सायद यो एउटा कर्णप्रिय नारा होला । यो नारा भजाएर कहा कसले कति बजेट खर्च फछ्र्यौट गरे, उनीहरुले जानुन् । तर देशले गाउ बनाईदेला भनेर कुर्नु समयको नास हो । अथवा, हाम्रो जस्तो मुलुकमा कहिल्यै साकार नहुने सपना मात्र भनूम् ।
तर सत्य त्यही हो, आफ्नो गाउँ कसैको बाटो नहेरि आफै बनाउ । सपनाको होस् वा कल्पनाको गाउँ, त्यसलाई लागि परेर साकार पारुम् । त्यो पवित्र काममा धर्म लुकेको छ । परम् सन्तुष्टी प्राप्ती हुने नै भयो ।

Majhi Gaun, Ramechhap

यात्रा संस्करण

काठमाण्डौंको उकुसमुकुसले आफू जस्तो धेरैलाई हैरान पारेको छ । प्रकृतिप्रेमी समुदायलाई झन् धेरै निराश पारेको होला । धेरैको लागि बाध्यताको बसाई होला । बिदा छुट्टीमा काठमाण्डौं खाल्डोबाट बाहिर निस्कने मान्छेहरुको तांती देखेर अनुमान लगाउन सकिन्छ कि आउटडोर मनस्थिति बढ्दो छ । प्रकृतिप्रेमीहरुको संख्या बढ्दो छ ।

लकडाउन निषेधलाई तोड्दै आफूपनि काठमाण्डौं बाहिर प्रकृतिको खोजिमा निस्किए । बाटोमा सुन्तला–बदाम खाने विश्राम लिए । अगाडि कोशी पारि एउटा गाउँमा आँखा पर्‍यो । त्यो गाउँलाई परिक्रमा लगाएर हेरें । विभिन्न कोणबाट फन्का लगाए । विभिन्न कोणबाट फोटो खिचे । त्यो गाउको वर्णन र सम्मान गर्न तयार पारेको लेख हो यो ।

अनि मनमनैं पुकारें । सबै यात्रुको जिज्ञासा र रहर उहि हो । राम्रो कुरा देख्न मन लाग्ने । असल कुरा सुन्न मन लाग्ने । नौलो र सुखद् अनुभूत् लिन मन लाग्ने । नयाँ पाठ सिक्न मन लाग्ने ।

Majhi Gaun, Ramechhap

प्रकृतिको काखमा सानो स्वर्ग जस्तो गाउँ

मुलकोट पारी कोशी किनारामा सानो खिडका भन्ने माझी गाउँ । स–साना चिटिक्क परेका घरहरुको सुन्दर बस्ती । गाउको माथि हरियो वन–जंगल र खर्क । गाउको पूर्व नजिकै उर्बर खेत । घर वरिपरि करेसाबारी र बंगैचा । गाउको नजिक हिरा जस्तो टल्किने बालुवाको कोसी किनार । कोसी किनारसंग जोडिएको निलो सफा पवित्र पानीको कोसी नदी । कोसी नदी माथि आकाशमा तुर्लुङ्ग तैरिरहेको झोलुङ्गे पुल । पुल तर्नासाथ बि पि राजमार्ग । कोशी होस्, अथवा किनारा, वनजंगल होस् अथवा खरबारी, घरवारी होस् अथवा खेतबारी सबै १५ देखि २० मिनेटको दूरिमा ।

अम्बा पाकेर लटरम्म । मेवा पाकेर चराहरुले घाउ बनाएको । बारीमा सिमी बोडी लटरम्म ।
घर माथि जंगलमा सेतो पुच्छर हल्लाउदै रतुवा मृग चरिरहेको । रतुवालाई साथी कालिज को हुल । खेतमा पंक्षीहरुले सुमधुर धुनको संगीत भरिरहेका । कोशी नदीमा बकुल्ला, हाँस र किङ्ग फिसरको राज ।

खरबारीमा गाई बाख्रा निस्फिक्री चरिरहेका । बाख्रा गोठालो नचाहिने । दिनभरि चरण सकेर उनीहरु कोसीको जल पिएर आफै खोरमा आउने सांझमा ।

कोसी किनारमा बिचभलिवलको ग्राउण्ड । नजिकै फुटबल ग्राउण्ड । रुखमा परालका कुन्युहरु ।

Majhi Gaun, Ramechhap

जन्म गाउको याद

धेरैका गाउको वर्णन यस्तै उस्तै होला । आफ्नो गाउको वर्णन मिल्दोजुल्दो थियो । कोसी नदीको ठाउमा स्यार्ने खोला । माथि घना जंगल । चुहानडांडा र सिरान चौरमा गाईवस्तु चरण । बीचमा पाखा बारी । पुच्छरमा टारी खेत । खेतमा कुलो नै कुलोको तांती । मंसिरमा पंहेलपूर लहलह धान ।

टारी खेतमा घर नहालियोस् भन्ने आफ्नो चाहना धानको भकारी नमासियोस् भनेर । प्राकृतिक सौन्दर्यता बिग्रेर कुरुप नहोस् भनेर । सबैलाई हार गुहार गरें । सम्झाई बुझाई गरें । उत्ताउलो विकास पुगिहाल्यो । बनमारा बाटोले लगेको विकास । वन जंगलपनि सफाचट् । टारी खेतपनि कुरुप ।

हाम्रो जंगल विशाल थियो । रिषिबसे डांडा देखि धैरेनी टुनिबोटे हुंदै दुबेसम्म फैलिएको । संरक्षण क्षेत्र घोषणा गरेर रक्षा गर्न पाए लाग्ने । धेरैलाई आग्रह गरें । नमूना संरक्षण क्षेत्र बनाउन आफू योगदान गर्न तत्पर रहेको कुरा सुनाए । श्रोत साधन लगानी जुटाउने साहस देखाए । बाख्रा संगै चर्ने ती मृग, खरायो, दुम्सी, सालक, स्याल र कालिज तथा पंक्षीहरुको संरक्षण होस् भनेर ।

अर्को जन्म र कर्म गाउ रुम्जाटारको सौन्दर्यता वर्णन गर्न छुट्टै प्रयास गर्ने छु । बिछट्टै राम्रा गाउहरुको माला हो नेपाल ।

Pakhe, Okhaldhunga

ढुङ्गखर्कको याद

द्वन्द्वकालको राप । विद्रोहीले खुट्टा नटेकेको गाउ देखाउन लगे एकजना मित्रले । त्यो गाउ होईन स्वर्गको टुक्रा रहेछ । वरिपरि पहाड । धुपिसल्लाको सदाबहार हरियो जंगल । बीचमा सानो कचौरा आकारको सुन्दर गाउँ । घर वरिपरि लहलह धान झुल्ने खेत । खेतको बीच भागमा छङ्ग छङ्ग खोला । अर्गानिक उत्पादनको राजधानी । पशुपालनलाई स्वर्ग । हरेक घरमा दुध दहि घिउ को पौल । हरेक घर धुरि शान्त र सम्पन्न । पूरै गाउँले एक भएर द्वन्द्वकालमा विद्रोहीलाई खुट्टा हाल्न त के टाढाबाट चियाउन समेत नदिएको गाउ रे । मैले पत्याए ।

आफूलाई माथि डाडाबाट प्यारा ग्लाईड गरेर स्वर्गलाई परिक्रमा लगाई लगाई हेर्ने धोको जाग्यो । प्रकृतिको उपहार गाउ । स्वर्गभन्दा सुन्दर ।

मित्रलाई सुझाएं– “सुन्दर शान्त एक ढिक्का जस्ता स्वाभिमानी गाउलेहरुलाई स–सम्मान सलाम । भविष्यमा विद्रोह जुलुसको बाछिटा पर्न नदिनु । विकासे सडक आउला र जंगल सखाप पार्ला । युरोपको जस्तो शीतोष्ण कोणधारी हरियो जंगलको एउटा रुख काट्न नदिनु । अर्गानिक उत्पादनको पहिचान कायम राख्नु । आत्मनिर्भरताको तागत् र स्वाभिमान चरित्रलाई जोगाईराख्नु ।”

मित्रले गा.वि.स अध्यक्षलाई भेटाईदिए । प्राकृतिक छटाले सुन्दर गाउका अध्यक्ष ज्यादै सुखी, खुशी र हसिला देखिन्थे । प्रकृतिको तागत् र चमकले उनी धपक्कै बलेका देखिन्थे । उनले सुझाव मागे । मैले उत्साहित् हुंदै सुझाएँ–
“प्रकृतिको काखमा अवस्थित यो गाउको प्राकृतिक सौन्दर्यता कायम राख्नुहोला । यसलाई नेपालकै एक नम्बर अथवा पहिलो गाउँपालिका बनाउनु होला । तपाई केन्द्रलाई नमूना देखाउनुहोस् । सम्वृद्धि ओईरिने छ । मेरो शुभकामना ।”

काठमाण्डौबाट ९० मिनेटको दूरिमा काभ्रे जिल्लामा रहेको यो स्वर्गमा म प्रकृति र शान्ति खोज्न पछि पनि पटक पटक पुगें ।

Dhungkharka, Nepal

गाउ फर्क अभियान

कोभिड–१९ महामारीले जारी गरेको मार्ग निर्देशन र देखाएको बाटो (रोडम्याप) गाउ फर्क अभियान हो । राजा महेन्द्रवको दूरदर्शीतामा कसी लाउनु नपर्ने दूरगामी दूरदृष्टि भिजन ।
जाबो ७५३ गाउपालिका बनाउन कुन पर्लयको कुरा भयो । वैदेशिक रोजगार, कृषि ऋण, अर्गानिक उत्पादनको माग,
युवाको हिम्मतले स्वर्गजस्तो गाउ बनाउन कठिन देखिदैन । त्यसैले शहरमा अलमल गर्नु अथवा भुलिनु र केन्द्रको जात्रा हेरेर कुरा काटी बस्नुभन्दा आफ्नो ठाउ सजाउन गाउ फर्कनु धेरै श्रेयश्कर र पवित्र विचार ।
चार प्लस एक पाच जनाको ड्राईभर, नर्स, गार्ड र काउन्सिलर नभएको भए म आफ्नो गाउलाई १ दिन छाड्ने थिईन । अस्पताल र डाक्टरसँग निर्भर यी वृद्ध–वृद्धाहरुको सेवालाई आफूले पवित्र र अहोभाग्य ठानेको छु । शहरमा अड्किने आफ्नो बाध्यता जस्तै धेरैका आ–आफ्ना बाध्यताले गहिरो चाहना हुँदाहुँदै गाउँ फर्क अभियान सफल हुन सकेको छैन होला । बाध्यता बिनाको जनशक्तिले गाउँ फर्किएर गरेको प्रगति प्रशंसनीय मात्र होईन कदरयोग्य छ ।

तगारो र निकास

बिडम्बना, परिवर्तन सँगै आयातित विकृति र विसंगति ठूलो तगारो भएको छ । सामाजिक, सांस्कृतिक, धार्मिक, लैङ्गिक, जातीय, क्षेत्रीय विद्वेष र विभेदलाई गाउँमा छिर्न र विभाजन गर्न दिनुहुँदैन थियो । शान्ति र विकासमा सबै बीच ससम्मान सहमति, ऐकबद्धता, हार्दिकता र एकता कायम रहनुपर्ने थियो ।

भ्रष्टाचार अर्को डरलाग्दो रोग हो । गाउँलाई भ्रष्टाचारमुक्त राख्ने हो भने सम्वृद्धिले छिटै हाम फाल्ने अवस्यम्भावी थियो । प्रकृतिविरोधी पानी फोके विकास अर्को बाधक हो । त्यो विकासमा टेकेर जसको शक्ति उसको भक्ति शैलीमा जारी प्राकृतिक श्रोत साधनको दोहन र लुटपात् अर्को दुर्भाग्य हो । प्रकृति समाप्त पारेर बनाएको गाउँलाई विपद्ले कष्ट र काल ल्याएर हैरान पार्दछ । भावी सन्ततीलाई जोखिमै जोखिमको भारी बोकाउदछ । प्रकृतिप्रेमीहरुको प्रकृतिमैत्री गाउँ समय र भावी सन्ततिहरुको माग हो । प्राकृतिक छटाले सिंगारिएको स्वर्णीम गाउँ पर्यटक अतिथिहरुको चाहना हो । प्रकृतिको धनी देश गरिब हुनै सक्दैन । प्रकृतिको महिमा नगाउने, प्राकृतिक सम्पदालाई पहिचान र सदुपयोग गर्न नसक्ने तथा प्रकृतिको सर्वोच्चता स्वीकार नगर्ने हाम्रो दरिद्र चरित्रलाई सजाय पो हो कि गरिबी ? प्राकृतिक सौन्दर्यता जैविक विविधताको धनी देश नेपालको रक्षा, व्यवस्थापन र सम्वृद्धि धेरै सरल संभव र सुनिश्चित छ एकजना निस्वार्थ दूरदर्शी र त्यागी राजनेताको निमित्त ।

अन्त्यमा, ७५३ गाउँपालिकाको मोती जस्तो मालाले मुलुकलाई स्वच्छ सफा, सुन्दर–शान्त–विशाल बनावस् । गाउँपालिकाहरु प्रकृति र वातावरण लगायत धर्म, संस्कृति, एकता रक्षाको नमूना हेर्ने पर्यटकहरुको दूर्लभ गन्तव्य बनून् । अतिथिहरुले पाईला–पाईलामा प्रकृतिको रक्षा एंव सुवास अनुभूत गर्न पाउन् ।

जय गाउँपालिका । जय प्रकृति संरक्षण ।।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!