अहा ∕ कति पवित्र कान ।
एकपछि अर्को शुभ–समाचारको श्रवण गर्न पाउदा कान हर्षबिभोर भएका छन्। पछिल्लो शुभ समाचारले प्रकृति संरक्षणको उज्वल भविश्य उदाएको अनुभूत भएको छ ।

पुरस्कृत संस्थाको गौरवको गाथा र बधाईको सन्देशलाई लिपिबद्ध गरेर उत्तरोत्तर प्रगतिको कामना गर्न यो आलेख पस्किएको छु ।
सकरात्मक सोचको अभियन्ता भएकोले कानले सुखद् र सफल कथाहरु सुन्न माग गर्दछ । आँखापनि उस्तै स्वार्थी छन्: राम्रा र असल कामहरु, मनोरम दृश्यहरु एवं हाँसो र खुशीहरु मात्र देख्न माग गर्दछन् । सबै ईन्द्रीयहरुको मनोविज्ञान बुझ्दै जाने हो भने ती सबै राम्रो मिठो मात्र खोजी गर्ने स्वार्थी देखिन्छन्।

नेपाल प्रहरीको सि.आई.बि.लाई ‘एशिया ईन्भाईरोमेण्टल अवार्ड–२०२०’ प्राप्त भएको छ । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम (युनेप) ले यु.एन.डि.पि, ईण्टरपोल, साईटिस् लगायतका अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेर नेपाल प्रहरीको सि.आई.बि.लाई उक्त सम्मान दिने निर्णय गरेको हो । विश्व वन्यजन्तु दिवस २०२१ को पूर्व सन्ध्यामा प्राप्त यो अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारले मुलुकको छवि माथि उठाएको छ । “पृथ्वीका सबै जीवहरुको सुरक्षा” यो दिवसको नारा रहेको छ । सि.आई.बि.लगायत वन्यजन्तु संरक्षणमा समर्पित सम्पूर्ण सरकारी, गैरसरकारी निकायहरु एवं स्थानीय समुदायहरुको योगदान र त्यागको यो दिवसको अवसरमा उच्च मूल्यांकन गर्न चाहन्छु ।

CIB Nepal Police was awarded by UNEP in 2018.

यो पनि पढ्नुहोस:हाम्रो बाघ : मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली

युनेपले यो वर्ष अन्तर्राष्ट्रिय कुख्यात वन्यजन्तु तस्करलाई पक्राउ अनुसन्धान र जेल चलान गर्न उल्लेखनीय योगदान गरे बापत सि.आई.बि.का प्रहरी निरीक्षक सुदर्शन पन्थी र नायव निरीक्षक विरेन्द्रसिंह जोहारीलाई यो अवार्ड दिने निर्णय गरेको हो ।

क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ संस्था लगायत ईण्टरपोलको सर्वाधिक खोजी सूचीमा रहेका कुञ्जोक लामाको टोली पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २३८ थान र बाघको हड्डी ११३ किलो केरुङ्ग हुंदै चीनको तिब्बतमा तस्कर गर्दा गर्दै २०६२ भाद्र १६ देखि उक्त तस्करीका माष्टरमाईण्ड अथवा नाईके कुञ्जोक लामा भने फरार थिए ।

विभिन्न नाम–उपनाम, भेष–भुषा र परिचयपत्र नागरिकता भएका उनलाई सि.आई.बि.ले एकीन गरेर यहि असार ११ गते बौद्ध स्थित सिमलटारबाट पक्राउ गरी लामटाङ्ग राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

सि.आई.बि.को यो साहसिक कामको भारत लगायत अन्तर्राष्ट्रिय संघ–संस्था र प्रकृति एवं वातावरणविद्हरुले मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए ।
कुञ्जोकले भारतमा मात्र ६०० बढी बाघको छाला तस्करी गरेको भारतीय अनुसन्धान ब्युरो र वन्यजन्तु अनुसन्धान ब्युरोको रिपोर्टमा उल्लेख छ । साथै कुञ्जोकको संसारचन्द र सहिबर कुरैसी जस्ता ठूला वन्यजन्तु तस्करहरुसँग नेटवकिङ्ग भएको खुलेको छ ।

ईण्टरपोलले लामो समयदेखि रातो सूचीमा राखेको अभियुक्तको यो पक्राउले अन्तर्राष्ट्रिय वन्यजन्तु अवैध व्यापारको मुहान सुक्ने संरक्षणविद्हरुको अड्कलबाजी छ ।

धन र शक्तिका प्रभावमा पुनरावेदन दिएर फुत्किन खोजेपनि पुनरावेदन र सर्वोच्च अदालतले सुनुवाई नगरेर बदर गरेपछि नेपालको संरक्षण संयन्त्र भरपर्दो र विश्वसनीय छ भन्ने सकरात्मक सन्देश प्रवाह भएको छ अन्तर्राष्ट्रिय संरक्षण समुदायमा । नेपालको प्रकृति र संरक्षणप्रेमी न्यायिक निकायलाई मेरो स–सम्मान सलाम ।

वन्यजन्तु चोरी शिकार र वन्यजन्तुको अवैध अंग व्यापार नेपालमा हुन सक्दैन भन्ने विश्वास दिलाएको छ सि.आई.बि.ले ।

सि.आई.बि.का होनहार संरक्षणकर्मीको अनवरत मिहेनत, पारदर्शी र दुरुस्त अनुसन्धानलाई पनि स–सम्मान सलाम । नेपालको वन्यजन्तु संरक्षणलाई साथ सहयोग र उत्कृष्ट मूल्यांकन गर्ने युनेप, साईटिस, ईन्टरपोल लगायत सम्पूर्ण विश्व संरक्षण संघ संस्थाहरुलाई पनि स–सम्मान सलाम ।

यो पनि पढ्नुहोस:प्यारी छोरीलाई पत्र

उपलब्धि अनेक पुरस्कार एक

कोभिड १९ महामारीको चापाचाप । नेपाल प्रहरीको लकडाउन डिउटी । दिन रात सडकमा ठण्डाराम । अनिदो र भोकभोकै निर्वाह गरेको त्यो उद्धार डिउटीको जति प्रशंसा गरेपनि कमै हुन्छ । ती सबै कठिनाईको बाबजुद सि.आई.बि.को वन्यजन्तु पिलार बिलकूल अविचलित रहेर वातावरण तथा वन्यजन्तु संरक्षणको काममा एकलव्य अनुगमन, निगरानी र अनुसन्धान गरिरहेको थियो । मध्य लकडाउनमा सि.आई.बि.ले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरको ठूलो माछा समातेर किर्ति राख्यो । साना माछा समाउने उसको रुटिन धन्दा अनवरत जारी छदै थियो । लकडाउनमा बाघको छालाहरु लगायत वन्यजन्तुको अंग बरामद सहित तस्करहरु पक्राउ परेका परै थिए । हालैमात्र चितवन राष्ट्रिय निकुञ्जका गैंडा शिकारीहरुको नेटवर्कलाई पक्राउ र अनुसन्धान गरी कानूनको दायरामा ल्याउन सि.आई.बि.ले अभूतपूर्वक योगदान गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण अभियानमा सि.आई.बि.को यी योगदानहरु अविस्मरणीय त रहने छन् नै, सुनौलो अक्षरले पनि लेखिने छन् ।

गोपनीयताको जरुरी, अनुसन्धान तार्किक निश्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता, नेटवर्किङ्ग पहिचानको महत्व, फलो–अप अपरेशन आदिले गर्दा आन्तरिक र राष्ट्रिय उपलब्धिहरु ओझेलमा पर्ने नै भए । पक्राउ र छोटो अनुसन्धानको सामान्य प्रक्रिया पूरा गरेपछि विस्तृत अनुसन्धान र मुद्दाको लागि अभियुक्तलाई निकुञ्ज अथवा वन कार्यालयलाई बुझाउनुपर्ने कानूनी प्रावधानले पनि सि.आई.बि. का गहन र महत्वपूर्ण उपलब्धिहरु ओझेलमा परेका परै छन् । तमाम उपलब्धिका बाबजुद हालै प्राप्त अन्तर्राष्ट्रिय पहिचान र सम्मानले सि.आई.बि.को पसिना र त्यागको कदर भएको छ । वन्यजन्तु पिलारको हौसला र मनोवल बढेको छ । संस्थागत गरिमा बढेको छ । राष्ट्रिय संरक्षण गौरव अभिवृद्धि भएको छ ।

तनाव र अभावको दामी काम

कोभिड–१९ को तनाव एकातिर । राष्ट्रिय राजनीतिले हैरान पारेको ओभर स्ट्रेचिङ्गको दबाब अर्कोतिर ।

वन्यजन्तु संरक्षणको लागि विश्व वन्यजन्तु कोषले उपलब्ध गराउदै आएको सहयोग बन्द भएको करिब ४ वर्ष भईसक्यो । सि.आई.बि.ले श्रोत–साधन, बजेट अभावको बाबजुद काम र धर्म निभाउन पटक्कै कञ्जुस्याँई गरेन । बरु मिहनेत, जांगर र साहसिक संकल्पलाई दोब्बर तेब्बर बढाएर लग्यो ।

फिल्डको तीव्र काम र राम्रो परिणाम माथि परिणामले उसको लगन, एकाग्रता र संकल्पलाई पुनरपुष्टि गर्दछ । आफ्नो जिज्ञासा ; सि.आई.बि.लाई आवश्यक श्रोत साधन, बाहिरी देशको तालिम र एक्स्पोजर तथा पर्याप्त बजेट दिनसके अझ कति उत्कृष्ट परिणाम आउने थियो होला ।
लकडाउनलाई धेरैले राष्ट्रिय ठगीको बहाना बाजी बनाए । तर सि.आई.बि.ले फिल्ड र कार्यालय अथवा ईनडोर आउट्डोर दुवै कामलाई तिव्रतासाथ अगाडि बढाईरह्यो । ‘संरक्षणले १ मिनेट पर्खदैन’ भन्ने कहावतलाई आत्मसात् गरेर लकडाउन विश्रामलाई उसले शक्तिमा परिणत गर्‍यो । त्यसको प्रत्यक्षदर्शी साक्षी हुन पाउदा पंक्तिकारलाई गौरव बोध भएको छ ।

यो पनि पढ्नुहोस:मेरो प्यारो अन्नपूर्ण

राष्ट्रिय म्याचिङ्ग पुरस्कार

सि.आई.बि.लाई संरक्षण खम्बा नेपाली सेनाले सैनिक कदर गर्नुपर्दछ । तत्काललाई प्रधानसेनापति प्रशंसा पट्टको कदर बान्छनीय हुने छ । त्यसैगरी संरक्षण छाता संगठन राष्ट्रिय निकुञ्ज र वन विभागको कदरले सि.आई.बि.को हौसला अरु बढाउने छ ।

वन तथा वातावरण मन्त्रालय हुंदै राष्ट्रिय सम्मानको समेत हकदार छ यो होनहार सि.आई.बि.को पिलार ।

सबै पुरस्कारको बाबजुद आफ्नो मातृ संगठनको कदर र पुरस्कार सबैभन्दा बढी वजनदार र महत्वपूर्ण हुन्छ । व्यावशायिक वृत्ति विकासको लागि मद्दतगार र जग निर्माण गराउदछ । वृत्तिविकास अंक बढाउने अनेक आन्तरिक विकल्पहरु हुन सक्दछन् संगठनभित्र । तर राष्ट्रिय गौरव बढाउने उत्कृष्ट कामको स्यावासीस्वरुप कदर गर्न संगठन सर्वप्रथम तत्पर र अग्रसर हुनुपर्दछ ।

स–सम्मान आभार सहित बधाई

स्थापनाकालको छोटो समयमा सि.आई.बि.ले हात लगाएका सफलता र उपलब्धिहरुको फेहरिस्त धेरै लामो छ । आजसम्म द्वन्द्वको धङ्धङीमा मच्चिरहेको र संक्रमणबाट गुज्रिरहेको मुलुक नेपालको ‘प्रकृति संरक्षण महाअभियान’ सफल र नमूना सिद्ध भनेर विश्वले मानेको छ । यो श्रेय कमाउने एउटा दरो राष्ट्रिय खम्बा नि:सन्देह सि.आई.बि.हो । हिजो ‘शून्य शिकार’ उपलब्धि हासिलको महत्वपूर्ण श्रेय पनि हामीले सि.आई.बि.लाई दिएकै हो । प्रकृति संरक्षण जिम्मेवारीमा सि.आई.बि.माग गर्ने र वन्यजन्तु पिलार खडा गर्न आवाज उठाउने संस्थापक सदस्यको हैसियतले पंक्तिकार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित यो संस्थालाई अन्तरात्मादेखि ससम्मान आभारसहित हार्दिक बधाई दिन चाहन्छु । र, अझ गर्न धेरै काम बाँकी रहेको परिप्रेक्षमा यो सम्मानले गर्विलो उर्जा प्रदान गरोस र भविष्यमा उत्तरोत्तर प्रगति भईराखोस भनेर शुभकामना दिन चाहन्छु ।

अपेक्षाको खात्

कार्यदक्षता, विश्वसनीयता, अनुसन्धान क्षमता र सक्रियताको मापनमा नेपाल प्रहरी विश्व प्रसिद्ध छ । यो संस्थालाई अराजनीतिक राख्ने र श्रोत साधन सम्पन्न गरेर स्वतन्त्रसँग काम गर्न अनुकूल वातावरण बनाईदिने हो भने यसले सर्वत्र विश्व रेकर्ड राख्ने अवस्यम्भावी छ । जसरी सि.आई.बि.ले बारम्बार विश्व किर्तिमान कमाएको छ । सन २०१८ मा भारत तस्कर गर्न लागेको ५ वटा जीवित चिङ्गपान्जीलाई विमानस्थलमा पक्राउ गरेर नेपाल अवैध वन्यजन्तु तस्करीको ट्रान्जिट् पोइण्ट र ट्रान्जिट् रुट हुन सक्दैन भन्ने शक्तिसाली सन्देश दिएको थियो । उक्त साल पनि सि.आई.बि.संयुक्त राष्ट्र संघको युनेपद्वारा सम्मानित र पुरस्कृत भएको थियो ।
नेपालको संरक्षण छवि चम्काईदिएको थियो । त्यसको अलवा विश्व वन्यजन्तु कोषको अब्राहम कन्जरभेसन अवार्ड लगायत धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत सि.आई.बि.ले थप उर्जाशील भएर गर्नुपर्ने कामहरु धेरै छन् । मुख्य कामहरुलाई बुदागतरुपमा उल्लेख गर्न चाहन्छु–
पहिलो, सि.आई.बि.मात्र होइन सबैभन्दा तल्लो तहको स्थानीय सरकारसँग दूरदराजमा भिजेर बसेको प्रहरी संगठन एउटा सचेत,सतर्क र जिम्मेवार प्रकृति एवं वन्यजन्तु संरक्षक हुन जरुरी छ । राष्ट्रिय जिम्मेवारी र कानूनी हैसियत तथा म्याण्डेट खोजेर मागेर होइन स्वस्फूर्त (भोलेण्टियर) आफसेआफ् होमिएर असल र जवाफदेहि संरक्षणकर्मीको पहिचान बनाउदै उद्धारमा जस्तो वन्यजन्तु संरक्षणमा संरक्षण साझेदारकोरुपमा सम्पूर्ण संगठन एकीकृत रुपमा होमिन सक्ने वातावरण बनाउनुपर्दछ सि.आई.बि.ले ।
त्यही डिग्रीको ज्ञान, सचेतना, तत्परता र जवाफदेहिता प्रदर्शन गर्नुपर्दछ मुलुकभरि र विशेषत: अन्तर्राष्ट्रिय सीमाना तथा भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरी बल संगठनले ।

धेरै माथिल्लो स्तरको संरक्षण ज्ञान, सचेतना, तत्परता र जवाफदेहिता देखाउनुपर्दछ ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले । निकुञ्ज आरक्षमा तैनाथ फौजले मात्र होइन समग्र संगठनको संरक्षण प्रतिबद्धता र जवाफदेहिताले मात्र प्रकृति संरक्षण जिम्मेवारीलाई सफल बनाउन सकिन्छ।

राष्ट्रिय अनुसन्धान विभागको प्रकृति संरक्षण भूमिका उत्तिकै महत्वपूर्ण हुने छ।

यी सबै संगठनलाई वन्यजन्तु अपराध अनुसन्धानको तालिम र अभ्यास दिएर टीम बिल्डिङ्ग र टीमवर्क अभ्यासको पहलता लिनुपर्दछ सि.आई.बि.ले । यो महत्वपूर्ण तर संवेदनशील तालिम र अभ्यासको संयोजन सहजिकरण र अगुवाई गरिदिनुपर्दछ नेपालीसेनाले ।

वन्यजन्तु अपराधका घटनाहरुमा निकुञ्ज र वन कार्यालयलाई दुरुस्त टेक्निकल एनालाईसिस गर्न विशेषज्ञ उपलब्ध गराएर टेक्निकल सपोर्ट उपलब्ध गराउनुपर्दछ । तर यो सहयोग माग गर्ने र लिने काम निकुञ्ज र वन निकायहरुको हो । प्राय: आईसोलेसनमा गोप्यसँग काम गर्ने प्रवृत्तिले विज्ञता प्रयोगको एउटा पाटो छुट्ने गरेको र मुद्दा दायर कमजोर हुने गरेको गलत अभ्यासबाट पाठ सिक्न बिलम्ब भईसकेको छ ।

वन्यजन्तु अपराधको नेटवर्किङ्ग क्षेत्रीय हुंदै अन्तर्राष्ट्रिय सम्म हुने सत्यलाई मनन र आत्मसात् गरी त्यस्ता कुख्यात् अपराधी र तस्करहरुको अनिवार्य डाटाबेस बनाई गोप्य अभिलेख राख्नुपर्दछ । हरेक देशले अपनाएको यो अनिवार्य अभ्यास आजसम्म हामीले शुरु नगर्नु बिडम्बना हो । निकुञ्ज र वन ऐनले नेपाल प्रहरीलाई चिन्दैन । तर अब वन्यजन्तु अपराध नियन्त्रणको कानूनी म्याण्डेट दिएर सि.आई.बि.लाई अझ सशक्त र सर्वव्यापी बनाउनुपर्दछ । डाटाबेस बनाउने यो राष्ट्रिय अभिभारा अविलम्ब सि.आई.बि.लाई दिनुपर्दछ । सि.आई.बि.लाई यो महत्वपूर्ण जिम्मेवारी दिने काम वन तथा वातावरण मन्त्रालय र निकुञ्ज तथा वन विभागको हो ।

अन्त्यमा, प्रकृति संरक्षण विश्वको नयाँ र चर्चित एजेण्डा हो । यो एजेण्डा म्याण्डेट् र लिखित आदेशले भन्दा पवित्र भावना र रगतको तागतले डटेर पूरा गर्ने हो । सबै राष्ट्रिय सुरक्षा अङ्गहरुको एकीकृत र स्वस्फूर्त पहलले प्रकृतिरक्षा संगसंगै राष्ट्रिय सुरक्षाको साझा उद्देश्य हांसिल हुने भएकोले टीमबिल्डिङ्ग र टीमवर्कको आवश्यकता माथि जोड दिईएको हो । सि.आई.बि.लाई थप सफलता र विजयको लागि पुन: बधाई र शुभकामना ।

(लेखक पूर्व राष्ट्रिय निकुञ्ज निर्देशक हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

यो हेर्नु भयो?

Rajesh Hamal with Twins | राजेश हमाल को काखमा जुम्ल्याहा


Like it? Share with your friends!