पुर्खाले केटाकेटीलाई खेलाउन बनाएको यो बालखेल जस्तै बाघ र गैँडा खोलै खोला बगेका बगै छन् । किनभने सुन्दर भर्जिन नदीहरु सँधै उत्तरबाट दक्षिण पानीढलो हुँदै बगिरहेकै छन् । तर न गैंडा सकिन्छन् न नदी सुक्दछ । पशुपतिको प्राकृतिक भण्डार सँधै भरिभराउ।

हामी बाघ गैंडा हेरेको हेरैं । बाघ गैंडा सँधै चुहेको चुहैं । हेराई कराई र गराई बीचको तादात्त्म्यता र सन्तुलन समिक्षा गर्न बिलम्ब भयो कि ?

विश्वको जैविक पार्क

नेपालको प्राकृतिक सौन्दर्यता पढेर, बुझेर, जानेर कहिल्यै सकिदैन । नेपाललाई फिजिकल्ली अध्ययन अनुसन्धान गरेका टोनी हेगनले स्थानीय बुढापाका र धामी झाँक्रीलाई ठट्यौली गर्दै दुई सय वर्षको आयु त्यसै मागेका होइनन् । नेपाल चिन्न जान्न कम्तीमा ५ सय वर्ष लाग्छ भन्दथे उनी । उस्तै धारणा थियो डा. हर्क गुरुङ्गको । आधुनिक विद्वान र विज्ञहरुको विस्मय पनि उस्तै छ; जुन अतृप्त र अपूर्ण विस्मय ७७ जिल्ला अवलोकन गर्न पाएको पंक्तिकारको पनि छ ।

सिङ्गो मुलुकको जैविक विविधता, भौगोलिक विविधता, धार्मिक–सांस्कृतिक विविधता रोचक र रहस्यमय अध्ययन अनुसन्धानका अरु विशाल विश्व पाठशाला हुन् ।

दुई भिमकाय र महत्वकांक्षी मुलुकका बीच लमतन्न च्यापिएको मुलुकको यही सौन्दर्यता बचाउन राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरु लहरै स्थापना गरिएका हुन् ।

वास्तवमा मातृभूमि नेपाल सुन्दर संरक्षण क्षेत्रको हरित मालाले सजिएकी छिन् । उत्तरमा खप्तड, रारा, डोल्पा, ढोरपाटन अन्नपूर्ण, मनास्लु, लाङ्गटाङ्ग, गौरीशंकर, सगरमाथा, मकालु र कञ्चनजंघा । दक्षिणमा कोशीटप्पु, पर्सा चितवन, बाँके, बर्दिया, खैरापुर र शुक्ला ।

संरक्षण क्षेत्रको यो रङ्गीन मालाको अवधारणा र डिजाईन्भित्र ईण्टेलिजेन्स मूल्य, सामरिक महत्व, भू–अखण्डता रक्षाको मर्म र भावना लुकेको छ । सिङ्गो मालाभित्र सन्तुलित विकास र राष्ट्रिय सुरक्षाको खाका अन्तरनिहित छ ।

यो लामो मालाको बीचमा हिरामोती जडित् प्राकृतिक सम्पदाको खानी हरियो चुरे पहाड वारपार फैलिएको छ ।

तर प्रकृतिको यो विशाल भण्डार सदियौंदेखि चुहिरहेको छ । जति चुहे पनि सँधै झुसी र हराभर मातृभूमिको चुहावट कुन रसायनले बन्द गर्ने र मुलुकलाई सम्वृद्ध बनाउने सुझाव यो आलेख मार्फत राख्ने जमर्को गरेको छु ।

In Search of Rhinos with Rangers.

Read: What’s Killing Nepal’s Rhinos?

वन्यजन्तुको चुहावट

विश्व सम्पदामा सुचिकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा चुहेको समाचार बाहिर आएको छ । ९३२ वर्ग कि.मि क्षेत्रफलमा सन्तुलित तवरले फैलिएर विचरण गरिरहेका गैंडा केहि वर्षयता एक्कासी निकुञ्जको पश्चिम क्षेत्रमा पोको परेका छन् । वासस्थान सांघुरो, सीमित आहारा (घाँसपानी), प्रजननको झगडा स्वाभाविक हुने नै भयो । फलस्वरुप प्राकृतिक कारणले गत ३ वर्षमा हामीले ठूलो संख्यामा गैंडा गुमाउनु पर्‍यो ।

२०१५ को गणना अनुसार कूल ६४५ मध्ये ६०५ गैंडा निकुञ्जको पश्चिम क्षेत्रमा एकत्रित भएका छन् । ७० प्रतिशत (४५०) भन्दा धेरै गैंडा एउटा क्षेत्रमा एकत्रित हुनु भनेको ज्यादै अप्राकृतिक, अस्वभाविक र असामान्य हो । गैंडाको लागि त्यो रहर होइन बाध्यता हो । हाम्रो नालायकपन हो ।

२०७४ र ७५ हामीले गैंडा हेर्न निकुञ्जको धेरैपटक यात्रा गर्‍यौं । दुर्भाग्य, पहिला पाईला–पाईलामा सर्वत्र देखिने गैंडा पछिल्ला वर्षहरुमा दूर्लभ हुँदै गए । गैंडाको पदमार्ग र दिसा समेत नदेखेपछि विज्ञहरुले सुरुङ्ग खोला र त्रिवेणी हुँदै गैंडाहरु सटिएको भारतको बाल्मिकी टाईगर रिजर्भ गएको हुन सक्ने चिन्ता व्यक्त गरे ।

हाल निकुञ्जको टेम्पल, बगवन्, भेलौजी हुँदै त्रिवेणीबाट भारततर्फ २ वटा गैंडा गएपछि त्यो पुरानो चिन्ता सत्य सावित भएको छ । दूर्लभ पाटे बाघको चुहावट झनै दुखदायी र चिन्ताजनक छ । अरु बन्यजन्तु कति गए आएनन् । तिनका घर सालका रुखहरु मध्यरात हराए । चुरेको बन, गिट्टी, बालुवा राती राती हरायो । अपार जल सम्पदा हरेक सेकेण्ड खेर गयो । जनयुद्धका बन्दुक बारुद खोलाले बगायो । कर ढुकुटीमा आएन चुहेर सकियो । ईन्टेलिजेन्स अनवरत चुहिरहेकोछ । भूगोल हरायो । बिडम्बना, जङ्गे पिलर मात्र मध्यराती झन भित्र भित्र हामीतर्फ सरिरहेकाछन् ।

Chitwan National Park.

यो पनि पढ्नुहोस:बाघ गैंडालाई न्याय दिने निकाय खोई ?

भौगोलिक अभिशाप

नेपालको उच्च हिमाली श्रृङ्खलाको सौन्दर्यताले विश्वको ध्यान खिचेको छ। हिमालबाट पैदा भएको सफा स्वस्थबर्धक र शक्तिशाली जलको पानीढलो दक्षिणतर्फ छ । त्यो अमूल्य जल मातृभूमिलाई अन्धकार पारेर खेर गएको शक्तिशाली पानीले हाम्रो अक्षमता र दरिद्रतालाई कति श्राप दियो होला ? भान्छाका रित्ता गाग्रीले हामी मानवलाई कस्तो गाली दिए होलान् ? सिंचाई नभएर चिरा–चिरा फुटिरहेका धान खेतहरुले हामी व्यवस्थापक भनाउदा महामानवहरुलाई कति खिसिटिउरी गरे होलान् ?

त्यही पानीमाथि छिमेकीको कड्के आँखा लागेको छ । इतिहासदेखि हाम्रो नाम नदी बेचुवामा दर्ज छ । अब, त्यो पानी माथि छिमेकीलाई जितेर विश्वको आँखा गढेको छ । प्रकृतिरक्षा र प्राकृतिक श्रोत साधनको सदुपयोग एवं दिगो विकासमा ध्यान नजाँदा हामीले वर्षेउनी कहालिलाग्दो विपद्को सामना गरिरहनुपरेको छ । २०७४ को डुबान र बाढीले राम्रो पौडिबाज भिमकाय गैंडालाई समेत बगाएर भारत पुर्‍यायो । अन्य साना वन्यजन्तुहरु हजारौं हजारको संख्यामा बगेर गएको देख्ने प्रत्यक्षदर्शीहरु आजपनि नदी किनार बफरजोनमा भेटिन्छन् । अनुनय विनय र हत्तेहिरिक गरेर हामीले ११ वटा गैंडा ट्रकमा लोड गरेर मूलघरमा फिर्ता ल्यायौं । बाँकी आनेकाने र पछिपछि भन्दाभन्दै ल्याउन सकेनौं । अग्लो मुलुक, उचो जमिन र दक्षिण पानी ढलोको अभिशाप भन्दा पनि स्मार्ट व्यवस्थापन र रोकथाम गर्न असमर्थ भएको सत्यलाई स्वीकारेर सुधारको मार्ग पहिल्याउन बिलम्ब नगरौं । चितवनको जस्तो त्यो दुर्दशा कोशीटप्पु, बाँके, बर्दिया र शुक्लाफाँटाले पनि वर्षेउनी बेहोरिरहनुपरेको छ ।

Chitwan National Park.

यो पनि पढ्नुहोस:गैंडाको चोरी शिकार कानमा तेल हालेर बसेको सरकार

फुलबुट्टे बैरी कान

बढाई चढाई नतिजा बनाउने र फुलबुट्टा भरेको कर्णप्रिय समाचार मात्र सुन्ने सुनाउने हाम्रो ढांट्ने झुक्याउने छलकपट संस्कारले हामी २ वर्ष अगाडि पूर्व निर्धारित र तयारी गैंडा गणना गर्न डरायौं । धेरै दर्जन गैंडा मरिरहेको घटनाले गैंडाको संख्या घट्न सक्ने भयले हामी पछि हटेका थियौं ।

गत वर्ष फेरि गैंडा गणनालाई बजेट विनियोजन गरेर उत्कृष्ट नजिर राख्यो वन तथा वातावरण मन्त्रालयले । संरक्षणविदहरुले हर्षित् भएर सरकारको त्यो साहसिक कदमको प्रशंसा गरे ।

दूर्भाग्य, गैंडा मर्न बन्द भएन । फेरि पुरानै डरले हामीले गैंडा गणनाको दोश्रो निर्धारित कार्यक्रम पनि रद्द गर्‍यौं । योजना सुन्दर, कार्यान्वयन शून्य । अवोध गैंडालाई चरम अन्याय र अत्याचार । गैंडा हेरेको हेरैं भए ।

२ वर्ष अगाडि हामीले पाटे बाघ गणना गर्‍यौं । विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जबाट अनायास २७ बाघ हराए । चुहेको भनौं कि हराएको । परिणाम ज्यादै अनपेक्षित र दूर्भाग्यपूर्ण आयो । हामीले निर्धारित समयमा नतिजा सार्वजनिक नगरेर छलछाम र टालटुलको बाटो खोज्यौं । तर खुला आकासमुनि फिल्डमा डिजिटल क्यामराको रेकर्ड डिलिट् र करेक्शन गर्न सम्भव थिएन । बाघले दुरुस्त नतिजाको न्याय पाए । दुरुस्त नतिजालाई न्याय नभनेर अरु के भन्ने हो र ? चितवन राष्ट्रिय निकुञ्जमा चुहिने सानो छीद्र होइन ‘ब्ल्याक होल’ जस्तो दर्जनौं दर्जन भिमकाय गैंडा र स्मार्ट पाटेबाघ हराउने भ्वाङ्ग परेको प्रमाणित भयो ।

एउटा बेईमान : सय नोक्सान

कमजोरी लुकाउन हामीले बेईमान गर्दै गयौं । तर एउटा बेईमान् गर्दा सयौं नोक्सान भएको हेक्का राखेनौं ।

न बाघको चुहिने प्वालबाट पाठ सिक्यौं, न गैंडाको भ्वाङ्गबाट । निकुञ्जमा ठूलो भ्वाङ्ग परेपछि अरु असंख्य जीवजन्तु चुहिएर जाने नै भए ।

साहसिक निर्णयको कार्यान्वयन गरेर सत्यतथ्य दुरुस्त पत्ता लगाएको भए छिद्र पत्ता लाग्ने थियो । छिद्रलाई समयमा टाल्न पाएको भए प्वाल पर्ने थिएन । प्वाल देख्ने टाल्ने हिम्मत गरेको भए भ्वाङ्ग पर्ने थिएन ।

यो ‘काग बाठो’ को चाल भयो । हामीलाई नोक्सानी माथि नोक्सानी भयो ।

न चुहिएको गैंडा फिर्ता पाउनु । न हराएको बाघ फेला पार्नु । बगेको खोला नफर्किए झैं चुहिएर हराएका हाम्रा सम्पदा हाम्रा लागि ठूलो नोक्सान मात्र होइन बरु हाम्रो कमजोर व्यवस्थापन र संरक्षणको दशी प्रमाण थिए ।

यो पनि पढ्नुहोस:बच्चा गैंडाको मृत आत्मासँग माफी मागौं : अब गल्ती नहुने संकल्प गरौं

भुल स्वीकार र फुलबुट्टा अस्वीकार गरौं

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी र मध्य क्षेत्रमा पानीको सतह घटेको र सुख्खा भएको सत्य हो । घाँसे मैदान चरिचरण, आहार घटेको अर्को सत्य हो । सौराहाको उत्ताउलो शहरिकरण, भड्किलो सफारी र मानव अतिक्रमण गैंडा भगाउने थप टड्कारा कारणहरु हुन् । प्राकृतिक क्षतिको ओहिरो पहिरो माथि अतिक्रमण र चोरी शिकार समस्या बल्झेको अर्को ध्रुबसत्य हो ।

यी लुकाउने र रफ्फु भर्ने सामान्य कुरा होइनन् । बरु सत्य पत्ता लगाएर त्यसलाई आत्मसात् र स्वीकार गरेर थप क्षति रोक्ने, क्षति न्यूनिकरण गर्दै जाने र त्यसलाई शून्यमा झार्ने हिम्मत गर्नु बुद्धिमानी हुने छ ।

पंक्तिकारको जोडदार सिफारिस भूल स्वीकार गरौं र पाठ सिकेर क्षतिपूर्तिको बाटो अपनाउ भन्ने हो । हिजो द्वन्द्वकालमा हाम्रा निकुञ्ज प्राय: रित्तो भइसकेका थिए; वन र वन्यजन्तु चुहेर होइन द्वन्द्वले मासेर र मारेर । हामीले हाम्रो भूल सहश्र स्वीकार गर्‍यौं । सबै दोष अरुलाई होइन आफै लियौं । फलस्वरुप परिणाम ‘शून्य शिकार’ को आयो । त्यसले ५ वर्ष निरन्तरता पायो । निकुञ्ज आरक्ष वन्यजन्तुहरुले भरिन पाए । राष्ट्रको ईज्जत र गौरव बढ्यो । अन्तर्राष्ट्रिय संरक्षण समुदायले तारिफ र कदर गरिरह्यो । हिजोको त्यो नजिर र स्वअनुभवमा टेकेर यो सिफारिस गर्दै छु – फुलबुट्टा होइन, भूल स्वीकारुम् ।

विचित्रको भण्डार

नेपालको प्राकृतिक भण्डारको गहराईमा पुग्न मैले जिउदो प्रकृतिविद् मेरो गुरु श्रद्धेय डा. तिर्थ बहादुर श्रेष्ठलाई गुहार्नुपर्दछ । न जलवायु परिवर्तनले पगाल्न सके हाम्रा सेता हिमाललाई । न समुन्द्रले अनवरत चुसेर सुकाउन सक्यो हाम्रा नदीहरुलाई । न संसारको रेलमार्गले मास्न सक्यो हाम्रो साल फरेष्टलाई । न त डुबान र बाढी पहिरोले बगाएर सकिए हाम्रा जीवजन्तु र जलचर । कहिल्यै नसकिने नेपालको प्राकृतिक भण्डारण । जति चुहियो मासियो, उति बढिरहने र सँधै झुसी भरिरहने धन्य पशुपतिको प्राकृतिक भण्डारण ।

यही सत्य हो– हामी माथि सबैको आँखा । यही यर्थाथ हो– सुन्दर र प्रकृतिको धनी नेपालमाथि सबैको अर्जुन दृष्टि । र, हिराजस्तो हाम्रो पौरखी जनशक्तिको अपार माया एवं सर्वत्र माग माथि माग ।

सुख र सम्वृद्धिको बाटो

प्रकृति रक्षा भए मात्र मुलुकको रक्षा सम्भव हुन्छ । हरियो वन र हरित नेपालले मात्र प्राकृतिक विपद्लाई रोकथाम गर्न सक्दछ । वातावरण र वन्यजन्तु पर्यटन भविष्यको नयाँ पर्यटन भिजन हुने छ । हरित कृषि, अर्गानिक उत्पादन, जडिबुटी खेती, जल उद्योग र पर्यटन, वातावरणमैत्री एड्भेन्चर तथा स्वच्छ स्वस्थ सफा हावा नेपालको सम्वृद्धिका आधारशिला हुन् ।

ज्ञात अज्ञातबस इतिहासदेखि आजसम्म भएका चुहावट तत्काल बन्द गर्नुपर्दछ । गैंडाको चुहावट तत्काल रोक्न चितवन राष्ट्रिय निकुञ्ज लगायतको घाँसे मैदान व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्दछ । निकुञ्जहरुको व्यवस्थापन र संरक्षणलाई सुदृढ बनाउनुको विकल्प छैन ।

गैंडा गणना शीघ्र गरेर जस्तोसुकै परिणाम होस त्यसलाई सार्वजनिक गर्नुपदछ । आफ्ना कमजोरी हिम्मतका साथ आत्मसात र स्वीकार गरेर सुधारको पहल गर्नुपर्दछ । नेपाली सेनाले यसको प्रारम्भ गरेको सुखद् खबर छ । तर उसको मात्र एकल पहलता कामयाबी हुँदैन । राष्ट्रिय संरक्षण प्राथमिकताले निर्देशित गरेको टीमवर्क अति आवश्यक छ ।

सन् २०२२ सम्ममा बाघ दोब्बर गर्ने राष्ट्रिय संकल्पलाई प्राथमिक र राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउनुपर्दछ । यसको अगुवाई समेत ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले गर्नु बान्छनीय हुने छ । गैंडाको मूलघर चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापन ज्यादै कठिन र चुनौतिपूर्ण भएकोले नेपाली सेनाको उल्लेख्य श्रमदान र सक्रिय योगदान कामयावी हुने छ ।

चुरे दोहन र विनाशले ‘राष्ट्रपति चुरे कार्यक्रम’ लाई धज्जी उडाईरहेको यर्थाथलाई शीघ्र सच्याउन ‘चुरे संरक्षण’ लाई प्रभावकारी बनाउनुपर्दछ । अहोरात्र चुहिरहेको र हराईरहेको चुरे भविष्यमा चुहेको गैंडा जस्तो फर्केर नआउने भएकोले चुरे विनाश तत्काल रोक्नुपर्दछ ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा मुलुकको ‘ग्रीन गोल्ड–साल फरेष्ट’ सखाप पारियो । जुन फिर्ता आउने संभावना छैन । जंगल क्षेत्र माथि राजनीतिक कब्जा नगर्ने हो भने त्यो साल फरेष्ट फिर्ता पाउन १ सय प्लस वर्ष कुर्नुपर्ने हुन्छ । यस्ता अक्षम्य नीतिगत भुलहरु भविष्यमा दोहोरिन दिनुहुँदैन ।

कथित सुकुम्बासी अथवा भोटब्याङ्कको नाममा वन जंगल क्षेत्र बाँड्ने सस्तो लोकप्रियताको सहारा लिनुहुँदैन सरकारले । बरु २४ प्रतिशत संरक्षण क्षेत्र बढाएर ३० प्रतिशत पुर्‍याउने राष्ट्रिय संकल्प सफल र साकार पार्न गुरुयोजना कार्यान्वयनमा अर्जुन दृष्टि लगाउनुपर्दछ ।

के पुर्खाले हामीलाई सगौरव सुम्पिईएका प्राकृतिक सुन्दर सम्पदाको दिगो रक्षा गर्न हामी अक्षम भएकै हो त ?
पक्कै होइन । आधुनिक प्रविधिको आजको युगमा आफ्ना अमूल्य वन्यजन्तुहरु रेडियो कलर गरौं । निरन्तर अध्ययन, अनुसन्धान, गणना र अनुगमन गरौं । क्रसबोर्डर ईण्टेलिजेन्स र अनुगमन संयन्त्रको विकास र अभ्यासमा जोड दिउं । चुहेर सीमा पारि गएका सम्पदा दुई वा त्रिपक्षीय वार्ताद्वारा सल्टाउं र फिर्ता ल्याउं । आफूतर्फको वन्यजन्तुको बासस्थान सुन्दर, धनी, शान्त र सुरक्षित एवं नचुहुने बनाउन राष्ट्रिय संकल्प गरौं । सबैले जवाफदेहिताको डिग्री बढाएर विश्वको एकमात्र प्राकृतिक पाठशाला सिङ्गो देश नेपालको प्राकृतिक सम्पदा (जल, जमिन, जंगल, जनशक्ति, हावा) को दोहन, विनाश र क्षति रोकेर प्रकृतिआशिष पशुआशिष प्राप्त गरुम् । हामी सबै पवित्र विश्व पाठशालाको पुजारी र पहरेदार भएर हानी नोक्सानी विरुद्ध एकजुट भएर उभिउ र संरक्षणमा समर्पित हुन सकूम् । प्रकृतिले हामीलाई सम्वृद्धि, सुख र खुशी दिने अवस्यम्भावी छ ।

जय प्रकृति संरक्षण ।


बाबुकृष्ण कार्की, बाघ गोठालो ।

 


Like it? Share with your friends!