बच्चा गैंडालाई गोली दाग्ने शिकारीको मन र हात कस्तो जब्बर र निष्ठुरी होला ।

कार्तिक १९ गते आमा र बच्चा गैंडाको पुरानो मृत शरीर भेटियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा । निकुञ्जका प्राविधिक टोलीले दुवैलाई गोली लागेर मृत्यू भएको सार्वजनिक गरे ।

२०७७ सालको तिहारको मुखमा पँक्तिकारलाई यो दु:खद् घटनाले ठूलो पीडा महशुस भयो । रात दिन मनभरि चाहिने नचाहिने कुरा खेलेर शान्ति लुटिदियो।

Baby Rhino

हामी कति लोभी पापी र निष्ठुरी भइरहेका छौं ? समाज किन रोग भोक अभावले ग्रस्त छ ? मानिसको रिस क्रोध ईष्र्याको पारो किन झन् झन् माथि चढिरहेको छ । मानिसले किन क्षमा दान दिन बिर्सेको होला । राज्य र उसको प्रतिनिधिसँग शिकारी किन यति धेरै असहिष्णु र आक्रोशित भइरहेको छ ? शिकारी मात्र होइन आम जनता आफ्ना जनप्रतिनिधि सेवाप्रदायी प्रशासन र सरकारसँग ज्यादै आक्रोशित छन् । कुशासन र भ्रष्टाचारको जालोसँग आगो छन् ।

उदेक लाग्दो अवस्था । सिंहदरबारदेखि बन जङ्गलसम्म दरिद्रताको पराकाष्ठा ।

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

लहरोले तानेको पहरो

कथित जनयुद्धको बाईप्रोडक्ट विभिन्न रुप आकार र भेषभुषामा देखा परिरहन्छन् । द्वन्द्वताका र विस्तृत शान्ति सम्झौता लागू हुँदा चोरी शिकारीले गैंडालाई नजिकबाट ताकेर हेड्सट् फायर गरे । जिउदो गैंडाको खाग काटेर लगे । खाग चोरिएको गैंडाले रगताम्य अनुहार लिएर खोई मेरो नाक भन्दै सर्वत्र चाहार्‍यो । विदेशी पर्यटक सामु पीडा पोख्यो ।
पंक्तिकारलाई आफ्नो नाक काटिएको भन्दा धेरै पीडा भयो । पि.एस.ओज मिटिङ्गमा पीडा पोखें– “यो गैंडाको होइन नेपाली सेनाको नाक काटिएको हो।”

तत्कालिन प्रधानसेनापति ज्यादै भावुक र चिन्तित भए । गैंडाको स्वामित्व ग्रहण गर्न अग्रसर भए । त्यही अग्रसरता र प्रतिबद्धताले ‘शून्य शिकार’ को गन्तव्य तय गर्‍यो ।

Baby Rhino

हाल २ तीहाईको सरकारका वन मन्त्रीले संरक्षणलाई ठाडो चुनौती दिए । “संरक्षण किन चाहियो ? हात्ती पालेर देशलाई के फाईदा ? बाँदर र बदेलले किसानलाई उठि बास लगायो । संरक्षणको औचित्य छैन ।” वन मन्त्रीका भाषणमा बराबर प्रकट भइरहने यस्ता प्रकृति विरोधी अभिव्यक्तिले संरक्षणकर्मीको हौसला र मनोबल पात्तालमा पुर्‍यायो । ठीक विपरीत चोरी शिकारी र तस्करको साहस आकाशमा पुग्यो । त्यसकै परिणाम हो शिकारीले बच्चा गैंडालाई समेत जीवन दान दिन आवश्यक ठानेन । उ छिटो संरक्षणको अन्त्य गर्न हौसियो ।

ऐतिहासिक स्थायी सरकारको अस्थायी, अस्थिर, अशान्त भाषण र व्यवहारले प्रकृति संरक्षणको क्षेत्रमा कहालिलाग्दो र अकल्पनीय क्षति भयो । त्यही क्षतिको श्रृङ्खला हो बच्चा गैंडाको चोरी शिकार ।

द्वन्द्वको बन्दूक, गोली एवं रक्तपिपासु दिमाग र हातको खेल हो वर्तमान चोरी शिकारको घटना । मिहिन सर्च र स्वीप अपरेशन गर्ने हो भने द्वन्द्वमा प्रयोग भएका तर लुकाई राखेका हातहतियार निकुञ्ज आरक्षको कोर एरियामा फेला पर्ने प्रवल सम्भावना छ । बाँस, केराको थम्बा, टायर र ड्रमको ईम्प्रोभाईज्ड् र्‍याफ्टबाट खोलामा बगाएर वन जङ्गल भित्रयाइएका छन् धेरै हात हतियारहरु । कतिपय ईम्प्रोभाइज्ड् कुरियर र्‍याफ्टहरुबाट सिधै भारत पुर्‍याईएका थिए । चोरी शिकारीको स्थायी समाधान गर्ने हो भने द्वन्द्वमा प्रयोग भई लुकाइराखेका अवैध हातहतियारहरु छिटो रिकोभर र नष्ट गर्न अपरिहार्य छ ।

तिनै महशुर दिमाग र सीपको हात हुने छ अबको चोरी शिकार र वन्यजन्तुको अवैध व्यापारमा । व्यापार नियन्त्रणको संरचना र जालो उनीहरुकै हातमा छ।

यो पनि पढ्नुहोस:बाघ गैंडालाई न्याय दिने निकाय खोई ?

खतराको घण्टी

बच्चा गैंडाको शिकार कास्टिङ्ग हुन सक्दछ । अझ अकल्पनीय र कहालिलाग्दा घटना घट्न सक्दछन् ।
विगतका चोरी शिकारको पूर्व जनाउ हामी ‘कलमे रेञ्जर’ हरुले बराबर दिइसकेका थियौं । अहिले झन ‘खतराको रातो बत्ती’ को अग्रीम सूचना दिइरहेका छौं।

दरो थुन छेक् गरेर वन्यजन्तु रक्षाको योजना बनाउने र त्यसको असरदार कार्यान्वयन गर्ने प्रत्यक्ष भूमिकामा हामी छैनौं । न त अरु विज्ञ र संरक्षणविदहरुलाई सरोकारवाला निकायहरुले स्मरण र सम्पर्क गर्न आवश्यक ठानेको छ ।

परम्परागत संरक्षण मोडलले भावी चुनौतीको पहिचान र समाधान गर्न असम्भव छ । त्यसैले ‘कोर्स करेक्शन’ र ‘गेम चेञ्ज’ को हामी लगातार सिफारिस गरिरहेका छौं लेख मार्फत ।

शीघ्र कडा कदम नचालिए बाँस न बाँसुरी भने झै न वन जङ्गल रहने छ न त वन्यजन्तु । नेपाल चोरी शिकारीको सुरक्षा कवच हुने छ । अवैध वन्यजन्तु तथा तिनका अंग व्यापारी र तस्करको स्वर्ग जस्तो आश्रयस्थल हुने छ । तस्करीको सुरक्षित ट्रान्जिट रुट् र ट्रान्जिट् पोईण्ट हुने छ ।

कस्तो प्रकृति कस्तो संरक्षण र कस्तो कानूनको देश बनाउने त्यो सरकारको हातमा निहित छ । तथापि प्रकृति र वन्यजन्तुको भविष्य उज्वल होइन अन्धकार देखिन्छ बर्तमान शासन पद्धतिमा ।

यो पनि पढ्नुहोस:गैंडाको चोरी शिकार: कानमा तेल हालेर बसेको सरकार

सेनालाई ईज्जतको सवाल

तत्कालिन समय परिस्थिति र चुनौतिलाई मध्य नजर राखेर दूरदर्शी राजा महेन्द्रले बिधिवत् गैंडा गस्तीलाई भनेर जङ्गलमा हुलेको सेना आजसम्म जंगलमा नै छ ।

राजालाई दूरदर्शी भन्नुको तात्पर्य सेनाको उपस्थिति नहुदो हो त फेरि न वनजङ्गल सुरक्षित रहने थियो न त वन्यजन्तु नै । आजका पिंढीले सजिलै गैंडा र बाघ देख्न पाएको श्रेय राजा महेन्द्रलाई जान्छ; जसले उहिले निकुञ्जको दिगो रक्षाको परिकल्पना गरे र निकुञ्जमा सेनालाई तैनाथ गराए ।

फरक पेशा तालिम र जिम्मेवारीको लागि स्थापना भएको नेपाली सेनालाई जङ्गल डिउटी धेरै घाँडो र थोरै गर्व भएको छ ।

द्वन्द्वको क्षति पूर्ताल अभियान र शून्य शिकार उपलब्धिले मुलुकसँगै नेपाली सेनाको ईज्जत र छवि बढेको छ । ‘गरे सम्भव’ भन्ने नजिर स्थापना भएको छ । सेनाको हौसला र मनोवल शून्य शिकार उपलब्धिले बढाइदिएको छ ।

संरक्षण जिम्मेवारीको ईतिहासमा सेनालाई १० वर्षे जनयुद्ध अपूरणीय क्षतिको सेटब्याक भएको थियो । अर्को संरक्षण खम्बा ‘स्थानीय समुदाय’ दुईतर्फी चेपुवामा पर्दा सेना झन् बैरो र अन्धो जस्तो भएको थियो ।

द्वन्द्वले ३ वटै संरक्षण खम्बालाई छिन्नभिन्न पारेर परस्पर अविश्वास र विरोधीको कित्तामा उभियाइदिएको परिणति आजको पिंढीले भोग्दै छ ।

नयाँ राजनीतिक पद्धति नै असफल सावित बनाउन उद्यत राजनीतिक नेतृत्वको निरिहता र निकम्मापनले आज संरक्षण धरापमा परेको छ । बीचको संरक्षण खम्बा नेपाली सेना आफै राजनीतिक विकृति र कुशासनको दुश्चक्रमा फसेको छ । राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको जालोले गांजेको संघीय सरकार, निकुञ्ज प्रशासन र स्थानीय सरकारको बीचमा सन्तुलन कायम राख्दै अराजनीतिक क्षमता र दक्षताले उसलाई संरक्षण जिम्मेवारी पूरा गर्नुपरेको छ ।

२०७२ सालको महाभूकम्प सेनाको लागि अर्को सेटब्याक भयो । उद्धार राहत र पुनर्निर्माणमा होमिएको सेनाले जङ्गल डिउटीलाई अपेक्षित प्राथमिकता दिन सकेन । पुनर्निर्माणको कामले फिल्डको संरक्षण प्रभावकारितामा ग्रहण लगाईदियो ।

त्यसपछिका भीषण बाढी पहिरोका विपद्ले पनि नेपाली सेनाको मोबिलिटी र कार्यदक्षतालाई खुम्च्याईदियो ।

लामो बाटो तय गरेर संरक्षण इतिहास रचेको नेपाली सेना अहिले धर्म संकटमा परेको छ । सरकारको दोहोरो चरित्रको शिकार भएको छ । सरकारले भाँडेको र उपेक्षा गरेको सीमान्तकृत जनसमुदायको रक्षा उद्धार गर्ने एक्लो बृहस्पति भएको छ ।

संरक्षणमा कोर्स करेक्सन जरुरी

विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको उदाहरण लिउ । ६०५ वटा गैंडाको आश्रय स्थल । थोरै ९३ वटा पाटे बाघ । १२ सय कर्मचारीहरु । एउटा गैंडालाई २ जनाले गोठालो लागेर २४ घण्टा हेर्ने व्यवस्था हुनुपर्‍यो । बाघलाई १० जनाले हरेक सेकेण्ड आँखाको नानीमा राख्न सक्नुपर्‍यो ।

‘बुट्स अन द ग्राउण्ड’ र ‘आई. टि.’ को स्मार्ट प्रयोगले हरेक गैंडा सुरक्षाकर्मीको आँखाभित्र अनिवार्य हुनुपर्‍यो । गैंडा कहा कस्तो हालतमा कसरी बसेका छन्? सबै छर्लङ्ग छ । अब तिनलाई पहरा दिन र आँखाभित्र राख्न कस्ले कहिले के ले छेकेको छ र ? नदीले र ठड्डीले छेक्यो भनेर जिम्मेवारीबाट पन्छिनु लाजमर्दो कुरा हो ।

शिकारीलाई नदी र ठड्डीले नछेक्ने तर सुरक्षाकर्मीलाई छेक्ने बहानाबाजी शीघ्र अन्त्य हुनुपर्दछ ।

निकुञ्जमा तैनाथ फौजलाई वन होइन रक्षा बजेटबाट पालिनुपर्दछ । र, वन बजेटले फौजलाई श्रोत साधन सम्पन्न बनाउनुपर्दछ । चितवनको हकमा १ दर्जन चुस्त फोरह्विल जिप, ४ दर्जन मोटरसाईकल, जनही साईकल, १ दर्जन डुङ्गा, एउटा आईल्याण्डर जहाज र त्यही स्केलको आई.टी. र कम्युनिकेशन ब्याकअप्को अनिवार्य आवश्यकता पर्दछ नै ।

तर वन बजेटमा निर्भर राखेर हामीले फौजलाई सुरक्षित ओत, पिउनेपानी, सफा शौचालय जस्ता न्यूनतम सुविधा उपलब्ध गराउन सकेनौं । सुरक्षाकर्मीलाई भिखारी बनाएर राख्यौं ।

निकुञ्जलाई एकदेखि अर्को नजरी मिलापमा रहेका बाक्ला गार्डपोष्ट, मचान, नेष्ट र सिसि क्यामराले मजबुत सुरक्षा दिनैपर्दछ । भिखारी र अस्थायी सुरक्षाकर्मीबाट संरक्षण सम्भव छैन ।

राज्यले दूरदराजमा रहेका निकुञ्जभित्र र वरिपरि रहेका स्थानीय समुदायलाई शीघ्र सुखी खुशी र सम्बृद्ध बनाउनुपर्दछ । अपिनाम्पा संरक्षण क्षेत्र भित्रको ब्यास क्षेत्र होस् वा चितवन राष्ट्रिय निकुञ्ज पारिको सुस्ता क्षेत्र र चेपाङ्ग गाउ बस्तीहरु त्यहाँ राज्यको न उपस्थिति छ न त ध्यान दृष्टि ।

सिंहदरबार केन्द्रित सम्बृद्ध सरकारको उपेक्षित अपहेलित गरिब र भिखारी जनताबाट गैंडाको सुरक्षा सम्भव छैन । हामीले विकास शहर केन्द्रित होइन विकट दुर्गम दूरदराजका गाउँ केन्द्रित गर्नुपर्दछ र पहिला बफर जोनका स्थानीय समुदायको जीवनस्तर माथि उठाउनुपर्दछ । तब मात्र उनीहरु गैंडाको स्वामित्व ग्रहण गर्न र रक्षाकबच प्रदान गर्न तयार हुनेछन् ।

संरक्षण क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्न र सुशासनको प्रत्याभूतिले निर्देशित एवं सञ्चालन र व्यवस्थापन गर्ने संयन्त्र बनाउन जरुरी छ । निकुञ्ज प्रशासन र त्यहाँ तैनाथ सुरक्षा फौज बीच चेक एण्ड ब्यालेन्सको पारदर्शी प्रणाली स्थापित हुनुपर्दछ । सैनिक हिसाब किताब निकुञ्ज प्रशासनले र निकुञ्जको सञ्चालन व्यवस्थापन फाँटवारी सेनाले जान्ने थाहा पाउने पारदर्शी प्रणालीले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुर्‍याउने छ।

यी कोर्स करेक्शनमा बिलम्ब गर्नु हुँदैन । यी प्रमुख शीर्षक भित्र रहेर आन्तरिक सुधार गर्नुपर्ने तमाम् ऐन तथा नीतिगत् संरचनागत र समन्वयका पक्षमा शीघ्र सुधार गर्नुपर्दछ । त्यसले प्राचिन संरक्षण मोडलमा व्यापक परिवर्तन र सुधारको बाटो खोल्ने छ र ‘गेम चेञ्ज’ को लागि मार्ग प्रशस्त गर्ने छ ।

कोर्स करेक्सनको अर्को महत्वपूर्ण पाटो निकुञ्ज व्यवस्थापन हो । चितवनमा ३५ करोड बजेटले ३ गुणा बढी याने कि १ अरब ५ करोडको शीघ्र र दरो परिणाम आउनुपर्दछ । किनभने बाँकी २ संरक्षण खम्बा नेपाली सेना र स्थानीय समुदायको श्रमदान घोलेर निस्कने परिणाम धेरै गुणा छिटो र मिठो हुने छ । त्यसको लागि आर्थिक नियमको घुसिया ढिलासुस्ती प्रक्रिया तोडेर चीफ वार्डेनको प्रत्यक्ष नेतृत्वमा फाष्ट ट्रयाकबाट काम फच्चे गर्ने व्यवहारिक आर्थिक ट्रयाक टू को साहसिक प्रयोगको बाटो पहिल्याउन जरुरी छ ।

अल्पकालिन सुरक्षा

आशा गरौं, कोर्स करेक्शनको मध्य एवं दीर्घकालिन योजना बनाउने र लागू गर्ने काम हुँदै जालान । तर अल्पकालिन सुरक्षा व्यवस्था सुदृढ गर्न विलम्ब गर्नु हुँदैन ।

सुरक्षाकर्मीको फिल्ड हाजिर ज्यादै न्यून भयो । पूरा नफ्रीको उपस्थिति र बाक्लो गस्ती, सर्वत्र गस्ती र सर्वत्र दृष्टि पुर्‍याउने प्रभावकारी गस्तीमा जोड दिनुपर्‍यो । सेना छ, गस्ती पनि छ, स्मार्ट पट्रोल र सि.सि. क्यामरा पनि रुखमा झुण्डिरहेको छ तर गैंडाको चोरी शिकार पनि भइरहेको छ भने त्यो असरदार गस्ती भएन । ६ महिनासम्म मृत गैंडा फेला नपार्ने गस्तीको काम छैन । त्यो गोहीको जस्तो आराम भयो ।

घटना घट्नु अगाडि चीफ वार्डेन र गणपतिलाई अग्रीम सूचना प्राप्त हुनुपर्दछ । घटना कुनै हालतमा घट्न दिनु हुँदैन र कथम् कदाचित् घटि हालेमा अपराधीलाई छिनभरमा पक्राउ गर्ने सामथ्र्य हुनुपर्दछ चीफ वार्डेनसँग । समुदायसँग टुटेको लिंक स्थापना गर्न, ईण्टेलिजेन्स रकम सदुपयोग गरेर सूचना सञ्जाल चुस्त राख्न र सि.वि.ए.पि.यु.लाई जगाउन बिलम्ब भइसकेको छ ।

अन्त्यमा, संरक्षणमा झारो टार्ने काम नहोस् । सरकार जति कमजोर फितलो र असफल हुँदै जान्छ, फिल्डमा तैनाथ फ्रण्टलाईन स्टाफ (चीफ वार्डेनदेखि गेमस्काउट र सिपाहीसम्म) उति अग्राख जस्तो दृढ र मजबुत हुनुपर्दछ । नेपाली सेना झन् फलामजस्तो कठोर हुनुपर्दछ । प्रकृति र संरक्षणप्रेमी स्थानीय जनसमुदाय साझा संरक्षण छाताभित्र गोलबद्ध भएर नेपाल आमा र भावी सन्ततीको स्थायी पूँजि रक्षाका लागि मिलिजुली त्याग गर्नुपर्दछ । मृत बच्चा गैंडाको कलिलो आत्मासँग माफी मागेर आजका घडिमा गर्नुपर्ने अठोट र संकल्प बस् यही हो ।

जय प्रकृति संरक्षण ।

बाबुकृष्ण कार्की, बाघ गोठालो

 


Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format