यो हप्ता सिन्धुलीगढी हेर्ने अवसर प्राप्त भयो । पुर्खाको बहादुरी अनुभूत गर्ने मौका मिल्यो । क्याप्टेन किनलकको साहसिक कदम र आक्रमण प्रयासलाई वहाँको जुत्ता लगाएर चुट्टी चढ्ने कसरत गरेको महशुस गर्न पाईयो । बहादुर पुर्खाले डिलेईङ्ग एक्सन ब्याटल द्वारा धेरै गुना ठूलो अत्याधुनिक हातहतियारद्वारा सुसज्जित आक्रमणकारीलाई परास्त गरि सानो ठूलो गढीलाई सुरक्षित राखेको गौरव गाथा स–शरीर देख्न पाईयो । गौरवमय ईतिहास बोकेको सिन्धुलीगढीलाई घुमि घुमि हेर्दा जे देखें त्यो अनुभूति उतार गर्न यो आलेख तयार पारेको छु । यसको मूल उद्देश्य पुर्खा र ईतिहासप्रतिको सम्मान हो । मातृभूमि रक्षा, कल्याण र सम्मान प्रतिको कर्तव्यभाव पनि हो ।

Sindhuli Gadhi, Nepal

विजयभावले छाती फुल्दा

आजको नेपाल रक्षा गर्ने सामरिक महत्वको भूमिमा पाउ राख्दा ७ पटक ढोगें । पुर्खाले शक्ति मागेको, सफलता र विजय माग गरेको सिद्धबाबा मन्दिर आजसम्म जस्ताको तस्तै रहेछ । काब्रोको हरियो पुरानो रुख सजीव खडा रहेछ । फेदमा जरै जराले सजिएको मन्दिरमा सिद्धबाबाको दर्शन गर्न पाउदा मलाई शिर झिक्न्न मनै लागेन । सिद्धबाबासँग लम्पसार परेर मैले सिर्फ एउटा कुरा मागे –‘यो गढीको रक्षा कल्याण सम्मान होस् ।’

हामीलाई आज नेपाल र नेपाली कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने त्यो पवित्र भूमिमा पाउ राख्दा मेरो छात्ती बिजयाभावले फुल्यो। शिर ठाडो भयो। स्वाभिमान उम्लियो । स्वतन्त्रता रगतमा बगेको महशुस भयो ।

Sindhuli Gadhi, Nepal.

गढीको बेलिबस्तार

गढीको पूर्व काठमाण्डौ–खुर्कोट–सिन्धुली–बर्दिबास सुन्दर कालोपत्रे सडक छ । सडकबाट पाँच/छ मिनेटको पिचबाटो यात्रामा सिंधुलीगढी पुगिहालिन्छ । कारबाट बृद्धबृद्धा अपाङ्ग वालवालिका समेत सजिलै युद्ध संग्रहालय सम्म जान सक्छन् । पूर्वमा ठूलो गढी । ५ सय मिटर पश्चिम सानो गढी । दुबै गढीमा बेजोड स्वतन्त्रसँग नेपालका झण्डा फहराईरहेको । बीचमा सिद्धबाबा मन्दिर, अदालत जेलघर, युद्ध संग्रहालय । सानो गढीबाट ७ सय मिटर पश्चिम निर्माणाधिन अवस्थामा सिन्धुलीगढी दरबार । स्याहार संभार मर्मत पाएर बेहुली झैं सिगारिएकी सिन्धुलीगढी । वरिपरि ढकमक्क लालीगुराँस । निकै परसम्म हरियो बनजंगल र सुन्दर शान्त प्रकृति । अथवा, प्रकृतिको माझमा झन् सुन्दर सिन्धुलीगढी ।

कमलामाई नगरपालिकाका उर्जाशील मेयरको गढी बिकास र रक्षाको सानदार संकल्प । स्थानीय जनताको गर्बिलो अपनत्व र स्वामित्व । प्रवेश शुल्क ने.रु.५०।– मात्र । बिद्यार्थीलाई ५० प्रतिशत छुट् । जेष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश । अवलोकन गर्नेहरुको ताँती माथि ताँती । गढी अवलोकन पश्चात रात बिताउनलाई सिन्धुलीमाढी, खन्याखर्क, खुर्कोट, मुलकोटमा खान बस्न राम्रो ब्यबस्था । काठमाण्डौ र भारतको सीमाना देखि ३/४ घण्टाको यात्रा ।

Sindhuli Gadhi, Nepal.

खड्केको कुरा

गढी जाने ढलान र पिच बाटो साँघुरो भयो । गढी चढ्ने भर्‍याङ्ग राम्रो तर ज्यादै ठाडो र साँघुरो भयो । कालो ग्रेनाईट्को ठाउमा ढुंगाकै प्रयोग शोभनीय हुने थियो ।

मेयर ज्यू, तेश्रो प्रधानसेनापतिको नाम लेख्न लेखाउन उत्साहित हुनुहुन्थ्यो । २ जना प्रधानसेनापतिहरुको नाम लेखेर गढीलाई कुरुप बनाईसकिएको रहेछ । माथि राष्ट्रपतिको नाम । फेदीमा पर्यटन मन्त्रीको नाम । उता मेयरको नाम । राष्ट्रपतिसंगै कल्पनाकार, डिजाइजर र ठेकेदारको नाम ।
भित्र सोभिनियर पसल । छेउमा टहरा हालेर चिया पसल । ठेकेदार तस्कर ठगहरुको व्यापारिक र कमाउ धन्दाको तालसुर । मन चिसो भयो, कतै ऐतिहासिक महत्वको गढी कुरुप नबनाईयोस् । ठगी खाने भांडो नबनाईयोस् ।

Sindhuli Gadhi, Nepal.

सुझाव

यो गढीलाई विश्वस्तरको ऐतिहासिक सम्पदा बनाउन १ वा २ बिन्दुमा विकास होईन ल्याण्डस्केपमा बिकास र संरक्षण गर्ने खाका बनाईयोस् । युद्धको पूरै खाका हेर्न देख्न र बुझ्न मिल्ने गरि फेदी देखि चुट्टी सम्म, चुट्टी देखि अर्को हाई ग्राउण्डसम्म । वारि देखि पारी डाडाको श्रृङ्खलासम्म । स्टार्ट लाईन, एसेम्बली पोईण्ट, किलिङ्ग ग्राउण्ड, डिलेईङ्ग पोजिसन, विथड्रल लाईन, क्याजल्टी ईभ्याकुएसन सबै भ्रमणको दौरानमा हेर्न देख्न सकियोस् । युद्धमा सहभागी स्थानीयहरुको गाउं बस्तीमा होमस्टे बिकास होस् ।

नेपाल रक्षा गर्ने र हामीलाई नेपाली कहलाउने विजय चुट्टीमा हरेक नेपाली नागरिक र शिक्षक विद्यार्थी सजिलै पुग्न, पढ्न, सिक्न र गर्व गर्न पाउन् ।

अगाडि बढ्न नदिने बज्रभूमिलाई हरेक ब्रिटिश र भारतीय नागरिकले स–सम्मान अवलोकन गर्न पाउन् । त्यहाँका ईतिहास, सुरक्षा, समाजशास्त्रका विद्यार्थी एवं खोज र सोधकर्ताले सगर्व अध्ययन अनुसन्धान गर्न पाउन् । तत्कालीन योद्धाका सन्ततीले बीर योद्धाहरुलाई फूल चढाएर स्मरण र सम्मान गर्न पाउन् ।

हामीले गढीमा तत्कालीन बिट्रिस योद्दाहरुको भव्य स्मारक अबिलम्ब बनाई दिनुपर्दछ । आफु र आफ्नो चेन अपफ् कमाण्डको छरपष्ट नाम लेख्ने सस्तो लोकप्रियता सैनिक नेतृत्वले तत्काल बन्द गर्नुपर्दछ । शिलालेखमा नाम लेख्ने लेखाउने राजनीतिक होडबाजी पनि बन्द हुनुपर्दछ । त्यसले गर्बिलो ईतिहास र बहादुरी गाथाको उपहास हुन जान्छ ।

Sindhuli Gadhi, Nepal..

यो गढी विकास र संरक्षणमा नेपाली सेनाको योगदानले सेना–निजामती सम्बन्धको नमूना स्थापित भएको छ । गढी विस्तार बिकास र संरक्षणको कामलाई नेपाली सेनाले थप निरन्तरता, अगुवाई, संयोजन गरिराख्न जरुरी छ । एक सेनामुख वा सेक्सनगार्ड गढी सुरक्षा र संचालन सहयोगार्थ खटाउन वान्छनीय हुने छ । जुन स्थानीय सरकार र आम जनताको जोडदार माग हो ।

सुन्दर प्रकृति र वन जंगललाई दिगो संरक्षण गर्न अपरिहार्य छ । तबमात्र गढीको महिमा र गौरव शोभायमान देखिने छ । प्राकृतिक हरित पार्कको परिकल्पना सुनमा सुगन्ध हुने छ । किनभने आजसम्म जंगलभरि सिस्नो, काँडा र अरिङ्गालको गोलोहरु प्रशस्त देख्न सकिन्छ । त्यसको संरक्षण जरुरी छ ।

सानो र ठूलो गढी जोड्ने राम्रो झोलुङ्गे पुलले पर्यटकहरुलाई थप आकर्षण गर्ने छ । निर्माणाधिन सिन्धुली दरवारलाई संग्रहालयमा परिणत गर्दा पर्यटकहरु खुशी र लाभान्वित हुने छन् ।

Sindhuli Gadhi, Nepal.

तर व्यापार, पिकनिक, फोहोर माग्नेहरुको ताँतीलाई बिल्कुल निषेध गर्दा मात्र गढीको महिमा रक्षा हुने छ । ढुंगाले मात्र बनेको ऐतिहासिक गढीमा ढुंगामात्र प्रयोग गरेर विकास निर्माण गर्न वान्छनीय हुने छ । मार्वल ग्रेनाईट्को प्रयोगभन्दा ढुंगाको प्रयोगले गढीको ऐतिहासिक महत्व अनि रक्षा–सम्मान हुने छ । युद्ध संग्रहालयका अरु खण्डहरु विस्तार गर्नु उपयुक्त हुने छ । व्यवसायिक गाईडको व्यवस्था गरिनु पर्दछ । शारीरिक अशक्तहरुको लागि केवलकार अथवा विद्युतीय कारको विकल्प दिन सक्नुपर्दछ ।

गढी देखि अरु गढी सम्मको पैदलमार्ग, साईकल मार्ग, सडकमार्ग, केवलकार मार्ग भविष्यमा विकास गर्दै लैजानुपर्दछ । त्यही ऐतिहासिक सम्पदा रक्षा सम्मानले समृद्धिको ढोका खोल्ने छ ।

गढीमा अवस्थित सिद्धवावा मन्दिरलाई जिर्णोद्वार र पुजापाठको थलो बनाउँदा धार्मिक पर्यटन जोडिने छ । जेलघर अदालतलाई अक्षुण्ण राख्दै काठका थाम र चाँदीको सिक्रीले घेरेर थप आकर्षक बनाउन सकिन्छ ।

पर्यटकहरुलाई सुनकोशीबाट र्‍याफ्टिङ्ग गरेर आउने र हेलिकोप्टरबाट आएर समय बचत गर्ने बिकल्प खुला गरिनुपर्दछ । भविष्यमा सानो बिमानस्थल आवश्यक पर्न सक्दछ ।

अन्त्यमा, यो गौरवमय ऐतिहासिक भूमिको दिगो रक्षा कल्याण सम्मान होस् र यो भुमिले हरेक नेपालीलाई शान्ति, स्वतन्त्रता, स्वाभिमान र बहादुरीको उर्जा भरिरहोस् ।

(लेखक सुरक्षाबिद् र संरक्षणकर्मी हुन्)

 

 


Like it? Share with your friends!