सडकखण्ड मन नपराउने, देख्न नमान्ने र झर्किने रिसाउने मनोविज्ञान लाग्यो बन्यजन्तुको । तैपनि सडक पार गर्नु उनीहरुको बाध्यता हुन्थ्यो सन्तान, आहार घाम–पानीको लागि । बिजुलीको पोल, तार, साईनबोर्ड जेसुकै होस् ती अप्राकृतिक बस्तुले अप्रसन्न बनाउदथे बन्यजन्तुलाई ।

हामीले सम्भव भएसम्म सम्पूर्ण सुरक्षात्मक उपाय अपनायौं सडक दुर्घटना घटाउनलाई । गति सीमितको समय कार्ड सम्मान गर्दथे यात्रु ड्राईभर दुवैले । संरक्षणमैत्री सडक डिभिजनले राजमार्गको दुवैतर्फ ६/६ मिटर ढड्डी सफा गरिरहन्थ्यो । त्यसको २ वटा फाईदा थिए– पहिलो वन्यजन्तुले टाढाबाट राजमार्ग र त्यहाँ गुडिरहेका सवारी साधन सजिलै देख्न पाउदथे । दोस्रो ड्राईभर ह्वात्तै चक्का मुनि वन्यजन्तु आईपुग्ने सरप्राईज र त्रासमुक्त हुन्थे । उनीहरुले वन्यजन्तुलाई टाढै देखेर उसको चाल–ढाल, हर्कत अनुमान लगाउन पाउदथे । घाँस काटेर सफा गरेको सडक किनारामा कलिलो पालुवा खान चित्तलका झुण्डहरु विचरण गरिरहेका हुन्थे । मयुरका बथान चरिरहेका हुन्थे । सडकबाट यात्रुहरुले यो मनोरम दृष्य नि:शुल्क अवलोकन गर्न पाउदथे ।

हाम्रा यी प्रयासका बाबजुद महिनाको १/२ वटा दुर्घटना हुन्थ्यो । २० वर्ष अगाडि २६ महिनाको आफ्नो सेवा अवधिमा हामीले ३३ वटा चित्तल गुमायौं बर्दिया निकुञ्जमा । सोही २० वर्ष पुरानो अनुभव, राजाको सपना र बाघ–मानव द्वन्द्व न्यूनीकरणको सिफारिस गर्ने जमर्को गरेको छु यो आलेख मार्फत।

दाह संस्कारको पाटो

पहिले चित्तलको सिङ्ग निकुञ्ज प्रशासनलाई बुझाउने चलन रहेछ । सिङ्ग काट्ने झिक्ने झण्झट्ले मासुको लोभ जाग्ला भनेर हामीले सिङ्ग समेत ६ बाई ४ को खाल्डो खनेर पुरिदिने गर्‍यौं । दुर्घटना गर्ने गराउने ड्राईभर र यात्रुहरुले पनि खाल्डो खन्न सघाउदथे । पुरेर नजिकको वनफुल र पाती चढाई हामी संरक्षणकर्मी ड्राईभर र यात्रुहरुले संयुक्त श्रद्धाञ्जली अर्पण गर्दथ्यौं । वन्यजन्तुप्रति माया र सम्मान जगाउने तथा क्रस साक्षी बस्ने तरिका थियो त्यो ।
१ दिन निकुञ्जमा भ्रमण गर्ने मन्त्रीले दुर्घटनामा परेको वन्यजन्तुको सुकुटी खान पाउ भनी माग राख्नुभयो । हामीले हाम्रो अन्त्येष्टी विधि सुनायौं र भन्यौं– “त्यो असम्भव छ । त्यो सोच्न सम्म नसक्ने र पाप लाग्ने कुरा हो ।” उहाँलाई हामीले कुखुरा र बोकाको जाँते, टाउको, कर्दिमर्दीले तृप्त पार्‍यौं ।

राजाको सवारी

राजा वीरेन्द्रको सवारी भयो निकुञ्जमा । साथमा भाइ अधिराजकुमार ज्ञानेन्द्र र युवराज दीपेन्द्र अधिराजकुमार निराजन समेतको सहभागिता थियो। ३ वटा कुरा सुनेर देखेर जीवनभरि काम लाग्ने गहिरो पाठ सिक्न पाएं। पहिलो चिन्ता निकुञ्ज वरिपरिका स्थानीय बासीहरुलाई कसरी सम्वृद्धि, सुख र खुशी दिन सकिन्छ भन्ने थियो । दोश्रो चिन्ता, निकुञ्ज भित्रको रेखीय (लिनियर) पूर्वाधारबाट वन्यजन्तुहरुलाई पुगेको बाधा–व्यवधान र क्षति कसरी हटाउन सकिन्छ भन्ने थियो । छिटै राजमार्ग सरेर निकुञ्जको दक्षिणबाट जाने छ भन्ने आश्वासनले हामीलाई खुशी तुल्याएको थियो ।

लामो छलफलको मध्यान्तरमा राजपरिवारले आफ्नो साथमा ल्याएको प्याक लञ्च ज्यूनार भयो । आफूले हतास सरम पोखें–

“सरकार

सेवकलाई लाजको पसारो ।

हामी स्वस्थकर अर्गानिक लञ्च तयार पार्ने थियौं ।”

राजाले मुस्कुराउदै हुकुम भयो–

“निकुञ्जमा अपरेशन व्यस्तता धेरै हुन्छ । लजेष्टिकमा समय खेर फ्याँक्नु हुंदैन । तिमीलाई आज हामीले डिस्टर्ब गर्‍यौं ।”

ती महत्वपूर्ण र सम्वेदनशील पाठहरु मैले कडाईका साथ बांकी सेवा अवधिभरि लागू गरें । निकुञ्जमा मुफतलाल पाहुना नलाग्न र नपठाउन पि.एस.ओज. मिटिङ्गमा नेतृत्व समक्ष अनुरोध गरे र त्यसलाई नीतिमा परिणत गराएं । आफै अत्यधिक भ्रमण गर्ने कमाण्डर हुँदा ब्यारेकको सादा खाना, चीफ वार्डेनको भान्छाको खाना खाएर ब्यारेकभित्र टेण्ट, मचान र काठको हट्मा सुतेर परम सन्तुष्टी लिएं । फिल्डलाई बाधा–व्यवधान, आर्थिक भार नपरोस् भनेर ।

स्थानीयबासीहरुलाई भगवान मानेर उद्धार र सुरक्षा सहयोग पुर्‍यायौं । कानूनमा कडा तर आचरण मिजास र व्यवहारमा नम्र र लचक हुंदा स्थानीयहरुको कांध हात साथ पायौं । राजालाई लागेको रेखीय पूर्वाधारको चिन्ता मत्थर पार्न राजमार्गलाई सफा, सुन्दर, सुरक्षित राख्न हदैसम्मको पहल र प्रयास गर्‍यौं ।
अहिलेका अकल्पनीय र दु:खद् दुर्घटना हेर्दा लाग्छ, उहिले हामीले मिहेनत गरेर बाघ बचाएका र बढाएका रहेछौं ।

बाघको स्वभाव र नाटक

आफू बाघ विज्ञ होइन । तर आफ्नो पहिलो रोजाईको प्यारो वन्यजन्तु पाटे बाघ हो । बाघलाई अनगिन्ती देख्न भेट्न र मनोविज्ञान पढ्न पाएँ । स्वदेशी र विदेशी कुन बाघ बढी भाग्यमानी, खुशी र सुखी भनेर भारतको कतर्नियाघाट, दुघुवा, किसनपुर, पिलभित, जिमकर्बेट बाल्मिकी र प्यान्थमबोर निकुञ्ज एवं टाईगर रिजर्भमा पाटे बाघ हेर्न भनेर गएं र नहेरि फिर्ता भइन । नेपालमा नियन्त्रणमा लिईएका र कैद गरिएका प्राय: सबै बाघलाई हेर्न पढ्न पुगेको थिएं ।

विचित्र स्वभावको बाघ अरु वन्यजन्तु जस्तो मेशिन अथवा सवारी साधनसंग डराउने गर्दैन । बर्दिया लालमाटीस्थित बीच राजमार्गको सेतो डिभाईडर रेखामा हिडिरहेको बाघले हाम्रो गस्तीको जीपलाई ३ मिनेट बाटो छाडेन । बीच सडकबाट निर्भय एक सुरले एक दुई सय मिटर यात्रा गरेको देखेको छु मैले ।

यही पुष १८ गते पर्सा राष्ट्रिय निकुञ्जस्थित राजमार्गमा दुर्घटना परि मृत्यूवरण गरेकी बघिनीले सडक मेरै रजाई क्षेत्र हो भनी नटेरेको हुन सक्दछ । राजमार्गमा दुर्घटनामा पर्ने अरु बाघको मनोविज्ञान पनि उस्तै नहोला भन्न सकिदैन । भारतको जिमकर्वेट राष्ट्रिय निकुञ्जमा जिप ड्राईभरले बाघलाई झोरेर घेरेर अवलोकन गराएका थिए मलाई । अहिले पनि सुनिन्छ, मोटरसाईकलमाथि आक्रमण गर्ने बाघले राजमार्गलाई रजाईक्षेत्र बनाएर आफ्नो कब्जामा राखेको छ । उ सवारी साधनहरुसँग डराउदैन । बरु चुनौती दिइरहन्छ ।

स्मार्ट चालक

चालकहरु स्मार्ट हुन जरुरी छ । पंक्षीहरु जस्तै बेजोडले दौडने बाघले बाटो छाडिहाल्ला भनेर ढुक्क हुनु महाभुल हुने छ । बाघले चुनौती दिन्छ तर बाटो छाड्दैन । मर्न तयार हुन्छ तर भाग्दैन । सेतो कपडाको भित् मुनिबाट बाघ नभाग्ने सत्य सबैलाई थाहा भएकै कुरा हो । बाघको चुनौती भनेको उसको राजा स्वाभिमान हो । मलाई जित्ने, मार्ने मेरो जङ्गलमा कोही माईकलाल छैन भन्ने बाघको दृढ आत्मविश्वास हुन्छ सायद ।

स्मार्ट चालकले निकुञ्ज आरक्षमा जस्तोसुकै हतारमा पनि गति सीमित गर्नुपर्दछ । आफू, यात्रुहरु, दूर्लभ वन्यजन्तु र आफ्नो साधनको रक्षाको लागि गति सीमित गर्न जरुरी छ । यात्रुहरुले समेत चालकलाई ‘सेफ्टी र सेक्युरिटी’ को सचेतना गराउनुपर्दछ । हात्तीले साईकल र मोटरसाईकल मात्र होइन ठूलो ट्रक पल्टाएका घटनाबाट पाठ सिक्नुपर्दछ । बाघले गुडिरहेको मोटरसाईकलमा गरेको आक्रमण असामान्य र अस्वभाविक लाग्दछ । त्यो उसको रजाई क्षेत्रमा रेखीय पूर्वाधार र सवारी ट्राफिकको बिमति र विरोध हुन सक्दछ ।

स्मार्ट सुरक्षा

स्मार्ट सुरक्षा टोलीलाई कण्ठस्थ हुनुपर्दछ कुन बाघ कहाँ छ ? कुनले शिकार गर्‍यो ? कुनले कतिवटा बच्चा पायो ? हात्तीको झुण्ड कहाँ छ । मात्तिएको हात्ती कहाँ छ ? तदनुसारको सुरक्षा रणनीति अपनाउनुपर्दछ स्मार्ट सुरक्षाकर्मीहरुले । बाघले अथवा हात्तीले राजमार्गमा रजाई अथवा किल्ला जमाएर बसेको छ भने त्यस्तोबेला अस्थायी चेक पोईण्ट, मोबाईल पट्रोल, गति सीमित ब्यारियर, सावधान् साईनपोष्ट राखेर यात्रु र वन्यजन्तु दुवैको रक्षा सुनिश्चित गर्ने संरक्षण रणनीति लागु गर्नुपर्दछ ।

स्मार्ट संरक्षण रणनीति भएको भए न पर्सामा चालकले बाघ मार्ने थिए न त बर्दियामा बाघले मान्छे ।
संरक्षण सतही र झारा टार्ने हुनुहुंदैन । जागिरेले समय गुजार्न र जागिर पकाउन गर्ने संरक्षण कामयावी हुँदैन । संरक्षण मन, भावना र रगतले गर्नुपर्दछ । यो जागिर होइन, पवित्र सेवा र धर्म हो ।

राजाको सपना

सायद पहिला हतारोमा पूर्व–पश्चिम राजमार्ग बनाएर सवारी गुडाउनु थियो । पछि सडकलाई निकुञ्ज बाहिरबाट लैजाने योजना बन्यो ।

हेर्दाहेर्दै घरेलु आन्दोलन र विरोध युद्धमा परिणत भयो । विदेशी हस्तक्षेपको बादल आँखा अगाडि र छातिमाथि खुलेयाम मडारिन थाल्यो । राजमार्ग निकुञ्ज बाहिरबाट घुमाउने सुन्दर योजना थाती रह्यो ।

राजाको स्पष्ट सोच थियो– ‘वन्यजन्तुहरु अण्डरपास रुचाउदैनन् । बाध्यता अर्को कुरा हो । बंदेल, दुम्सी, खरायो, मुसा आदिले प्रयोग गरेपनि पाटेबाघले ज्यान जाला प्रयोग नगर्ने कुरामा राजालाई दुविधा थिएन । हात्ती गैंडाले पनि अण्डरपास प्रयोग गर्दैनन् भन्ने राजाको दाबी अहिले आएर मलाई ध्रुवसत्य लागेको छ । किनभने विश्वको अण्डरपास भन्दा ओभरपास वन्यजन्तुहरुले ३ गुना रुचाएको र प्रयोग गरेको एक अध्ययनले प्रमाणित गरेको छ ।

सुचारु राजमार्ग डाईभर्ट गर्न विकासको वातावरण र समय अनुकूल नभएपछि राजाको सपना थियो भइरहेका राजमार्गमाथि ओभरपास बनाउने र वन्यजन्तुलाई ओहोर–दोहोरको सुरक्षित सुविधा दिने ।

राजाले माष्टर ईन्जिनियरलाई सम्झाएको सुनेको थिएं– “वन्यजन्तुहरुले अण्डरपासलाई धराप ठान्दछन् । मर्न तयार हुन्छन् तर अण्डरपासबाट छिर्दैनन् । खुला आकाश वन्यजन्तुको साथी हो । हरियो चौरमा टेकेर वनजंगलको आड् लिंदै सूर्य चन्द्रमा तारा हेरेर उनीहरु मानव निर्मित धराप (सडक–नहर) वारपार गर्न चाहन्छन् । राजाको सदिच्छा सुनेर ईन्जिनियरले ओभरपासको डिजाईन्, डिपिआर गर्दागर्दै दरबार हत्याकाण्ड भयो । राजाको सपना अपुरै । राज्य चलिरह्यो । तर निकुञ्ज र वन्यजन्तुले राजा जस्तो सम्वेदनशिल र धर्मात्मा अभिभावक फेरि पाउन सकेनन् ।

सडकमा वन्यजन्तु आक्रमणमा मृत्यूवरण गर्ने सोझा सिधा जनताको दुर्भाग्य ।

कालोपत्रे सडकमा सवारीसाधनसँग ठोक्किएर अनायास मृत्यूवरण गर्ने हजारौं वन्यजन्तुहरुको अर्को दुर्भाग्य।

संरक्षण सिफारिस
हामीले बाघलाई दु:ख दिन, हैरान पार्न, सताउन, घाईते बनाउन र मार्न पालेका होइनौं । बरु बाघलाई स्वस्थ, खुशी र सुखी राखेर जनताका घर दैलोमा लक्षिण र सम्वृद्धि भित्र्याउन तथा मुलुकको प्रकृति रक्षाको छवि र गौरव चम्काउन शक्तिको प्रतीक बाघलाई पुजा रक्षा गरेका हौं । बाघ विनास होइन, रक्षा गरेर ल्याएको सम्वृद्धि दिगो र गौरवयोग्य हुन्छ । स्वस्थ खुशी र सुखी बाघले हामीलाई न दु:ख दिन्छ न आक्रमण ।

हालका दिनहरुमा निकुञ्जलाई बाघ लगायत वन्यजन्तुहरु पाल्न, हुर्काउन, बढाउन र खुशी राख्न ज्यादै पर्लय छ । चौतर्फी अतिक्रमण, दबाब र तनाबका बीच राजनीतिक अतिक्रमण ज्यादै पेचिलो भएर छिरेको छ । प्रकृति नामले नै अराजनीतिक धार्मिक पूण्य र पवित्र जिम्मेवारी हो । यसलाई सबैले अनिवार्य राजनीति भन्दा माथि राख्न अपरिहार्य छ । यो मेरो पहिलो सिफारिस ।

२०७४/७५ मा ३९१ र २०७५/७६ मा ४९५ निकुञ्ज आरक्षका वन्यजन्तुहरु सडक दुर्घटनामा मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । जसको २५ देखि ३५ प्रतिशतलाई सवारी साधनको ठक्करबाट मृत्यू भएको दाबी गरिएको छ । बाघको संख्या बढेको हो । तर क्यारिङ्ग क्यापासिटी अझ धेरै छ । बाघ भन्दा धेरै गुणा सवारी साधन बढेको हो । त्यो भन्दा धेरै स्वतन्त्रताको नाममा कानून उलङघन गर्ने, अटेरिपन, तीव्रगति र प्रकृतिको विरोध बढेको पो हो कि ?

के हामी हाम्रा वन्यजन्तुहरुलाई व्यवस्थापन र संरक्षण गर्न नसक्ने लाचार विन्दूमा पुगेकै हो त ?

पक्कै होइन । होइन भने प्रकृति र प्रकृतिका उपहारलाई नमूना व्यवस्थापन र संरक्षण गरौं । तिनलाई सम्वृद्धिको आधार बनाऔं । दोश्रो जोडदार सिफारिस।

शुक्ला, बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा २७१ कि.मि. सडकमा ओभरपास बनाउने योजना ठीक हो कि ? वन्यजन्तु र पूर्वाधार ईन्जिनियर्स विज्ञहरुले निश्कर्ष निकाल्ने र राज्यले निर्माण गरिदिने कुरा हो । तर प्रकृति संरक्षणमा नाम कहलाएको प्रकृतिको धनी मुलुकले यो पवित्र विधालाई प्राथमिकतामा राखेर लत्रिने होइन चम्किने महत्वकांक्षा राख्नुपर्दछ । आफूले संरक्षण दिएका निकुञ्जहरुमा छिटो र मितव्ययी ओभरपास बनाउने काम सेनाले आफूले लिनु बान्छनीय हुनेछ । सुरक्षाको लेहाजले पनि यस्ता ओभरपासहरु सेना मार्फत अथवा उसको सुरक्षा छातामा निर्माण गर्नु बुद्धिमानी हुनेछ । ओभरपासमा थोरै गाईडिङ्ग फेन्सको मद्दतबाट वन्यजन्तुहरु प्राकृतिक निकुञ्जकै भाग सम्झेर खुशीसाथ ओहोरदोहोर गर्नेछन् । तेश्रो तथा अन्तिम सिफारिस।

अन्त्यमा, अण्डरपास नेपालमा वन्यजन्तुले परै जावस मान्छेले समेत प्रयोग गर्न अयोग्य र असुरक्षित हुने हुन् कि ? फोहोरको थुप्रो, दुब्र्यसनीहरुको अखडा र अपराधीहरुको लुक्ने हान्ने ठाउँ भयो भने अण्डरपासको अर्थ के रह्यो र ? राष्ट्रिय ढुकुटीको सर्वनाश र वन्यजन्तुको निरन्तर दुर्घटना र विनास।

तसर्थ, क्षेत्रीय र अन्तर्राष्ट्रिय अभ्यास एवं नजिर हेरौं । विज्ञहरुको राय सुनौं । र, मानव–वन्यजन्तु दुवैलाई जितै जित् हुने गरि भविष्यमा निकुञ्ज बाहिर राजमार्ग लैजाने अथवा निकुञ्जको हरित सतह जस्ताको तस्तै राखी अण्डरग्राउण्ड सुरुङ्गमार्ग बनाउने विकल्प रोजौं । जुन तत्काल सम्भव देखिदैन भने हाललाई बाघ र मान्छेको सहअस्तित्व एवं दुवैलाई जितै जितको लागि ओभरपासको अस्थायी व्यवस्थाको पाईलट् प्रोजेक्ट मार्फत शुभकार्यको प्रारम्भ गर्नु युक्तिसंगत हुने छ ।

जय प्रकृति संरक्षण ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!