२२ अप्रिल आउन ठीक ५ महिना बाँकी छ । त्यो दिन विश्व पृथ्वी दिवस । विश्व वातावरण बचाऔं, धर्ती मातालाई बचाऔं भन्ने सुन्दर नारा समातेर दिवस मनाउन शुरु गरेको गत २२ अप्रिलमा ७० वर्ष पूरा भएको छ । सन १९७० को २२ अप्रिलमा अमेरिकाले एक्लै यो दिवस मनाउन शुरु गरेको थियो । ५० वर्ष पछि पनि विश्वका १९३ देशले यो दिवस भव्यसाथ मनाउदै आएका छन् । दिवसको औचित्य सान्दर्भिकता हरेक वर्ष झन् बढ्दो छ ।

तर डोनाल्ड ट्रम्पको शासनकालमा धेरैको अमेरिकालाई प्रश्न छ– “कुनै दिन एक्लै पवित्र र गर्विलो नारा समातेर शुरु गरेको दिवसको भावना र मर्म माथि किन आज आफैले धारिलो चुप्पी प्रहार गरेको ? किन धामी, झाँक्री, डाक्टर र बिरामीको रोमाञ्चकारी नाटक आफैले गरिरहेको ?”

राष्ट्रपति डोनाल्ड ट्रम्पले न त प्रकृति न त विश्व वातावरण संरक्षणलाई प्राथमिकता दिए । उनलाई कोईला तेल खनिज उत्खनन गरेर अस्तव्यस्त धर्तीमा उत्पादन बढाउने र धन कमाउने मोहले पागल बनायो । विश्व वातावरण र विश्व स्वास्थ्यलाई ठाडो चुनौती दिने विचित्रका राष्ट्रपतिसँग पृथ्वीले खोई के अपेक्षा गर्ने हो ?
अमेरिकन प्रकृतिप्रेमी मित्रहरुले आफ्नो जिज्ञाशा यसरी मेटाईदिए–

“उनी विज्ञानका विद्यार्थी होइनन् ।

उनलाई विज्ञानको ज्ञान छैन ।

वातावरण उनको एजेण्डा होइन ।

पृथ्वी नङ्ग्याउने सिध्याउने उनको व्यापारिक रोडम्याप हो ।

अमेरिकाले उत्सर्जन गर्ने हरित गृह ग्याँसको दोष समेत उनी हाक्काहाक्की अरु राष्ट्रलाई दिन्छन् ।” सुनिनसक्नु । पत्याईनसक्नु । तर व्यवहारमा ट्रम्प यसैगरी निस्ठुरी भएर उत्रिए । संसारलाई चक्मा दिए ।

विश्व मानव जातिको एक मात्र जननी मातृभूमि धर्तीमातालाई लात हानेर नयाँ नयाँ ग्रहको खोजी गर्ने ट्रम्प र उनका पागल वैज्ञानिकलाई के उपमा दिने ?

पृथ्वी समाप्त पारौं । भविष्यलाई नयाँ ग्रहको खोजि गरौं भन्ने पागल सन्ततिसँग पृथ्वीको चित्त दु:खाई र पीडा कति होला ? सायद अनुमान बाहिरको कुरा।

प्रकृति विरोधी ट्रम्पलाई प्रकृतिप्रेमी मतदाताले सजाय दिएर हुनुपर्दछ उनले नसोचेको र नचाहेको पराजय भोग्नुपर्‍यो । प्रकृति विरोधी मान्छे कहिल्यै उँभो लाग्दैन भन्ने बुढापाकाको कहावत ट्रम्पलाई लागू भयो । प्रकृति बिरुद्धको ऋण र पापको श्रृङ्खला शुरु हुन बाँकी नै छ भन्छन् जानिफकारहरु । उनको विश्व स्वास्थ्य विरोधी भावनाको भो यहाँ कुरा नखोलौं ।

जलवायु परिवर्तनले पृथ्वी तहसनहस हुने अवस्थामा पुगिसकेको र त्यसको प्रभावले वर्षेउनी आफ्नै देश अमेरिकालाई सताउने गरेको सत्य ट्रम्पलाई थाहा नहुने कुरै भएन । प्राकृतिक बिपद्ले पूर्ण तयारीका बाबजुद् वर्षेउनी हजारौंको संख्यामा ज्यान लिने, लाखौंको संख्यामा घरबारबिहिन बनाउने र अरबौ खरबौं रुपमा क्षति गराउने नियति अमेरिकाको वार्षिक रुटिन जस्तै भएको छ । मे २२, २०११ मा टोर्नाडोले मिजौरी राज्यमा १५८ को ज्यान लियो । १ हजार बढीलाई घाईते तुल्यायो । ६९५४ घर ध्वस्त पार्‍यो । मे २०, २०१३ मा ओक्लोहामामा २४ जनाको ज्यान लियो । २१२ बढी घाईते बनायो र ३०० घर ध्वस्त बनायो । अगष्ट २९, २००५ मा कैट्रिनाले न्यू ओर्लिएन्समा १४६४ को ज्यान लियो । ८०–९० प्रतिशत बासिन्दालाई शहर छाड्न बाध्य पार्‍यो ।

यो वर्षमात्र क्यालिफोर्नियामा ८८३४ भन्दा बढी डढेलोको घटना घटे । डढेलोले ४१, ४९, ३४५ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल स्वाहा भयो । ३९ जनाको ज्यान गयो । क्षतिका यी केही प्रतिनिधि घटना हुन् ।

अमेरिकामा हरेक बिपद्को मिति तिथि प्रकार शक्ति एवं बिगार गर्ने क्षमताको दुरुस्त पूर्व जनाउ हुन्छ । अनिवार्य पूर्ण सावधानी र सतर्कता अपनाउन लगाइन्छ । तैपनि बिरामी ‘मदर अर्थ’ लाई बिपदले हैरानी खेलाउदछ । त्यही नियति भोग्नुपर्‍यो गतवर्ष अष्ट्रेलिया, युरोप र ब्राजिलले पनि ।

तर दु:खको कुरा ‘जलवायु परिवर्तन’ को पेचिलो मुद्दा प्रति आफूले उदाहरणीय नेतृत्व दिएर विश्व नेताहरुलाई गम्भीर र जवाफदेही बनाउनुको सट्टा ट्रम्पले उक्साउने र भड्काउने पाप गरे । मदर अर्थ र प्रकृति उपर ठाडै झेली र अन्याय गरे । त्यसैले उनले बहिर्गमन अगाडि प्रकृतिप्रति क्षमा याचना गर्न जरुरी छ ।

धन्य, प्रकृतिको सत्य; अमेरिकाले प्रकृति र संरक्षणप्रेमी संवेदनशील राष्ट्रपति पाएको छ । वातावरणीय मुद्दालाई एजेण्डा बनाएर अत्यधिक मतले विजयी नया राष्ट्रपति बाईडेनले प्रकृति र वातावरण रक्षामा ठूलो योगदान र त्याग गर्ने अपेक्षा राखिएको छ । हिरोसिमा होइन पृथ्वी उपर खसालिएको मानवताविरोधी एटम बम होस् वा आणविक लगायतका हतियार उत्पादन र परीक्षण, अमेरिका सबैभन्दा बढी ऋणी छ पृथ्वी र प्रकृतिको । रुस चीन भारतको ऋण पनि उस्तै तिरिनसक्नुको छ ।

प्रकृति र जैविक विविधताको धनी देश नेपालको आफ्नै दु:खको कथा व्यथा छ । यहाँ पनि विज्ञानको भुत्लो भाङ्ग्रो ज्ञान र विवेक नभएका आलाकाँचा सरकारको कमाईखाने र लुटिखाने भाँडो भएकी छिन् प्रकृतिमाता । वन जङ्गल वन्यजन्तु र जल जमिनको उत्खनन बेचबिखन र लुटपातले सुन्दर धर्तीमातालाई थिलथिलो र कुरुप बनाइसकिएको छ ।

यो वर्ष मात्र महामारी बिर्साउने गरेर अतिवृष्टि भिर पहिरो बाढीले मुलुकलाई छिया छिया पार्‍यो र ठूलो जनधनको क्षति बेहोर्नुपर्‍यो । अर्को बर्षको विपद्को त्रासले हिउँददेखि जनताको भोक निन्द्रा हराएको छ । बिडम्बना, सरकार विपद्को कारण पत्ता लगाउन र सुरक्षात्मक उपाय अपनाउन अग्रसर छैन । उल्टो प्रकृतिको दोहन र विनाशमा हिस्सेदार भएर बोनस खाएर बसिरहेको छ ।

यो भन्दा उदेक लाग्दो र गैर जिम्मेवार कुरा अरु के हुन सक्दछ ?

विश्वलाई लोभ्याउने सुन्दर प्रकृतिको रक्षा गर्न हामीलाई के ले छेकेको होला ? हिमाल जल जमिन जङ्गल र जंगली दूर्लभ सुन्दर वन्यजन्तु जोगाईदिए पर्यटन फष्टाउने छ र पर्यटनले नेपाल पालिने छ । विश्वका हरेक नागरिकको नेपाल अपरिहार्य गन्तव्य हुने छ । तिनका आँखा मन मुटु र क्यामरामा हाम्रो सुन्दर प्रकृति कैद हुने छ ।

तर प्रकृतिप्रति हामी कति आस्थावान र सम्वेदनशील छौं ? हिमालमा थुप्रिएको फोहोर, वागमतीको पानी, राजधानीको हावा र जल जमिन जंगल र वन्यजन्तुको विनाश हेरे पुग्छ । पुर्खाको प्रसाद, नेपालको प्रतीक, सम्वृद्धिको आधार एक सिङ्गे गैंडा समेत हामीलाई काउचो भएजस्तो छ । जङ्गल फँडानी र चुरे विक्री पैठारीमा सरकार आफैं कम्मर कसेर लागिरहेको छ । प्राकृतिक बिपद् निम्त्याउन सरकार आफैं उद्यत छ र बिपद्बाट कमाउन पनि उ सिपालु छ।

धर्ती माताको चरम शोषण । पृथ्वीलाई हदै सम्मको अन्याय ।

सिक्नुपर्ने पाठ

स्वीट्जरल्याण्ड बनाउने नेता किरासरी आए नेपालमा । स्वीट्जरल्याण्ड बनाइदिन्छु भनेर गुड्डी हाँक्ने र सडकमा कुर्लिने ती नेताहरुलाई सानो जिज्ञाशा राख्न चाहन्छु ।

“स्वीट्जरल्याण्डमा जस्तो प्रकृतिलाई पुजा आराधना गरौं । जल जमिन जङ्गल जनावरलाई नछोऔं नचलाऔं र जस्तो छ त्यस्तै रहन दिउँ । सुन्दर प्रकृति स्वीट्जरल्याण्डको प्राकृतिक ब्राण्ड हो । त्यहाँको प्रकृति हरेक मानिसको अनिवार्य रोजाईको गन्तव्य हो । शान्तिको आधार प्रकृति हो ।

नेपाल प्राकृतिक सौन्दर्यतामा धेरै गुणा माथि छ । यहाँको प्रकृति ज्यादै विचित्रको, सुन्दर, साहसिक र अलौकिक छ । एक वर्ष होइन हरेक वर्ष अथवा धेरै वर्षसम्म पर्यटकलाई लोभ्याउने खालको छ । यसको जगेर्ना र रक्षा मात्र भए पुग्दछ । ‘प्रकृति’ नेपालको दरो र अबिस्मरणीय ‘ब्राण्ड’ हो । नि:शुल्क प्राप्त ‘ब्राण्ड’ । तसर्थ, सरकार प्रकृति रक्षाप्रति आस्थावान, संवेदनशील र जवाफदेही हुन जरुरी छ । किनभने प्रकृतिको ब्राण्ड सबैभन्दा ठूलो र मूल्यवान उद्योग हो । यसलाई मासेर गर्ने उद्योग र कृषिको सस्तो उत्ताउलो नारा कोरा सपना हो । मानवताविरोधी प्राकृतिक अपराध हो । सुख शान्ति समाप्तीको कुबाटो हो ।

स्क्याण्डेनभियन मुलुकहरुको प्रकृतिप्रेम र प्रकृति रक्षाबाट उनीहरुले प्राप्त गरेको शान्ति र सम्वृद्धिको पाठ सिक्न सक्दछन् विश्वका बाँकी मुलुकले । नेपालको हकमा उनीहरुले उक्साएको द्वन्द्वले प्रकृतिको ठूलो नोक्सानी गरेको सत्य प्रति उनीहरु सचेत छन् र एकदिन बिछिप्त प्रकृतिलाई ऋण तिर्ने छन् भन्ने आशा गरौं । तर प्रकृति रक्षा र पूजाको पाठ उनीहरुबाट सिक्न सके नेपाल संसारको स्वर्ग हुने अवश्यम्भावी छ ।

पाठ सिक्न अब धेरै टाढा जानुपर्दैन । नजिकको उस्तै हिमाली पहाडी देश भुटानको पदमार्ग पछ्याए नेपाल स्वर्गमा परिणत हुने छ । ७२ प्रतिशत वन जङ्गल रक्षा गरेर प्रकृतिको अटुट र अनिवार्य पुजा आराधना गर्ने सानो भुपरिवेष्ठित देश भुटानमा न महामारीको प्रकोप न त प्राकृतिक बिपदको । प्रकृतिलाई भुटानले आफ्नो ‘स्मार्ट ब्राण्ड’ बनाएर विश्वलाई चकित् तुल्याएको छ । खाते होइन क्वालिटी टुरिष्टको गन्तव्य बनाएको छ भुटानले आफ्नो मुलुकलाई ।

तसर्थ, आजसम्म मनाईएका विश्व पृथ्वी दिवसलाई सार्थक बनाउदै आफ्नो धर्तीमाताको मुहार उज्यालो र हँसिलो राख्न नेपालले प्रकृति संरक्षणलाई हमेशा उपल्लो प्राथमिकतामा राख्न अपरिहार्य छ । धर्ती उज्यालो र खुशी हुनु भनेको मुलुक र मुलुकवासीको सुख शान्ति र सम्वृद्धि हो ।”

अन्तिम पुकार

१९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न भव्य पृथ्वी सम्मेलन होस् अथवा पेरिस संझौता र हालै न्यूयोर्कमा सम्पन्न यु.एन. सम्मेलन ; तिनले उठाएका मुद्दा र आ–आफ्ना प्रतिबद्धता प्रति ईमान्दार रहन विश्व नेताहरुलाई हार्दिक पुकार गर्दछु ।

पृथ्वी बोल्ने भए सत्य उजागर गरिदिने थिईन्– “पृथ्वीका कट्टर दुश्मन विश्व नेताहरु हौ । डोनाल्ड ट्रम्प त्यसको नाईके हौ । हरेक सम्मेलनमा मिठो भाषण गर्ने र ग्लोबल वार्मिङ्ग कम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा झन् धेरै धुँवा र प्रदुषणको मुस्लो उडाएर पृथ्वीको खिल्ली उडाउने नालायकहरु तिमीहरु हौ । आणविक हतियार क्षेप्याश्त्र उत्पादन गर्ने, थुपार्ने, पड्काउने र पृथ्वीलाई अन्धो कानो बैरो अपाङ्ग बनाउने ठग् र मुर्खहरु पनि सरासर तिमीहरु हौ । विज्ञानको मात्, प्रविधिको मात्, विकासको मात्ले धर्तीमातालाई बराबर लात् हान्ने अहंकारी पनि तिमीहरु हौ । तिमीहरु छिटो सच्चिन जरुरी छ ।”

म्याद पुगेका विषादी विश्व नेताहरुले आफ्नो उमेर र बाँकी थोरै समयको मात्र हेक्का राख्दा भावी सन्ततीलाई ठूलो र गहिरो पिरमर्का परेको छ ।

हेक्का रहोस्, यो पृथ्वीमा ज्यादै थोरै हिस्सा तपाईहरुको छ । किनभने तपाईहरुको प्राकृतिक समय कम छ । तर, ठूलो हिस्सा युवाहरुको छ । ती भिजनरी युवाहरुलाई नेतृत्वमा पुग्न म्याद तुरिएका पाकाहरुले नदिएको अर्को ध्रुवसत्य हो । पृथ्वीको सबैभन्दा लामो भोगचलन समय बालबालिकाको हो । जसको ईशारा र माग अन्धा बैरा नेताहरुले सुन्दैनन् अथवा नसुनेको बुझ् पचाउदछन् । चुरो समस्या यही हो । पृथ्वीको रोग पनि त्यही हो ।

आणविक हतियार उत्पादन र परीक्षणको होइन विश्व शान्तिको होडबाजी होस् । पृथ्वी रक्ताम्य पार्ने विनाशकारी युद्धको होइन प्रकृति रक्षा र सफाई एजेण्डा बोकोस् अब विश्वको प्रकृति र संरक्षणप्रेमी सेनाहरुले । जल जमिन जङ्गल वायु आकाश पात्ताल ध्वस्त होइन प्राकृतिक सजिसजाउ गरेर पवित्र राख्न योगदान गरुन् विश्व सैनिक नेतृत्वहरुले । र, बालबालिकाको भविष्य सम्झेर अर्को ग्रह होइन सुन्दर पृथ्वीको रक्षा सम्मान कल्याणमा दत्तचित्त हुन् नयाँ अमेरिकन राष्ट्रपति जो वाईडेन र विश्व नेताहरु । सबैले साझारुपमा पूकारुन्– “जय विश्व पृथ्वी दिवस । जय धर्तीमाता । जय प्रकृतिमाता ।”

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format