क्रिष्टोफरको शारीरिक सुगठन, दृढ ईच्छा शक्ति, दरो अठोट देखेर पंक्तिकारलाई गर्व लाग्यो । ब्रिटिस आर्मीमा ३० वर्ष सेवा गरेका उनी पनि स्पेशल फोर्सका भूतपूर्वक सैनिक रहेछन् । जम्प मास्टर हुने नै भए । दुईवटा हिमालको सफल आरोहण गरे पछि क्रिष्टोफर र उनको टीमको खुशी, उत्साह र गर्व देखेर आफू सिपाहीलाई गौरव बोध भयो । हामी दुई सिपाही कफिका साथ केहीबेर गफियौं ।

Bahrain Everest Team, Mt. Lobuche and Mt. Manaslu expedition. Photo: Seven Summit Treks.

“तपाई कस्तो बलियो र युवा देखिनुहुन्छ ? मान्नुपर्छ ।” मैले उनको प्रशंसा गरें ।

“होइन नि बाहिर त्यस्तो देखिए पनि भित्र बुढो भइसकें ।” सेवा निवृत्त भएपछि बहराइन रोयाल डिउटीमा सेवारत क्रिष्टोफरको जवाफ थियो ।

क्रिष्टोफरले बहराईनको राजकुमारलाई २ वटा हिमालको सानदार र सफल आरोहण गराए । आफूले पनि हिमालका चुचुरो चुमे ।

खुशी र गर्वको सीमा थिएन । ६११९ मिटर अग्लो लोबुचे सजिलै र छिटो आरोहण गरेको कथा सुनेर आफूलाई पनि हिमाल चढ्ने प्रवल ईच्छा जागेर आयो ।

कस्ता मेहनती र महत्वकांक्षी राजकुमार ? लोबुचे हाई क्याम्पबाट अक्टोबर ३ मा रातको १ बजे उठेर ९ बजे लोबुचे हिमाल चढ्न भ्याइसकेका रहेछन् । लुक्ला–नाम्चे पैदल ट्रेकिंग पनि ज्यादै रमाईलो भएको रहेछ । आफूले आफ्नो रमाईलो पुरानो ट्रेकिंगको स्मरण गर्दै टीमलाई त्यो विश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज हो भनेर सगर्व जानकारी गराएँ । सगरमाथा राष्ट्रिय निकुञ्जको अहोभाग्य भनेर पुन: स्वागतको लागि आत्तुर रहेको कुरा पनि दर्शाएँ । क्रिस्टोफर र ईब्राहिमले उत्साहित हुँदै ६ महिनापछि विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने दृढ अठोट व्यक्त गरे । मैले आभार प्रकट गरें ।

Photo by Seven Summit Treks.

सफाई अभियान

राजकुमारको टोलीले अक्टोबर १५ मा विश्वको आठौं अग्लो शिखर मनास्लु हिमालको ८ दिन लगाएर उस्तै सानदार र सफल आरोहण गर्‍यो । कति सुन्दर मनास्लु हिमाल ? जताबाट जति हेरेपनि हेरिराखौं लाग्ने । यो वर्षको आरोहणको पहिलो खाता राजकुमारले खोलिदिए । मैले मनास्लु संरक्षण क्षेत्र बारपाकको भूकम्पको सँक्षिप्त कथा सुनाएँ । हिमालको पत्र पत्रबाट ट्रयापमा परेका पर्वतारोहीहरुको सफल उद्धार गर्ने अपूर्व अवसर पाएको कथा पनि हालें।

राजकुमारको टीमले मनास्लुबाट १९०० के.जी. फोहोर बटुलेको कुराले मलाई ज्यादै सम्वेदन र भावुक बनायो । मैले उक्त पवित्र कामको खुलेर मुक्त कण्ठले प्रशंसा गरें । साथै, नेपाली सेनाले गत वर्ष सगरमाथाबाट निकालेको फोहोरको कथा सुनाउदै उक्त अभियान आगामी धेरै वर्ष जारी रहने जानकारी गराएँ ।

Photo by Seven Summit Treks.

फोहोर सफाईको काम गरेर राजकुमारले आफ्नो सरलता र महानता देखाए । कति सुन्दर काम ! प्रकृतिको सर्वोच्चता र वातावरण रक्षा प्रति सचेत र प्रतिबद्ध प्रकृतिप्रेमी राजकुमार ।

राष्ट्रिय कानूनले निर्देशित गर्ने र फिल्डको अनुगमन संयन्त्र चुस्त दुरुस्त हुने हो भने पर्वतारोहीहरुले आफ्नो फोहोर आफैले फिर्ता ल्याउनुपर्ने नियम उपयुक्त हुने रहेछ भन्ने पाठ सिकाए राजकुमारले ।

राजकुमारको वातावरण संरक्षण सचेतना, प्रतिबद्धता र महानताको मैले धेरै प्रशंसा गरें ।

Author Babukrishna Karki with Christopher, and Ebhrahim, (relative of Nasser bin Hamad Al Khalifa of Baharain) who were part of the expedition.
भावी योजना
एकैपटक २/२ वटा हिमालको सफल आरोहण गर्ने टीमको अर्को गन्तव्य सगरमाथा हुने छ । यो टीम विशेष तामझामका साथ सन् २०२१ को अप्रिल ९ तारिखमा काठमाण्डौं आईपुग्ने छ ।
बहराईनका राजकुमारले आफ्नो सफल पर्वतारोहणको अनुभव धेरै ईष्ट मित्रलाई अवश्य शेयर गर्ने छन् । दुबई र कतारका राजकुमारहरु अर्को कार्यक्रममा सरिक हुन सक्ने सम्भावनाले मलाई ज्यादै उत्सुक र खुशी बनायो ।
Photo by Seven Summit Treks.
हाम्रो हिराजस्तो पवित्र हिमाल खाडी मुलुक र मध्य पूर्वका धनी राज्यहरुको स्वास्थ्य परीक्षण र सुस्वास्थ्य दीर्घजीवि बनाउने प्राकृतिक टावरहरु हुन् । हिमालको काखमा अवस्थित खप्तड, रारा, से–फोक्सुण्डो, धौलागिरी, अन्नपूर्ण, मनास्लु, लाङ्गटाङ्ग, गौरीशंकर, सगरमाथा, मकालुबरुण, कञ्चनजंघा लगायत निकुञ्ज र संरक्षण क्षेत्र शान्ति र सु–स्वास्थ्य प्राप्त गर्ने ध्यानकेन्द्र अथवा प्राकृतिक चिकित्सालय हुन् । पवित्र हिमालबाट निस्केको स्वच्छ सफा र शक्तिबर्धक जल ती राजकुमारहरुका जन जनले पिउने व्यवस्था हुन सके हाम्रा हिमाल कति गौरवशाली हुने थिए होलान् । जुन असम्भव छैन । भविष्यमा हिमाल चढ्ने बहादुर राजकुमारहरुका राजकुमारी र सन्तानहरु साथमा आउन् र नेपालका अन्य साहसिक खेलमा ईङ्गेज् हुन् ताकि नेपालको अपूर्व अनुभव लिएर जाउन् । यसरी हाम्रो जल जङ्गल हिमालसंग खाडी मुलुकहरुको साईनो जोडियोस् । हामी सबैलाई हर्षोल्लासमय विन विनको स्थिति होस् ।
मैले सम्भाव्यता र अवसर सबिस्तार वर्णन गर्न पाएं ।
क्रिस्टोफरले अर्को भ्रमणमा पाटेबाघ र गैंडा हेर्न जाने वचन दिए । पोखरा लुम्बिनीको भ्रमण जोड्ने आश्वासन पनि दिए । म खुशीले गद्गद् भए ।
कदरयोग्य मिशन
पूर्ण र आंशिक लकडाउनको समयमा यो र त्यो जोखिम मोलेर नेपाल भ्रमण र अग्ला हिमालको सफल आरोहण गर्ने राजकुमारलाई स–सम्मान सलाम ।
काम फच्चे गर्ने बहादुरलाई कोभिड–१९ होस वा अरु कुनै बहाना त्यसले छेकबार गर्दैन भन्ने असल र सकरात्मक पाठ सिकाएका छन् राजकुमारले ।
संसारमा अनगिन्ती साहसिक खेलका अवसर हुदाहुदै उनले धेरै साहसिक र जोखिमपूर्ण गन्तव्यको यात्रा तय गरे र सरासर नेपालका २ हिमालको सानदार आरोहण गरेर देखाए ।
वास्तवमा उनी पंक्तिकारको सलाम र प्रशंसाको मात्र होइन नेपालको राष्ट्रिय सम्मानका दुर्लभ पात्र हुन् । नेपाल सरकारको आखा खुलोस र समयमै आवश्यक सम्पर्क सम्बन्ध समन्वय राखेर सगरमाथा आरोहण पछि एउटा भव्य समारोहका बीच राष्ट्रिय सम्मानको कार्यक्रम राखियोस् । यसले विश्वका अरु भि.भि.आई.पि.हरुलाई नेपाल भ्रमण र हिमाल आरोहणको लागि प्रेरणा दिने छ ।
मोहम्मद ईसा अब्दुल्ला, खालिद अली हसन,  खालिद सुल्तान, अब्दुल्लाजिज्, मोहम्मद अब्दुल रहमान्, मुरद् मोहम्मद योसुफ, ईब्राहिम, साउद् हमाद् मुबारक, फिलिप वारेन र क्रिस्टोफरको साहसिक सक्रिय सहभागिताले आरोहणलाई रोचक आकर्षक र सफल बनाउन योगदान गरेकोले राजकुमारको टीम र नमूना टीमवर्कलाई पनि सलाम ।
Prince Nasser bin Hamad Al Khalifa of Baharain and The Leader from Seven Summit Treks .
टायम एण्ड स्पेसको योजना गर्ने, सही बाटो र तरिका छनौट गर्ने, टीमको अगुवाई गर्ने र बाटो देखाउने, डोरी टाागिदिने, सत्प्रतिशत् सेफ्टी एण्ड सेक्युरिटीको सुनिश्चित गराई टीमलाई सकुशल हिमालको चुचुरोमा पुर्‍याउने र सुरक्षितसाथ बेसक्याम्प झार्ने रेकर्ड होल्डर अनुभवी नेपाली शेर्पा प्रशिक्षक, गाईड्, पाथफाईण्डर पर्वतारोहीहरुको साहसिक योगदान प्रशंसनीय मात्र होइन कदरयोग्य छ । आरोहण सफल बनाउन चुचुरोमा पुग्ने बहादुर दाजुभाइ मिङ्मा, दावा र तासीलाक्पा शेर्पाको साहस, आत्मविश्वास र गौरव देखेर धर्ती माताको अद्भूत कोख र दुध प्रति गर्व महशुस गरें । चुचुरो आरोहणको दर्जनौं रेकर्ड बनाइसकेका र बिना अक्सिजन शिखरमा पुगेर रमाउने ती बहादुर धर्ती पुत्रलाई सम्मान र कदर गर्न राज्यले कञ्जुस्याई नगरोस् भनेर प्रार्थना गरें ।
सिक्नुपर्ने पाठ
धेरै देशी विदेशी राजकुमारहरुको छिट्पुट् टुक्रे सुरक्षा डिउटी गर्ने मौका पाए । मनमनै गमें– “किन ती राजा र राजकुमारहरु यसरी साहसिक र सकरात्मक प्रतिभा प्रति आकर्षक भएनन् ? भएको भए मतिभ्रष्ट र गतिभ्रष्ट हुने थिएनन् ।” आजपनि धेरै राजकुमारहरुको सकरात्मक भन्दा नकरात्मक सोच र गतिमतिको कथा कानमा ठोक्किरहेकै छ । आफ्नै मुलुकमा पूर्व राजकुमार होस् अथवा गणतन्त्रले सिंहासन गराएका हजारौं नवराजाहरुका राजकुमारहरुको कथा व्यथा अवस्था सुनिनसक्नुको छ । गाजा, भाङ्ग, सुरा–सुन्दरीका लतमा परेर ती राजकुमारहरु डन्, बिचौलिया, दलाल र अपराधी क्रियाकलापमा रुमल्लिएर राष्ट्रिय बेइज्जति गरिरहेका छन् ।
आशा गरौं विश्वभरिका राजकुमारहरु हुन् वा शासक र धनाढ्यहरुका छोरोछोरी तिनले नेपालका साहसिक खेलबाट मनोरञ्जन र आमोदप्रमोद लिउन्। नेपालमा क्वालिटी समय बिताउन् । खराब लत् भन्दा श्रृजना र प्रतिभाको ढोका खोलून्।
आफ्नै देशका नव धनाढ्यहरुका छोराछोरीले सुन्दर मुलुकका निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, ऐतिहासिक र धार्मिक सम्पदाहरुको निरन्तर भ्रमण अध्ययन अनुसन्धान गरुन् र तिनको संरक्षणप्रति जागरुक भई योगदान पुर्‍याउन् । अनि स्वअनुभूत् गरुन्– “प्रकृतिको धनी सानो देश नेपाल बाकी विश्व भन्दा धेरै गुणा सुन्दर र पवित्र छ ।”
आफ्नो सुन्दर मुलुकको चप्पा चप्पा भ्रमण र ज्ञान नलिनु भनेको ठूलो र अपूर्व अवसर गुमाउनु हो एकवारको जुनीमा ।
राज्यको सरोकारवाला निकायहरु र पर्यटनकर्मीहरुले विश्वका भि.भि.आई.पि.हरुलाई आकर्षित गर्ने सहज सरल र सुन्दर पर्यटन प्याकेज बनाईदियोस् । सम्बन्धित सम्पूर्ण स्टेकहोल्डरहरुलाई समेटेर समन्वीकृत ढंगबाट बनाएको प्याकेज दिगो र वजनदार हुने छ । राष्ट्रियदेखि स्थानीयसम्म इमान्दारपूर्वक ओठे होइन भावनात्मक एकीकृत स्वागत र आतिथ्यता दर्शाउन कुनै कसर बाकी राख्नु हुदैन राज्यले ।
वातावरण मैत्री पूर्वाधारहरु तयार गर्न बिलम्ब गर्नुहुदैन । हिमालले डोजर र सडक होइन हिमालमैत्री सुन्दर प्राकृतिक ट्रेकिंग रुटको मात्र पुकार गरिरहेको छ । सदियौंदेखि थुप्रिएको फोहोर मैलाले पवित्र हिमाल रोइरहेको छ । हिमाल सफाईको राष्ट्रिय अभियानलाई नेपाली सेनाले बिना शर्त निरन्तरता दियोस् र पवित्र हिमाल चम्काउन त्याग गरोस् ।
पवित्र हिमालका धनी संरक्षण क्षेत्रका चीफ् वार्डेन् र स्थानीय समुदायले स्थानीय सांस्कृतिक तामझामका साथ पर्वतारोही पाहुनाहरुलाई ‘अतिथि देवो भव:’ गरुन् ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)
बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!