२०७७ को हिंउद हात्ती विज्ञ, बन्यजन्तुप्रेमी र संरक्षणविद्हरुको लागि ज्यादै अप्रिय रह्यो । कोशीटप्पु बन्यजन्तु आरक्षका २ वटा हात्तीलाई स्थानीयहरुले बिद्युतीय धरापमा पारेर मारे । ३३ हजार केभिएको हाईटेन्सन बिद्युतमा जोडेर थापेको बिद्युत पासोमा परेको भिमकाय हात्तीले पासोमुक्त हुन रातभर प्रयास गरे तर सकेनन् र उनीहरुले मुत्युवरण गर्नुपर्‍यो । बन्यजन्तु संरक्षणको इतिहासमा यो कालो हिंउद रह्यो । विश्व रामसारमा सूचिकृत प्राकृतिक छटाले भरपूर सुन्दर कोशीटप्पु बन्यजन्तु आरक्षको लागि पनि यो ज्यादै दु:खद हिंउद रह्यो । पहिला गणेश भगवान पुजेर छिन्नमस्ता, कङकालिनी मन्दिरमा नित्य पूजापाठ गर्ने सप्तरीबासी जनताहरुको लागि यो आँसुको हिंउद रह्यो । २/४ जनाको बदमासीले जिल्ला कलंकित भयो । दुई दुई वटा भिमकाय हात्तीलाई स्काईभेटरले गहिरो खाल्डो खनेर पुर्नुपर्‍यो । दुबै हात्ती सप्तरीमा मारिएका थिए ।

दोश्रो घटना घटेको थाहा पाउनासाथ पुस २५ गते बिहानै चीफ वार्डेनलाई फोन गरेर हार्दिक श्रद्धान्जली अर्पण गरें । थप क्षति नहोस् भनेर शुभकामना दिएँ। १० दिन अगाडि आफै कोशीटप्पु पुगेर स्थानीय र संरक्षणकर्मीहरुलाई शुभकामना दिएको थिएं । पुष २६ गते एकजना हात्ती विज्ञ मित्रले फोन गरेर संरक्षण चिन्ता प्रकट गर्नुभयो । सोसल मिडिया चिन्ता र श्रद्धाञ्जली सन्देशले भरिए । फेसबुक मित्र चराविज्ञ एवं संरक्षणकर्मी देवेन खरेलले मन छुने कविता पोष्ट गर्नुभयो । ती २ गणेश भगवानलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र भविश्यमा हामी स्वाभिमानी प्रकृतिप्रेमी नेपालीहरुको शिर झुकाउने यस्ता राष्ट्रिय बेईज्जतिका घटनाहरु नघूटन् भन्ने अभिप्रायका साथ यो आलेख पस्कदै छु ।

Koshi Tappu Wildlife Reserve and Buffer Zone.

यो पनि पढ्नुहोस:कोसीको यात्रा: हाँडीगाँउको जात्रा

कोशीटप्पुको रुप र सार

कोशिटप्पु आरक्ष विश्व कै विचित्र सुन्दर र दूर्लभ रामसार हो । अर्नाको उत्तम वासस्थान हो । रैथाने र घुमन्ते फिरन्ते हात्तीले औधी मन पराएको यो रामसारमा लगुना, चित्तल, बंदेल, अजिङ्गर लगायत २० प्रजातिका वन्यजन्तु र ४४१ प्रजातिका सुन्दर पंक्षीहरु पाइन्छन् । यहाँ दुर्लभ घडियाल गोहिदेखि डल्फिन र ८० प्रजातिका माछा पाईन्छ । अति सुन्दर पानी हाँस (२० प्रजाति) पानी चराहरु (११४ प्रजाति) को यो स्वर्गमा हिमाल पारि टाढाका मुलुक मंगोलिया साईबेरिया देखिका चराहरुले वर्षेउनी र अनिवार्य सयर गर्दछन् । भारतसंग जोडिएको यो आरक्षको सप्तकोशी पुल आकर्षणको केन्द्र हो भने सफा मौसममा यहाँबाट त्यही कोशीको शिर मकालु (८८६३ मिटर) लगायत हिमालका अन्य धेरै शिखरहरु अवलोकन गर्न सकिन्छ ।

तसर्थ, कोशीटप्पुको रुप, महिमा, आकर्षण र वजन हेर्दा यो पृथ्वीको सानो स्वर्ग हो । हिराको टुक्रा हो । नेपालको दूर्लभ रत्न हो ।

तर सारमा यसलाई दुुखको सागर भनेर चित्रण गरिन्छ । अझ नयाँ नेपालमा यो आरक्ष छिमेकी मुलुक भारत र एउटा वर्गलाई मुटुमा गढेको किला सरह भएको छ । भारतलाई कोशीको पुच्छरदेखि शिरसम्म अधिपत्य जमाउनु छ । मालिकको यो महत्वकांक्षा साकार पार्न नेपाली नागरिकता बोकेका सेवकहरु हात धोएर लागेकै छन् । आफ्नो घरमा आगो लगाएर खरानी बेच्नेहरु ।

यसको ताजा उदाहरण पेश गर्न सान्दर्भिक ठान्दछु– जब कोशीको पूर्वी बण्ड फुट्यो, नेपाल सरकारले सप्तकोशीको पूर्वी बण्ड १ कि.मि. पश्चिम सार्ने हतास निर्णय गर्‍यो । राष्ट्रिय सुरक्षा र सामरिक चासोलाई हत्या गर्ने सरकारको त्यो निर्णयलाई रक्षा मन्त्रालयको पहल र सिफारिसमा त्यसपछि बनेको नयाँ मन्त्रीपरिषदको निर्णयले खारेज गरिदिएपछि कोशीटप्पु वन्यजन्तु आरक्ष जोगिएको हो । अन्यथा यो आरक्ष मासिएर नक्शाबाट हराएको आज १ दशक भइसक्ने थियो । आरक्षले अतिक्रमणका यस्ता अनगिन्ती प्रहार खेपिसकेको छ । बढाईचढाई हुंदैन भने नेपाली सेना नभएको भए आरक्षलाई इतिहासको पानामा पुर्‍याईसकिएको हुने थियो ।

यही संरक्षण विरोधी तत्वको उक्साइटमा वर्षेउनी नक्कली सुकुम्बासीहरुले छाप्रो हाल्ने र अतिक्रमणको असफल प्रयास गर्दै आएका छन् यस आरक्षभित्र । खुलमखुला भैंसी गोठ राख्ने, चरिचरण गराउने र अवैध आय आर्जन गर्ने गराउने वर्गले आरक्षमाथि लुटपात् कायम राखेको सबैलाई जगजाहेरै छ ।

नयाँ नेपालको नेतृत्वहरुले सुनसरी र सप्तरीका भोट ब्याङ्क तान्न आरक्षको विरोध गर्ने, आरक्ष हटाउदछौं भन्ने, आरक्ष बाडिदिन्छौ भन्ने जस्तो नारा दिएर एउटा गरिमामय रामसार र त्यसको वरिपरि बसोबास गर्ने प्रकृतिप्रेमी जनताको संरक्षणभाव माथि निरन्तर राजनीतिक खेलवाड् र प्रहार गरिरहेकै छन् ।

सारमा, सुन्दर आरक्षको अस्तित्वलाई संकट र अन्धकारतर्फ धकेलिएको छ । आरक्ष र स्थानीय जनता बीच फाटो र कलह श्रृजना गरिएको छ । रुपमा सुन्दर आरक्ष सारमा चौतर्फी आक्रमण र अतिक्रमणमा परेर अस्तित्व संकटमा छ । समयमा आँखा खोलेर सतर्क नभए यो आरक्ष हराउने प्रवल संभावना छ ।

Koshi Tappu, Nepal

किन बढ्यो यो वर्ष हात्ती–मानव द्वन्द्व ?

हात्ती मात्तिने पात्तिने स्वभाविक र सामान्य हो यो समयमा । हात्तीको वर्षेउनीको नित्य हर्कत नै त्यही हो । सबैले जानेको बुझेको हात्तीको स्वभाव यो वर्ष किन मान्छेलाई पचेन ? त्यसको मनोवैज्ञानिक विश्लेषण गरौं ।

हात्तीको घाँस, सेउला र चरण घुसपैठ् भैसीले सखाप पारे । स्थानीयवासीहरुको घाँस स्याउला संकलन र जुगाड् घटेको छैन बढेकै छ । जो बलशाली ऊ शक्तिशालीले वनजङ्गल समेत सखाप पारिरहेको छ । शाहाकारी हात्ती आहारको अभावमा भोकभोकै रहनु मानवनिर्मित समस्या हो । हात्ती र अर्ना दुवै गम्भीर बासस्थान समस्या र आहारको अभावमा बाँच्न बाध्य छन् । भिमकाय शक्तिसाली हात्तीको तनाब बुझिनसक्नु र नापिनसक्नु छ ।

स्थानीयबासी जनता सरकारबिहिन छन् । न केन्द्रका न प्रदेशका उपेक्षित पेण्डुलम् भएर बसेको बेला हात्तीको धक्काले उनीहरुको आगो जस्तो तनावलाई घिउ थप्ने काम गरेको छ । झन् अहिलेको राज्य र सरकारले श्रृजना गरेको शक्ति शून्यता र आन्दोलनले स्थानीय युवाहरुलाई उत्तेजित् र अराजक बनाएको छ। ३ खम्बे संरक्षण रणनीतिको एउटा मजबुत् खम्बा बफरजोन समुदाय दिग्भ्रमित् र दिशाहीन मनोविज्ञानले ग्रसित छ ।

संरक्षणको पहिलो खम्बा र छाता संगठन आरक्ष प्रशासन राज्यको चरम उपेक्षामा परेको छ । उपेक्षा भन्दा पनि प्रकृति विरोधी वर्गको प्रतिशोध र पूर्वाग्रहको शिकार भएको छ । जुन अत्यन्त असामान्य, अस्वभाविक र अकल्पनीय दूर्भाग्य हो । दूरदराजको आरक्ष प्रशासन लामो समयदेखि नेतृत्वबिहिन रहनु र राजनीतिक नेतृत्व होस् अथवा वन प्रशासनको आँखा कानमा बिलकूल नपर्नुलाई दूर्भाग्य नभनेर अरु के भन्ने ? फिल्डस्थित आरक्ष प्रशासनको मनोविज्ञान उर्जाबिहीन छ ।

त्यस्तो कमजोर धरातलमा सुरक्षा जिम्मेवारीको लागि खट्टिएको नेपाली सेनाले आईसोलेसनमा एक्लै के मात्र गरोस् । अथवा, एक्लै दुक्लै संरक्षण संभव छैन । बिडम्बना भनूम–, निरीह भएर मुकदर्शक हुनु र संरक्षणको स्तुति जपेर पछि पछि लतारिनु उसको दैनिकी भएको छ ।

संरक्षण साझेदार संघ–संस्था मियो बिनाका मेशिन भएका छन् । दम र तागत् छ तर खेर गइरहेको छ । केन्द्रमा समन्वय, संयोजन, निर्देशन र नियन्त्रण गर्ने अगुवा अथवा कार्यकारी विभाग महानिर्देशकबिहिन छ । उप–महानिर्देशक समेत नदिएर विभागलाई जोकरफाल्तु बनाईएको छ । राज्यको संरक्षण उदासिनता, उपेक्षा र पूर्वाग्रह देखेर सबैको हौसला र मनोबल गिरेको छ । लकडाउन र महामारी कामचोरलाई काईदाको बहाना बनेको छ । सरकारलाई नचाहिने संरक्षण किन कसलाई गर्ने भन्ने नकरात्मक सोचले फिल्ड फ्रण्टलाईन स्टाफलाई सताएको छ । संरक्षणविरोधी भावना जागेको र मौलाएको छ ।

यी जटिल र मिश्रित समस्याको गठ्जोड् हो हात्तीलाई थापेको विद्युतीय धराप र गजराजको लगातार हत्या ।

तीन वर्षे कालरात्री

हात्तीको हत्या यो आलेखको सन्दर्भ मात्र हो । गैंडाको हत्या झन् कहालिलाग्दो छ । खान–पिन् आहार, सुरक्षा, अनुगमन, उद्धार, उपचार नपाएर गत ३ वर्षमा अज्ञात कारणका बहानामा मृत्यूवरण गरेका गैंडाको मनोविज्ञान बुझ्ने हो भने त्यो एक किसिमको हत्या हो । सेफ्टी ट्याङ्कीमा डुबेर मरेको गैंडाको महाहत्या हो । विषादी र विद्युतीय धरापमा परेर ज्यान जाने नेपालका प्रतीक दुर्लभ गैंडाले आफ्नो संरक्षणकर्मी, व्यवस्थापक, सरकार र राज्यलाई कति धिक्कारे होलान् अनुमान लगाऔं ।

राजमार्गमा तीव्र गतिका सवारीसाधनले ताजन् दिंदा ठहरै मरेका जङ्गलका राजा पाटेबाघले हाम्रो प्रकृतिप्रेम र संरक्षणसाधनालाई कति श्राप दिए होलान् त्यो पनि अनुमान लगाऔं ।

गएको ३ वर्षमा हात्ती, बाघ, गैंडा जस्ता अमूल्य र दुर्लभ छाता प्रजातिको यति धेरै क्षति भयो भने बाँकी प्रजातिको के हालत् भयो होला त्यो झन् अनुमान बाहिरको कुरो ।

निश्कर्ष के हो भने सरकार निरीह भयो भने प्रकृति संरक्षणको महत्वपूर्ण पक्ष ध्वस्त हुन्छ । जसरी १० वर्षे जनयुद्धमा ध्वस्त भएको थियो । २ तीहाईको शक्तिशाली सरकार र उसको पहिलो ३ वर्ष प्रकृति संरक्षणको लागि अभिशाप बन्यो । बिडम्बना, वन र वन्यजन्तुको रक्षा होइन क्षतिले सीमा नाघ्यो ।

शून्य सिकारको उपलब्धि माटोमा मिल्यो । तालुक मन्त्रालयलाई रत्तिभर चिन्ता लागेन । कहीं कतै निकुञ्जमा नेतृत्वले भ्रमण गरेको र सहानुभूति प्रकट गरेको देख्न पाईएन । जनयुद्ध समाप्त भएको डेढ दशकपछि समेत वन र वन्यजन्तुले जनयुद्धकै झल्को आउने गरि चरम क्षतिको पीडा सहनुपर्‍यो ।

हत्या कि चोरी शिकार

निकुञ्ज र वन्यजन्तु ऐन कानूनमा हत्या भन्ने शब्दावली प्रयोग हुंदैन । हात्तीसंग संरक्षणविरोधी तत्वले रिसिईबी र प्रतिशोध सांधेर धराप थापेको देखिन्छ । ऐनमा त्यसलाई सरासर चोरी शिकार भनिन्छ । वन्यजन्तुलाई पासो थाप्ने, धपाउने र सताउने सबै कामलाई चोरी शिकार भनिन्छ । पंक्षी होस् वा गोहीको फुल टिपेर घर लैजाने काम समेत चोरी शिकार हो ।

तसर्थ, हात्तीलाई धरापबाट मार्ने काम सरासर गजराजको हत्या जस्तो देखिएता पनि त्यो स्पष्ट चोरी शिकार हो । त्यसमा विद्युत प्राधिकरणको सहयोग संलग्नता अथवा मिलोमतो देखिन्छ ।

चोरी शिकारले सम्बन्धित हामी सबैको हुर्मत लिन्छ । विश्व संरक्षण समुदाय सामु ईज्जत जान्छ । संयुक्त पहल र प्रयास अनर्थ खेर जान्छ । राष्ट्रिय बदनाम र बेईज्जति हुन्छ । संरक्षणको हिस्सेदार सेनाको ईज्जत जाने नै भयो ।

तर यथार्थलाई कसरी ढाकछोप गर्नु ? सत्यलाई कसरी बङ्ग्याउनु ? बरु त्यसलाई आत्मसात् गरेर सुधारको बाटो किन नसमाउनु ?

सुधारको बाटो

हात्तीले खोजेको हरियो घाँस र हरियो वन–जङ्गल हो । सुन चाँदी हिरा मोती होइन । घुस र घुसरुपी द्रव्य झन् होइन । न मान्छे मार्ने मांसाहारी हो हात्ती।

उहिले हात्ती धेरै थिए हाम्रा पूर्वज थोरै । तर दुवै मिलेर बसेकै थिए । वातावरण सन्तुलन र विकास सन्तुलन दुवै थियो ।

अहिले हामी लोभी–पापी र दरिद्र भएका छौं । हात्तीको बासस्थान, घरजम बाटो र खुशी लुटेका छौं । हात्तीलाई ठेकीभित्र थुनेका छौं । बिचरा हात्तीले के गरोस् ? आफ्नो अस्तित्व रक्षा कसरी नगरोस् ।

हामी सबैको ध्यान सँधै चितवन राष्ट्रिय निकुञ्ज । कहिले सगरमाथा कहिले मकालु । सुन्दर कोशीटप्पुले प्राथमिकता पाएको मैले देख्न पाएको छैन ।

तसर्थ, केही अल्पकालिन र केही दीर्घकालिन संरक्षण सुझाव बुंदागतरुपमा राख्न चाहन्छु ।

अल्पकालिन सुरक्षा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रीक्त महानिर्देशक शीघ्र खटाईदिनुपर्दछ वन मन्त्रालयले । रीक्त उप–महानिर्देशक समेत शीघ्र पदपूर्ति गरिदिनुपर्दछ । तबमात्र फिल्डको असरदार अनुगमन, संयोजन निर्देशन र नियन्त्रण हुन सक्दछ ।

फिल्डमा चीफ वार्डेनले उदयपुर, सप्तरी र सुनसरी जिल्लाका सरकारी संयन्त्र सबैसँग सम्पर्क, सु–सम्बन्ध र समन्वय राख्नुपर्दछ । प्रशासन, प्रहरी, स्थानीय विकास कार्यालय वन, विद्युत प्राधिकरण, सिंचाई, खानेपानी, दूरसंचार, कोशी आयोजना लगायतका कार्यालयहरुसंग समन्वीकृतढंगबाट काम गर्दा मात्र आरक्षको दिगो संरक्षण संभव हुन्छ । बृहद् टीम निर्माण र टीमवर्कबाट गरेको संरक्षण असरदार र परिणाममुखी हुन्छ । ईण्टेलिजेन्सको मजबुत नेटवर्किङ्ग बन्छ । तसर्थ, चीफ वार्डेन स्मार्ट र गतिशील हुनुपर्दछ । आउट् अफ् बक्स गएर बृहद् टीम निर्माण गर्न काबिल हुनुपर्दछ । प्रोटेक्सन युनिट कमाण्डर (गुल्मपति) ले चीफ वार्डेनलाई पाईला पाईलामा साथ र सहयोग दिनुपर्दछ । टीम निर्माणको काम गुल्मपतिको पनि हो ।

मध्यवर्ती क्षेत्रका स्थानीय युवाहरुलाई संरक्षण सचेतना दिने, संरक्षण शिक्षा दिने र संरक्षणमा स्वस्फूर्त (भोलेण्टियर) हातेमालो गर्न उत्प्रेरित गर्ने काम निरन्तर गर्न अपरिहार्य छ । ५/१० वर्ष अघिको शिक्षा र सहकार्यले हरेक वर्ष थेग्दैन । ती युवा पलायन भैसकेका हुन्छन् । तसर्थ, नयाँ युवालाई नयाँ शिक्षा, सचेतना र उर्जा भरिरहनुपर्दछ । यो अनवरत र नियमित चलिरहनुपर्ने अनिवार्य शर्त हो संरक्षणलाई जीवित राख्न । भोलेण्टियर भनेपनि युवाहरुलाई मोबाईल फोन, टर्चलाईट्, साईकल–मोटरसाईकल, माईक्, जङ्गल ड्रेस र ईक्वीपमेण्टको सहयोग दिइरहनुपर्दछ । संरक्षणमा त्यो जस्तो असरदार प्रतिरक्षा प्रणाली अरु हुन सक्दैन । स्थानीय युवामा आधारित चोरी शिकार नियन्त्रण समूह (सिबिएपियु)को प्रयोग र अभ्यासलाई निरन्तरता दिन अति आवश्यक छ।

तराई भूपरिधि कार्यक्रम (तराई आर्क ल्याण्डस्केप) ले कोशीटप्पुलाई छाड्ने होइन समेटेर लैजानुपर्दछ । मिल्दैन भने अरु संरक्षण कार्यक्रमहरु सञ्चालन गरिदिनुपर्दछ । संरक्षण साझेदार संघ संस्थाहरुले सरकारको निरीहता र लकडाउनको फाईदा उठाएर कानमा तेल हालेर बस्नुहुंदैन । बरु पहलकदमी लिएर स्वविवेक र स्वनिर्णयमा साहसिक काँध थाप्नुपर्दछ संरक्षणलाई ।

सरकारले अरु मुलुकको जस्तो स्थानीयवासीको चौपाया र बालीनालीको एकमुष्ट र चित्तबुझ्दो बिमा गरिदिनुपर्दछ । बिमाको त्यो व्यवस्थाले स्थानीयबासीहरु चौपाया र बाली नष्टसँग ढुक्क हुनेछन् र वन्यजन्तुलाई प्रतिशोध सांच्ने छैनन् ।

दीर्घकालिन सुरक्षा

कोशीटप्पु आरक्ष बिस्तारको पूर्ववत् योजना साहसिक निर्णयका साथ कार्यान्वयन गरेर आरक्ष बिस्तार गर्नुपर्दछ । प्रकृति संरक्षणको पवित्र र बृहद् स्वार्थलाई दल र दलका नेताहरुले दलगत र व्यक्तिगत् स्वार्थ भन्दा माथि राखेर आँखा चिम्लेर निर्णय गर्नुपर्दछ । १७५ वर्ग कि.मि.मा फैलिएको वर्तमान आरक्षको क्षेत्रफल बढाउनासाथ मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणमा मद्दत पुग्दछ । पूर्वको श्रीपेच अथवा ताजकोरुपमा अवस्थित आरक्षको प्राकृतिक सौन्दर्यता, जैविक विविधता र सांस्कृतिक विविधताको दायरा फराकिलो भई भविश्यमा त्यो क्षेत्र आकर्षक पर्यटकीय क्षेत्र हुन सक्दछ ।

नीजि भैंसी छाड्ने सदाबहार चरिचरणको समस्यालाई कडाईका साथ बन्द गर्नुपर्दछ । विज्ञहरुको राय लिएर बृहद् वृक्षारोपण कार्यक्रम गर्नुपर्ने हो कि हरित् आरक्षको लागि र कोशीको पूर्वी पश्चिमी दुवै बण्ड मजबुतिकरणको लागि ।

यो विकल्प मनासिव हुने हो भने वृक्षारोपणको कार्यमा नेपाली सेनाले हात र साथ दिन सक्ने छ ।

कोशीटप्पु आरक्षमा पोष्टको संख्या, मोबिलिटी र कम्युनिकेशन व्यापक बढाउन जरुरी छ । आधुनिक सूचना प्रविधि (सि.सि.क्यामरा, ड्रोन, यु.ए.भि) प्रयोगको निमित्त आरक्ष उपयुक्त फिल्ड स्टेशन हो । ईण्टेलिजेन्स नेटवर्क प्रभावकारी बनाउन त्यहां बुट्स अन द ग्राउण्ड र प्रविधिको मिश्रित अभ्यास गर्न मनासिव हुने छ ।

स्थानीय समुदायलाई कसैको बहकाउ र भड्काउमा नलाग्ने र आफ्नो आरक्षको संरक्षण आफै गर्न सक्ने विन्दूमा पुर्‍याउने पहलता आवश्यक छ; जुन काम मुख्यत आरक्ष प्रशासनको हो ।

अन्त्यमा, प्रकृति र प्रकृतिका उपहार वन्यजन्तु संरक्षण नेपाल र नेपालीको इतिहास र पहिचान दुवै हो । त्यो पर्यटनको जग र सम्वृद्धिको आधारशीला पनि हो । पुर्खाले रक्षा गरेको र विश्व मानचित्रमा नमूना संरक्षण छवि भएको नेपालमा हात्ती लगायतका वन्यजन्तुहरुलाई निर्भय ढंगले मर्न मार्न दिनुहुंदैन । गणेश भगवानको अवतार हात्तीको सफायाले हामीलाई हात्तीश्राप लाग्न सक्दछ । बरु, हात्तीआशिष थापेर संरक्षण मार्फत सम्वृद्धिको यात्रा तय गर्नु नेपाल र नेपालीको हितमा हुने छ । हरित र ठूलो आरक्षसंगै पूर्व–पश्चिम सिंचाई प्रयोजनको लागि सप्तकोशीको सदुपयोगले कृषिमा आधारित हरित आर्थिक विकासको ढोका खोल्ने छ । अझ डिच कम बण्ड प्रतिरक्षा प्रणाली सहितको सुन्दर नहर पूर्व पश्चिम पुर्‍याउने हो भने त्यसले आर्थिक कायापलट गर्दै राष्ट्रिय सुरक्षाको अवस्थालाई सुदृढ बनाउन समेत योगदान गर्ने छ । यसको लागि केवल आवश्यक छ सरकारको भिजन, दृढ ईच्छाशक्ति, ईमान्दार प्रतिबद्धता र संकल्प ।
जय प्रकृति संरक्षण ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!