबद्ध घाँसे मैदान बनाउँदै जाने सुविधा पाउनुपर्दछ । अहिलेको जस्तो चैत वैशाखमा बजेट सके सक्, नत्र पच् गर्ने प्रकृति अमैत्री कठोर व्यवस्थाले वासस्थान सुधार होइन, बिगार मात्र गरिरहने छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटाको हकमा परिवर्तित व्यावहारिक खर्च प्रणालीको छुट हुन नितान्त जरुरी छ ।

उही जोखिम, उही कठोरता, उही विषमतासँग जुध्ने निकुञ्ज कर्मचारी, प्राविधिक र हात्तीसारेहरूलाई नेपाली सेनासरहको रासन सुविधा दिएर उनीहरूको पसिना र जोखिमको सम्मान र कदर गर्न विलम्ब भइसकेको छ । तर, रासन मनी बुझ्ने र सधैँ घर टाप दिने विकृतिलाई सच्याएर साझा भान्छा र संयुक्त गस्तीको सुन्दर पुरानो अभ्यासलाई ब्युँताएर निरन्तरता दिनुपर्दछ ।

नयाँ भर्ती भएका निकुञ्ज कर्मचारीहरूको तालिम शून्य छ । तिनको वृत्तिविकास योजना बनाएर तदनुसारको व्यावसायिक तालिम दिई चेन अफ कमान्डको ल्याडर बनाउन विलम्ब भइसकेको छ । अझ वन कर्मचारीहरूलाई समेत समेटेर एकीकृत तालिम दिई साझा उद्देश्यका लागि परिचालन गरेमा निकुञ्ज, वन, चुरे, संरक्षणमा सकारात्मक परिवर्तन ल्याउन सकिने छ ।

अन्तिम प्रार्थना

नयाँ वर्ष २०७८ ले हामी सबैलाई प्रकृतिको सर्वोच्चता स्वस्फूर्त स्वीकार गर्न उत्प्रेरित गरोस् । पाटे बाघ दोब्बर र ३० प्रतिशत संरक्षण क्षेत्रको सङ्कल्प हासिल गर्न सफल बनोस् । प्राकृतिक र दैवी प्रकोप तथा महामारीबाट मानव–वन्यजन्तु लगायत सम्पूर्ण प्राणीजगतलाई रक्षा कल्याण गरोस् । सुशासन मार्फत शान्ति र प्रकृतिमैत्री हरित समृद्धिको जग हालेर मुलुक छिटो स्वर्गमा परिणत होस् ।

अन्त्यमा, नयाँ वर्ष २०७८ र नयाँ वर्षको वन्यजन्तु सप्ताहमा यही पङ्क्तिकारको शुभकामना छ ।
(लेखक संरक्षणविद् हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

Like it? Share with your friends!