प्रिय छोरी,
शुभाशिष ।
जब म जीवनमा पहिलो पटक अमेरिका पुगें; तिमीलाई मनधारण गरें । तिमीले मेरो मनभित्र अड्डा जमायौ । मलाई एउटा छोरी चाहियो चाहियो । म संगै दौडिने । भारी बोकेर हिंड्ने । पौडी खेल्ने । र, हवाईजहाजबाट हाम फाल्ने । किनभने मलाई मेरो मातृसंस्था (नेपाली सेना) ले ३० वर्ष अगाडि अमेरिका रेञ्जर/पाथफाईण्डर तालिममा पठाएको आधार त्यही थियो– दौडमा घोडा जस्तो, भारी बोक्न खच्चड भन्दा अब्बल । र, ब्याटल अर्डर (हेलमेट्– बुठ्– ईक्वीपमेण्ट–राईफल) सहितको साहसिक पौडिबाज फुर्तिलो युवक ।

प्रिय छोरी,

सन १९९० को सन्दर्भ ।

बिलकूल नयाँ शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक परिवेश । छोरालाई भन्दा छोरीलाई औधी माया गर्ने देश । छोरीलाई समानता प्रत्याभूत गर्ने संस्कार । महिलाहरुको ठाँट, रबाफ, स्वाभिमान र आत्मविश्वास देखेर मलाई छोरी पाउने तीव्र ईच्छा पलायो । त्यसपछि हो तिमीलाई मैले मनधारण गरेको ।

विशाल मेरो मातृसंस्थाले पछि शान्ति स्थापना मिशन पठायो । त्यहाँ मैले जापानिज, कोरियन, फिलिपिनो, ब्रिटिश, स्क्याण्डेनभियन, युरोपियन महिलाहरुसँग सहकार्य गर्ने अवसर पाएँ । उनीहरुको हिम्मत, आत्मविश्वास, स्वाभिमान् र प्रतिभा देखेर ताजुब लाग्यो । ज्यादै प्रभावित भएँ ती हिम्मतिला नैतिकवान महिलाहरुको प्रकृति पुजा, पृथ्वी पुजा, शान्ति पुजा, मातृत्व, स्वच्छ छवि र स्वधर्म–स्वकर्म निर्देशित उत्कृष्ट कार्यसम्पादन देखेर ।

प्रिय छोरी,

जब म राष्ट्रिय निकुञ्जको पवित्र डिउटीमा होमिए जंगलभित्र एक्लै एक्लै अध्ययन अनुसन्धान गर्ने हिम्मतिला तर गर्वयोग्य महिलाहरु देखेर मलाई लाग्यो हामी पुरुष भुंईफुट्टा रहेछौ । महिलाहरु धेरै साहसिला, जांगरिला, रसिला र श्रृजना तथा कलाका धनी रहेछन् । झन् विश्व महिला रेञ्जरहरु देखेपछि मलाई लाग्यो प्रकृतिका अनुशासित, ईमान्दार, नैतिकवान र जवाफदेहि पहरेदारहरु प्रकृति पुत्री रहेछन् । तिमी छोरीप्रतिको चाहना झन् धेरै गुणा बढेर गयो ।

आई ओ को आँखा मन

ईण्टरभिविङ्ग अफिसरलाई छोटकरीमा आई ओ भनिन्छ । आई ओ, टि ओ र जि टि ओ मिलेर टेक्निकल टेष्ट र साईकोलोजि टेष्ट संचालन गर्दछन, सैनिक सेवामा प्रवेश गर्ने अधिकृत उम्मेदवारहरुलाई ।

भारतको ईलाहाबादमा महिला अधिकृत क्याडेटको अन्तरवार्ता लिइरहेको थिएं । मेरो प्रश्न र ती महिला उम्मेदवारको जवाफ यस्तो थियो–

प्रश्न: हिउ पहिरोले पुर्‍यो के गर्छेउ ?

जवाफ: आत्तिन्न बरु, डोजरजस्तो हिंउ फ्यांकेर बाहिर निस्कने छु ।

प्रश्न: ७ तले भवनमा आगलागी भयो कौशीमा २० जना बालबालिका थुनिए के गर्ने ?

जवाफ: आफू जलेर मरुम्, ज्यानको पर्वाह नगरी बालबालिका उद्धार गरेर बाहिर निकाल्ने छु ।

प्रश्न : अधिकृत भएको दिन युद्धमा खट्टिनु पर्‍यो के गर्ने ?

जवाफ: त्यस्तो अपूर्व अवसर कसैले पाउदैन । स्वअनुभूत गर्न, सिक्न र जित्न स्वस्फूर्त सगौरव युद्धमा भाग लिने ।

प्रश्न: युद्धभूमिमा टेक्नासाथ गृनेड लागेर दाँया हात गुमायौ के गर्ने ?

जवाफ: बाया हातले दुश्मनको किल्ला ध्वस्त पार्ने ।

प्रश्न: एउटा हात नभएको देखेर घर छुट्टी जाँदा रेलमा ५ जना गुण्डाहरुले सामूहिक बलत्कारको प्रयास गरे के गर्ने ?
जवाफ: खबरदार भनेर ठूलो स्वरले कराउने । बाँया हातले सबैको आँखा फुटाईदिने । दाँतपनि आपतको हतियार हो । हात र दाँतको प्रयोगले यौनाङ्ग घाईते बनाईदिने । तर आफ्नो जीउ धनलाई कोहि माईकालाललाई छुन नदिने ।

मैले उनलाई ९७ अङ्क दिएर सम्मान गरे ।

राष्ट्रिय विकृति प्रति ज्यादै सचेत सजग र स्वाभिमान् असल शिक्षा–दीक्षा र संस्कृतिको ऐना थिईन् उनी ।

उनलाई अंक प्रदान गरेर गुरु जनरल नाहिरलाई सगर्व पुकारें– “मैले सपनामा देखेको छोरी । कल्पना भन्दा माथिकी छोरी । म यस्तै हिम्मत, अक्कल र साहस भएकी छोरी नपाई छाड्दिन ।”

छोरी, तिमीलाई मैले फेरि मनधारण गरे ।

आफ्नै देशमा फिर्ता आएर धेरै महिला उम्मेदवारको अन्तर्वार्ता लिए । सलाम छ ती महसुर महिलाहरुलाई जसले मलाई हामी पुरुषभन्दा केहीमा कमी छैनौ। सृष्टी धान्न सन्तान जन्माउनु हुर्काउनु हाम्रो क्षणिक अथवा अस्थायी लिमिटेशन होला । तर हामी ढाट्ने झुक्याउने, ठग्ने, भाग्ने, भ्रष्टाचार गर्ने र मातृभूमिलाई गाह्रो साह्रोमा अन्तरघात गर्दैनौ । धोका दिदैनौ । राष्ट्रघात गर्दैनौ ।

मैले पुन: आफ्ना चेलीहरु प्रति गर्व गर्दै पुन: संकल्प गरे ‘मलाई छोरी पाउनु छ छ ।’

आकाशकला

सैनिक सेवाको अन्त्यमा ईजरायल प्यारा जम्प हेर्न र गर्न पाए । महिलाहरुको अनिवार्य सैनिक सेवा त्यस अगाडि नै धेरै पटक देखिसकेको थिएं । ईजरायली महिला सैनिकको कठोर तालिम र एग्रेसिभ् सैनिक सेवा देखेर म उसै प्रभावित छदै थिए । मेरो अन्तिम भ्रमणमा १४ हजार फिटबाट टिनएजर र अविवाहित महिलाहरुले हाँस्दै रमाउदै खेल्दै स्काईडाईभ् गरेको देखेर म पुन: दृढनिश्चयी भएँ– ‘मेरी छोरी तिमी त्यस्तै महसुर स्काईडाईभर हुने छौ ।’

स्वदेशमा महिला सैनिकहरुले यो कठोर र जोखिमपूर्ण तालिम ऐया नभनी हाँसी हाँसी गरेको देखेर गौरव गरें– ‘वा मेरी छोरी तिमी पनि यस्तै हिम्मतवाली हुने छेउ । म अघिअघि तिमी पछि पछि ‘बुबा’ भन्दै हाम फाल्ने छौ ।’

पोखराको १ वर्षे पृतना सेवाकालमा प्यारा ग्लाईडर महिला पाईलट बेलाले उडाएर कहिले माछापुच्छ्रे हिमाल पछाडि, कहिले जुन भन्दा माथि पुर्‍याउदा मलाई लाग्यो– ‘मेरी छोरीले एकदिन बेलालाई जित्ने छिन् ।

चीनको अनुभव

७ वर्ष अगाडि चीनको नान्जिङ्गमा ‘बृगेड कमाण्डर कोर्स’ गर्ने अवसर प्राप्त गरें । बेजिङ्ग लगायत विभिन्न शहरहरु अवलोकन गर्न पाए । महिलाहरुको स्थान, श्रद्धा र सम्मान देखेर ज्यादै प्रभावित भएं । वन–जंगल होस् अथवा मध्य राती महिलाहरु एक्लै निर्धक्क यात्रारत देख्न पाइने । महिला सैनिकको स्वाभिमान र आत्मविश्वास कति माथि माथि । भेदभाव, थिचोमिचो र हेपाईको न नाम निशाना न गन्ध ।

किन हो कुन्नी मलाई पुरुष भन्दा चीनमा महिला भाग्यमानी लाग्यो । फेरि मैले संकल्प गरें– ‘नानी पाउनु छोरी नै पाउनु ।’

छोरी क्रेज्

छोरी क्रेज् बढ्दै गयो । आफू निश्कर्षमा पुगे– “छोरीलाई श्रद्धा र सम्मान गर्ने समाज र देश सम्वृद्ध हुन्छ । खुशी र सुखी हुन्छ । प्रजातन्त्रको जननी हुन्छ । त्यस्तो देशमा लक्षिण र लक्ष्मीले बास गर्दछिन् । मुलुकले प्रकृतिआशिष प्राप्त गरिरहेको हुन्छ ।”

एउटा कुरा सत्य लाग्यो– “मुलुकलाई सुसंस्कृति र सभ्यताको शिखरमा पुर्‍याउने हो भने महिलाहरुको शिक्षा–दीक्षा, सुस्वास्थ्य, सुख र खुशी अनिवार्य अब्बल हुनैपर्दछ । सबै आमा हाम्रो पहिलो पाठशाला भएकी हुनाले पनि त्यो पाठशालाको जग मजबुत हुनैपर्दछ ।

नारी आँसु ज्यादै कडा, गहिरो र तीखो हुन्छ । नारीलाई आँसुमा डुबाएर कुनै मुलुकले सुख, शान्ति र सम्वृद्धिको सपना नदेखे हुन्छ । प्रजातन्त्रको दुहाई त झन् कुन मुखले दिनु ।

प्रिय छोरी, मलाई ज्ञात छ– ‘म पिताको कर्म धर्म मेरी छोरी (नारी) र प्रकृतिको एकाग्र भई पुजा अर्चना गर्नु । ती दुईको रक्षा कल्याण सम्मानमा एकलव्य भई पुजा आराधना गरिरहनु ।’

उद्धार चाहना

निर्मला माथि भएको अत्याचार हुँदा आफू त्यहाँ भईदिएको भए लाग्यो । भागरथी भट्ट माथि भएको पासविक बलत्कारको प्रत्यक्षदर्शी भएको भए आफू ज्यानको बाजी थापेर उनलाई बचाउने थिएं लाग्यो । कर्म थलो बर्दियाकी १२ वर्षीया सुमित्रा बिकलाई भारतमा बलत्कार गरी हत्या गरेर जलाउन भ्याउने ११ जना अपराधीलाई ठेगान लगाएर सुमित्रा बचाउन पाएको भए हुने थियो लाग्यो ।

जीवनको उर्जाशील समय उद्धार राहतमा बितेको र वन्यजन्तु उद्धार समेतमा ज्यानको बाजी थापेको नजिरको तागत हुनुपर्दछ यो ।

मुलुकको चिनारी

प्रिय छोरी,

चाईनिज, कोरियन, जापानिज, भारतीय, पाकिस्तानी छोरीहरुले मुख खोलेर भने– “हामीलाई नेपाल औधी मनपर्दछ तर यात्रा गर्न डर लाग्दछ ।”
खाडी मुलुकका धनाढ्य छोरीहरुलाई बाघ गैंडा हेर्न मन छ । र्‍याफ्टिङ्ग प्यारा ग्लाईडिङ्ग गर्न मन छ । स–सानो हिमाल चढ्ने रहर छ । स्वर्गको जस्तो प्रकृति र हावापानीको मजा लिन मन छ । तर मनमा त्रास नै त्रास छ ।

नागार्जुन जङ्गलमा गायव भएकी युवती हुन् वा लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जमा ट्रेकिङ्ग गर्ने पदयात्री हराउनु र नभेटिनु भनेको विश्व अन्धकार पार्ने पत्याईनसक्नुका कुसमाचार हुन् । सुन्दर मुलुकलाई कलङ्कित पार्ने सरम हुन् ।

प्रिय छोरी,

सरकारी ढीलासुस्ती, पूर्वाधारको कमी, उद्धारको बिलम्ब तपसिलका पर्यटन अवरोध हुन् । खाँटी मनोवैज्ञानिक बाधा र अवरोध बलत्कारका श्रृङ्खला, यौनजन्य हिंसाका श्रृङ्खला र नारी पीडा नै हुन् ।

अनुसन्धानको ढीलासुस्ती, छानबिनको विलम्ब, प्रमाण लुकाउने षड्यन्त्र र तथ्य लुकाउने विकृति र न्याय मर्ने मारिने पुरुष प्रधान देश आज निर्वस्त्र छ ।
निर्मला, सुमित्रा, भागरथी प्रतिनिधि पात्र मात्र हुन् । न्याय नपाएका छोरीहरु लाखौं छन् । सार्वजनिक नभएका नारी पीडाहरु करोडौं छन् । म सुनाउने भन्दा तिमी सुन्नेलाई लाज ।

प्रिय छोरी,

तिमी कस्तो मुलुकको छोरी हुने हो ? प्रजातन्त्रबाट वञ्चित । अवसरबाट वञ्चित् । आधारभूत शिक्षा स्वास्थ्य स्वतन्त्रताको हक उपभोगबाट वञ्चित । समानता र न्यायबाट वञ्चित । पुरुषप्रधान देशका पुरुषहरुबाट संधै प्रताडित् ।

विश्वको अग्लो शिखर सगरमाथाकी छोरी तिमी, तर मृतसागरमा डुबेको पीडा र छटपटी । बुद्ध भगवानको शान्ति क्षेत्रकी चेली तिमी, तर अशान्तिको भुङग्रोमा संधै छटपटाईरहेकी तिमी ।

प्रिय छोरी,

मान नमान । सुन्दर देशको कलंक । पर्या–पर्यटन भाँड्ने मास्ने सुकाउने सुनियोजित प्रपञ्च । यौन पिपासु मात्र कसरी भनूम् ? नाबालिका माथिको बलत्कार । अनाथ, असहाय, अवोधमाथिको क्रुर बलत्कार । बलत्कारलाई जित्ने अकल्पनीय हत्या ।

डरलाग्दो सामाजिक विकृति र अपराध । तनावग्रस्त पागल मनोविज्ञान ।

क्षमा याचना

प्रिय छोरी,

मनधारण मात्र गरें । ३५ वर्ष मनधारण गरेर बिताएँ । गर्वधारण गर्ने स्त्रीलिँङ्ग हुन सकिन । भएको भए १ दर्जन महान नारीको शितल छहारी बनाउने थिए । गर्वधारण नभए पनि मनधारण गरेका तिमी सेक्सन् नफ्री (१२) छोरीहरुसँग क्षमा याचना गर्दछु–

तिमीहरुको लागि सुरक्षित, सुन्दर शान्त समाज तयार हुन् धेरै गर्न बाँकी छ । स्वाभिमान बनाउने अनिवार्य शिक्षाको जग हाल्न बाँकी छ । समानता, न्याय र स्वतन्त्रताको प्रत्याभूत गर्न बाँकी छ । सम्वृद्धिको खाका कोर्न बाँकी छ । विश्वको पत्यार खिंच्न अझ धेरै गर्नु छ । तिम्रो समग्र जिम्मेवारी लिने जवाफदेही राज्य संरचना व्यवहारमा स्थापना गर्न नै बाँकी छ ।

त्यसैले मैले धेरै क्रान्तीहरुलाई शान्त भई सुरक्षा प्रदान गरें । नारीहरुको रामराज्य बनाउने हवाला दिने हरेक क्रान्तीसँग ‘महिलामैत्री राज्य’ को आशा सांचेर राखे ।

तर ती क्रान्तीहरु परप्रायोजित र पुरुष प्रायोजित थिए । ती केवल २/४ टाठाबाठा पुरुषका स्वार्थसिद्धिका लागि रचिएका छल थिए ।

भो भो अब अति भयो । तिम्रो मेरो प्रतीक्षा ज्यादै लामो भयो । त्यसैले जन्मन बाँकी छोरीहरुसँग क्षमा याचना गर्दै म आश्वस्त तुल्याउन चाहन्छु– ‘हाम्रो प्रार्थना छिटै पूरा हुने छ । स्वर्गभन्दा राम्रो ‘आमा र नारीमैत्री रामराज्य’ मा तिम्रो पदार्पण हुने छ ।

–प्रतीक्षारत मनधारण पिता ।

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

 

यो हेर्नु भयो?

४० वर्ष मुनिका महिलालाई विदेश जान परिवारको अनुमति आवश्यक पर्ने नयाँ नियम को प्रस्ताब बारे


Like it? Share with your friends!