Mom and Calves.

१५ बर्ष अगाडि भारतको सारिस्का नेशनल पार्कबाट एक्कासी पाटे बाघ हराउँदा हिन्दुस्तान भरि हाहाकार मच्चियो।

सन् २००५ मा २८ हुँदै १७ बाघको प्रतिवेदन दिदै गर्दा नेशनल पार्क खाली भइसकेको खुलासा भयो ।

राजस्थान सरकारले तुरुन्त छानबिन समिति बनायो । छानबिन समितिमा केन्द्रले प्रभावशाली वन्यजन्तु संरक्षणविज्ञ वाल्मिक थापरलाई राख्न लगायो । भा.ज.पा.का माननीय भि.पि. सिंहको पनि समितिमा सहभागिता रह्यो । समितिले तत्काल बाघ हराउनुका विविध पक्ष र कारण पत्ता लगाए ।

घुमाई फिराई ‘चोरी शिकार’ प्रमुख कारण औंल्याइयो । त्यतिले मात्र पुगेन । केन्द्रले एफ.बि.आई.को सि.बि.आई. लाई परिचालन गरेर भित्रि गुप्त कुरा पत्तो लगाउने मिशन दियो । सि.बि.आई. ले ७६५ वर्ग कि.मि क्षेत्रमा चप्पा चप्पा गोप्य अनुसन्धान जारी राख्यो । बाघ टास्क फोर्स र विभिन्न ईण्टेलिजेन्स च्यानलबाट प्रधानमन्त्रीले सत्य तथ्य पत्ता लगाए–

Rhino grazing in Chitwan National Park.

“भ्रष्टाचारमा लिप्त प्रशासनको सुस्तता, उपेक्षा, मिलोमितो र फितलो व्यवस्थापन एवं संरक्षण कार्यले गर्दा बाघको चोरी शिकारी मौलायो । घरपाल्तु जनावर बेट राखेर र मेटल ट्रयाप बिछ्याएर बाघको चोरी शिकारी हुँदा प्रशासन कानमा तेल हालेर बेखबर जस्तै बस्यो । त्यतिमात्र होइन, प्रशासनले बाघको व्यवस्थापन र संरक्षण दुवै राम्रो छ र बाघको संख्या बढिरहेको छ भन्ने उल्टो झुटो प्रतिवेदन दिईरह्यो । त्यो गल्ती ढाकछोप गर्ने झन् ठूलो महागल्ती थियो ।”

समितिको त्यस्तो सही र कडा सिफारिसमा नामर्द प्रशासनका सबैको जागिर चैट् भयो । अनुसन्धानको दायरा बढाउदै जाँदा चोरी शिकारी र अपराधीहरु धमाधम पक्रउ परे । चोरी शिकारीको ‘मोडस् अपरेण्डी’ पत्तो लाग्यो र त्यसको आधारमा ‘प्रभावकारी संरक्षण मोडल’ तर्जुमा गर्न सजिलो भयो ।

अध्ययनले सन १९९५ देखि २००५ सम्ममा भारत मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा वन्यजन्तुको अवैध व्यापार बढेको र फिल्डमा चौतर्फी चोरी शिकारीको समस्या विकराल भएको तथ्य सार्वजनिक गर्‍यो । कथित् जनयुद्धको त्यही १० वर्षे अवधिमा नेपालमा १७ हजार निर्दोष जनता संगसंगै सयौंको संख्यामा बाघ गैंडा लगायतका वन्यजन्तुहरु मारिएका थिए । अध्ययनले नेपाल र भारत दुवै देशमा सशस्त्र माओवादी समूह दूर्लभ वन्यजन्तुको चोरी शिकार र अवैध व्यापारमा संलग्न रहेको अर्को तथ्य सार्वजनिक गरिदियो ।

Author’s Love for Rhino.

भारतीय प्रधानमन्त्रीका विश्वास पात्र अन्तर्राष्ट्रिय संरक्षणविद् थापर रहेको शक्तिशाली समितिले बाघ हराएको र पुनरस्थापना गरेर बीउ जोगाउन ज्यादै कठोर र भरपर्दो संरक्षण आवश्यक रहेको सिफारिस गर्‍यो । नेशनल पार्कहरुमा रातो बत्तीको अलाराम लाग्यो र भारतको संरक्षण इतिहासमा पहिलो पटक निकुञ्ज प्रशासनको १२ बज्यो । धिङ्नी टाईट् गरियो । केन्द्रिय पहल र प्रयासमा ‘टाईगर रिकोभरी प्रोजेक्ट’ लञ्च गरियो ।

कति प्रकृतिप्रेमी संवेदनशील र जवाफदेहि सरकार प्रमुख । कति चुस्त र विज्ञ प्रभावशाली छानबिन समिति । छिनमा अध्ययन, छिनमा सिफारिस, छिनमा कार्वाही, छिनमा प्रोजेक्ट तर्जुमा र सञ्चालन । अहिले सारिस्कामा ५ वयस्क भाले, ११ पोथी र ५ वटा बच्चा पाटे बाघले खुसी सुखी र शान्त जीवन बिताइरहेका छन् ।

Mom and Calves

यो समितिको दुरुस्त छानबिनले भारतको बाघ संरक्षणको क्षेत्रमा कायापलट गरिदियो । बाघ हरेक भारतीय नागरिकको मुटुको टुक्रा हो । पर्यापर्यटनको लागि चम्किने मोती हो । सम्बृद्धिको मेरुदण्ड हो । किनभने बाघको संरक्षण हुनु भनेको समग्र प्रकृति र जैविक विविधताको संरक्षण हुनु हो ।

सन् २०१४ मा गणना गरिएको २२२६ पाटे बाघलाई ४ वर्षमा भारतले ३३ प्रतिशत बढाएर २९६७ पुर्‍याएको छ । जुनसुकै दलका जो सुकै प्रधानमन्त्री हुन् बाघ सबैको उपल्लो प्राथमिकतामा परेको भारतको प्रतीक भएको छ । फिल्डमा चुस्त र जवाफदेहि प्रशासनले गहिरो र अर्थपूर्ण संरक्षण योगदान र त्याग गरिरहेको छ ।

नेपालको बाघ संरक्षण हालत

जनयुद्ध प्रारम्भ हुनु अगाडि नेपालको निकुञ्ज ऐन कानून नीति र संरक्षण मोडल नमूना थियो । भारतले समेत हाम्रो संरक्षण मोडलको तारिफ र नक्कल गर्दथ्यो । द्वन्द्वपश्चात संक्रमणकाल मै ‘डु अर डाई’ नारा समातेर फिल्डले लिएको बाघ रिकोभरी पहलता सफल हुँदा नेपाललले ५ वर्ष लगातार ‘शून्य शिकार वर्ष’ मनायो ।

भारत लगायत विश्वलाई नेपालले चकित तुल्यायो । त्यो पत्याइनसक्नु अकल्पनीय उपलब्धि थियो । तर फिल्डको मात्र मुढे बलमा हासिल भएको उपलब्धिलाई रक्षा गर्न नेपाल सरकार चुक्दै गयो । केन्द्रको उपेक्षाले फिल्डको हौसला र मनोवललाई अप्रत्यासित घटाईदियो । उपलब्धि फिल्डलाई मात्र चाहिने र केन्द्रलाई नचाहिने सन्देश प्रवाह भयो । केन्द्रमा शासकहरु भ्रष्टाचार विकृति र विसंगतिको भासमा जाकिदै गए । ज्यान जोखिममा राखेर संरक्षण त्याग गर्ने फ्रण्टलाइनर्स फिल्ड स्टाफहरुको चरम उपेक्षा भयो । उनीहरुको चित्त कुंडियो ।

द्वन्द्वमा बाघको बिउ मासिने भयले त्राही त्राही थिए शुक्ला, बर्दिया बाँके र पर्सा निकुञ्ज आरक्षहरु । शून्य शिकार उपलब्धिले बाघको बिउ जोगाउदै संख्या बढाउन थाल्यो । तर केन्द्रमा सरकारलाई हर्ष न बिस्मात् । बरु अन्तर्राष्ट्रिय संरक्षण संघ संस्थाले नेपाल देशलाई कदर र पुरस्कृत गर्‍यो ।

सन् २०१८ को बाघ गणनामा विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जमा २७ वटा बाघ घटेको परिणाम आयो । त्यो कहालिलाग्दो अक्षम्य परिणामको न अध्ययन न अनुसन्धान न छानबिन न कार्वाही ।

त्यही गणनामा बाँके बर्दियाले बाघको संख्यामा उल्लेख्य वृद्धि गरेर देखाए । न स्यावासी न कदर र पुरस्कार ।

चितवन बर्दिया शुक्लामा पाटेबाघले खुल्ला सिमानाको प्रयोग गरेर ओहोरदोहोर गर्दछन् । दक्षिणका बाघ उत्तर नआउने र हाम्रा बाघ पारि गएर वारि नफर्कने संरक्षणकर्मीहरुको गुनासोको न अध्ययन न भेरिफिकेशन न संयुक्त अनुगमन ।

शुक्लाफाँटामा बाघको भाले पोथीको अनुपात मिलेन । पोथीभन्दा भालेको संख्या बढी हुनु र पाटे बाघ पहाड उक्लिएर डडेलधुरा पुग्नुको न अध्ययन न अनुसन्धान ।

बाघ विज्ञहरुको सम्मान परै जावस, न अभिलेख न सोधपुछ् ।

दुर्भाग्य, हाम्रो नमूना संरक्षण ओरालो लाग्दो छ । बाघको रोईकराई छ । उद्धार र संरक्षणको माग र हार गुहार छ । चोरी शिकारी प्रमुख र प्रत्यक्ष समस्या तथा चुनौती भएर खडा भएको छ ।

बिडम्बना ∕ हामी सबै किन टुलुटुलु हेरेर बसेका छौं ? गैंडाको झन् कन्तबिजोक छ । चर्ने घाँसे मैदान छैन । पिउने शुद्ध पानी छैन । घाउ निको पार्न खेल्ने घोल र आहाल छैन । रोग पहिचान गर्ने र उपचार गर्ने निर्माण सम्पन्न भै सकेको ‘एनिमल अस्पताल’ नेतृत्वको मुड् ईगो, अज्ञानता, उपेक्षा आदि आदिले ३ वर्षदेखि उद्घाटन समेत हुन सकेको छैन ।

Animal Hospital in Sauraha, Chitwan National Park.

यही राजनीतिक र प्रशासनिक उपेक्षा सुस्तता र निरिहताको फाईदा उठाएर अहिले चोरी शिकारी सक्रिय भएको र नेपालको प्रतीक गैंडालाई ताकी ताकी हतियारबाट गोली दाग्ने भएको छ । संरक्षण इतिहासमा पहिलो पटक आमासँगै बच्चा गैंडा माथि समेत गोली दागेर मारिएको छ र मसिनो करिब १ ईञ्चको खागको टुसो समेत खुर्किएर लगिएको छ ।

यो सरकार र उसको प्रशासन तथा संरक्षणको जिम्मेवार नेपाली सेना प्रति परिलक्षित पूर्वाग्रह रिस आक्रोस लोभ पापको पराकाष्ठा हो ।
दर्जनौं दुर्लभ गोही शिकारीको पासोमा परेर मृत्यूवरण गर्दा पनि कसैको चित्त नदुख्ने । हिमालमा कठिन जीवन यापन गरिरहेका अवोध कस्तुरी लस्करै निकुञ्ज प्रशासन र ब्यारेक नजिकै चोरी शिकारीको पासोमा जेलिएर मर्दा पनि कसैको मन नछुने । भयो अरु क्षतिको फेहरिस्त यहाँ नपोखौं ।

Rhino in NTNC compound demanding to operate at the “Animal Hospital”

के हामी सबै सगोलमा समूल निरिह र निकम्मा भएकै हौं त ? के हाम्रो मुटु ढुङ्गाको भएकै हो त ? के हाम्रो नैतिकता, साहस, धर्म, विवेक र निर्णयमा बिर्को लागेर लोभी पापीमा दर्ज भईसकेकै हौं त ? होइन भने कति कानमा तेल हालेर बस्ने ? कति र कहिलेसम्म निरिह भएर बेथिति हेरेर बस्ने ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग चरम हेला र उपेक्षामा छ । विज्ञहरुको मन्दिर राष्ट्रिय प्रकृति संरक्षण कोष नेतृत्वबिहिन र अनविज्ञ मन्त्रीको कब्जामा छ । संरक्षण साझेदार संघ संस्थाहरु कोमामा छन् । अवैध वन्यजन्तु व्यापार अनुगमन र नियन्त्रण गर्ने सि.आई.बि.लाई बजेट श्रोत साधन बिहिन बनाएर राखिएको अवस्था छ । संरक्षणको अर्को पिल्लार स्थानीय समुदाय महाउपेक्षित छ । अरु तमाम् बेथितिको पोको नखोलौं ।

प्राकृतिक विपत्ति काम ठग् र बजेट तुर्ने बहानाबाजी भएको छ । लकडाउन निकुञ्ज र वन्यजन्तुलाई बरदान सावित हुँदा कोरोना नआउदै हामीले गैंडा गणनाको पूर्व निर्धारित कार्यक्रम बन्द गरेर जिम्मेवारीबाट भाग्ने काम गर्‍यौं ।

पूर्व छानबिन नजिर

द्वन्द्वपश्चात निकुञ्ज आरक्षमा बाघ हराए रे, गैंडा सकिए रे भनेर जंगी अड्डाले तत्काल छानबिनको लागि दौडाहा डोर खटायो । तत्कालिन प्रधानसेनापति प्यारजंग थापाका युद्धकार्य निर्देशक जर्नेल अमर पन्तले पंक्तिकारलाई मुसा जस्तो हरेक निकुञ्ज दौडाएर गोप्य प्रतिवेदन लिए ।

द्वन्द्वका बाईप्रोडेक्ट र बाछिटा चोरी शिकारीले दिनहु गैंडा शिकार गरे । ३८ गैंडा चोरी शिकारको ऐतिहासिक रेकर्ड बनाए महसुर शिकारीले । अर्का प्रधानसेनापति रुकमाङ्गद कटवालले पंक्तिकारलाई गोप्य मिशनमा खटाएर फिल्डको ईण्टेलिजेन्स हासिल गरे । आफूले चढ्ने गरेको मोटर गस्तीको लागि भनेर कसरा पठाए । निकुञ्जमाथि हवाई गस्ती गरेर शिकारी खोज्ने आदेश थिए । गैंडा शिकार तत्काल रोक्न कडा निर्देशन दिए । त्यसकै परिणाम थियो ‘शून्य शिकार’ उपलब्धि ।

अर्का प्रधानसेनापति छत्रमान सिं गुरुङ्गले चोरी शिकार नरोक्ने कसराको पल्टन खारेज गर्ने ठाडो आदेश दिए । संरक्षणप्रति प्रतिबद्ध नहुने गणपतिलाई जेल चलान गरेर जागिर खोसुवा गरे । उनको गोप्य मिशनले काँसघारी भित्र गैंडा मारेको हरेक स्पटमा पुगेर गोली कसरी कहाँबाट कुन हतियारले कुन गोली दागेको छानबिन गर्‍यौं । पंक्तिकार संयोगले छानबिन सदस्य थिएँ । पल्टनलाई खारेजी हुनबाट बलतल्ल जोगायौं र त्यो युनिटलाई उनले लखेटेर भोजपुर पुर्‍याए ।

पहिला जंगी अड्डाको मन मुटु दुख्दथ्यो । गोप्य ईन्डिपेन्डेण्ट डोर खटिन्थ्यो । त्यसमा राजनीतिक र प्रशासनिक प्रतिनिधि भनेर चरो मुसो राखिदैन थियो । किनभने राजनीतिक र प्रशासनिक विकृति विसंगतिले फिल्डमा समस्या सृजना भएका थिए ।

फिल्डमा डर त्रास थियो । छड्के अनुगमनले उच्च अनुशासन र जवाफदेहिताको माग गर्दथ्यो । अनियमितता र भ्रष्टाचार गर्नेलाई जेलनेल ठोकिन्थ्यो । तर गोपनीयता कायम राखिन्थ्यो ।

जंगी अड्डाले कसैको आदेश ईशारामा होइन, केवल एउटा संरक्षण पिल्लारको हैसियतले स्वविवेक र स्वनिर्णयमा यस्ता छानबिन समिति बनाउदथ्यो ।

सिक्नुपर्ने पाठ

प्रकृति संरक्षणको हकमा वर्तमान नेपाली सेना सुस्त र निरिह देखियो । दुधको साँक्षी भएर हात बाँधेर बस्यो ।

प्रकृति संरक्षण सेनाको प्राथमिक र अनिवार्य जान्नुपर्ने काम होइन । तर यो परम्परागत जिम्मेवारी जस्तै भइसकेको छ । हिजो शून्य शिकार गर्न त्याग गर्ने सेनाले आज शिकार फुक्का भएको टुलुटुलु हेरेर त्यही निकुञ्जभित्र कसरी बस्न सुहाउदछ ।

संरक्षणमा सैनिक नेतृत्वको विशेष ध्यान जान जरुरी देखिन्छ । चौतर्फी सफलता हासिल गरेर चर्चामा आएका सैनिक नेतृत्वको संरक्षण धोती खुस्किनु हुँदैन।

भिजन र सुशासन दिन नसक्ने सरकार र सिभिल सुप्रिमेसीसँग सेना लतारिनु हुँदैन । आखा कान दिमाग नभएको गतिमति पथ भ्रष्ट सबै सरकारको आदेश पालना गर्न जरुरी छैन । उ सँगै भिरको बाटो हिंड्ने र सती जाने धृष्टता कदापि गर्नुहुंदैन । सरकार आदेश दिन योग्य सक्षम र लायकको हुनुपर्दछ । सेना लगायत सबै सुरक्षा निकायहरुले सोच्ने र अड्ने विन्दू आइसकेको छ । बाघ क्षतिको छानबिन सि.आई.बि.ले गरोस् । गैंडा, कस्तुरी, गोही क्षतिको छानबिन नेपाली सेनाले गरोस् । र, प्रकृति संरक्षणको पूर्व नाम र ख्यातिको रक्षा गर्न नेपाली सेनाले स्वविवेकीय स्वनिर्णय र पहलता लेओस् । सेनाले आफ्नो जवाफदेहिता मर्न नदेओस् । चोरी शिकार हुनु भनेको उसको जवाफदेहिता मर्नु हो ।

प्रकृति र प्रकृतिका निधि एवं उपहार राष्ट्रिय सम्पति हुन् । जनताका स्थायी पुँजि हुन् । अन्तर्राष्ट्रिय समुदायलाई अलौकिक प्रसाद हुन् । संसारभरि राष्ट्रिय सम्पदा र श्रोत साधनको जगेर्ना र दिगो रक्षा गर्ने जिम्मेवारी राष्ट्रिय सेनाको हुन्छ ।

तसर्थ, राजनीतिक छाया मुक्त भएर नेपाली सेना बहादुरीका साथ अगाडि बढोस् । ‘बाघ दोब्बर’ नारामा होइन व्यवहारमा उतारेर देखाउन पहलता लेओस् । प्रकृतिलाई न्याय दिन अग्रसर होस् ।

जय प्रकृति संरक्षण ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!