काठमाडौंका तारे होटलहरुमा महिला हिंसाका विरोधमा थुप्रै गोष्ठी सभा सेमिनारहरु आयाेजना हुन्छन् । उनीहरु थुप्रै विषया चर्का र गहकिला भाषण गर्छन् कार्यपत्र पेश गर्छन् अध्ययन रिपोर्ट पनि बनाउँछन् । तर एउटा विषय यस्तो छ जुन सुन्दा मात्र पनि जिउ सिरिङ्ग हुन्छ तर यहाँका महिला अधिकारका बारेमा बोल्ने व्यक्तिहरु तथा संस्थाहरु समेत पनि केही भन्न गर्न चाहँदैनन् ।

रजस्वला भएकी महिलालाई अलग्ग व्यवहार आज पनि काठमाडौं लगायतका गाउँ शहर जहाँ पनि धेरै थोरै गरिन्छ । समाजले गरिएको यस्तो व्यवहारले गर्दा एकातिर उनीहरु नै यसबारे खुलेर बोल्न सकिरहेका छैनन् भने यस्तो बेलामा उनीहरुलाई चाहिने विशेष स्वास्थ्य सेवा वा सुविधा उपलब्ध भइरहेका हुँदैनन् । त्यसमा पनि सुदुर पश्चिमको जिल्लाहरुमा रजस्वला भएका महिलाहरुमाथि गरिने अमानवीय व्यवहार शहरमा बसेर कल्पना गरिने भन्दा पनि बढी पीडादायक हुन्छन् ।

अछाम लगायत सुदूरपश्चिमका अधिकांश सुगम शहर र दुर्गम गाउँको एक दुर्भाग्य । यस सौम्य, प्राकृतिक सौन्दर्य, अगाध जलश्रोत, भाषा, भेषभूषा र अन्य थुप्रै सम्पदाको गर्व गर्ने यहाँका खस आदिवासीहरुको एउटा तितो यथार्थ भनेको छाउपडी हो । अहिले पनि जाडोमा त्यहाँ चिसाेमा गोठ जस्तो ठाउँमा सबै महिलाहरु महिनै पिच्छे सुत्न बाध्य छन् । अलि अलि सुधार भयो भन्ने त बहाना मात्र हो ।

छोरी मान्छे एउटा उमेरमा पुगेपछि छाउ (रजस्वला) हुनु भनेको एक सामान्य शारीरिक प्रक्रिया हाे । यो भनेको महिला शरीरको धर्म हो । यसको अरु कुनै धर्म संस्कृतिसँग कुनै प्रकारको पनि सम्बन्ध हुँदैन । यो कुनै देउतालाई मन पर्नुपर्छ वा मन नपर्नसक्छ भन्ने पनि आवश्यक कुरा होइन । यदि कुनै देउतालाई यो मन पर्दैन भने ऊ देउता होइन । कुनै देवतालाई महिलाको रुपमा पुज्ने हो भने त्यो देवीमा पनि त यो एउटा गुण हुनुपर्छ, होइन भने त्यस देवीलाई महिला बन्ने पनि अधिकार हुँदैन ।

हुन त विश्वका अरु अरु देशमा पनि रजस्वलासँग सम्बन्धित विभिन्न मिथक वा कथा र अन्धविश्वास गाँसिएका हुन्छन् । प्राचीनकालमा जुदाइज्म र बाइबलको युगमा महिलाहरुलाई यस कुरामा भेदभाव गरिन्थ्यो, अझ पुनर्जागरणकालमा समेत यसलाई हेय वा फोहोर कुरा भन्ने गरिन्थ्यो । २०औं शताब्दीमा पुग्दापुग्दै युरोपले यसलाई सहजरुपमा स्वीकार गर्‍यो, यो स्वास्थ्य र सरसफाइको कुरा भनेर बुझ्यो अनि यसलाई सहज र सुविधाजनक गर्न विभिन्न प्रयोगहरु गर्‍यो ।

तर हाम्रो हिन्दु धर्मको बाहुल्यता भएको देशमा भने आजसम्म महिलाहरु यस विषयमा सुन्ने गरेर कुरासम्म गर्न पनि सक्दैनन् । हिन्दूधर्ममा धेरै किसिमबाट यसलाई घृणा गरेको, यसबेलामा महिलाहरुलाई नै अपमानित गरेका धेरै दृष्टान्त दिन्छन् हिन्दु धर्मका विद्वानहरु । रजस्वला भएको बेलामा अन्न फूल, बालीनालीमा छुन हुँदैन, चुलाचौका गर्न हुँदैन, मन्दिर जानु हुँदैन, पूजा गर्न हुँदैन भन्ने चलन अद्यापि हिन्दुहरुमा र हिन्दु धर्म ग्रहण गरेका जनजाति परिवारमा पनि धेरैथोरै पाइन्छ ।

योभन्दा अलग्ग नेपालको सुदूरपश्चिम क्षेत्रमा — विशेष गरी दार्चुला, बैतडी, डडेलधुरा, बझाङ, बाजुरा, अछाम, हुम्ला, मुगु, जुम्ला, कालिकोट इत्यादि जिल्लामा — रजस्वला हुनुको अर्कै अर्थ र नियति छ । त्यहाँ कुनै किशोरी वा महिलालाई रजस्वला अवधिभरि आफ्नै घरमा बस्ने पनि अधिकार हुँदैन ।

उनीहरुलाई विश्वास छ कि उनीहरुका कुलदेउता जहाँ पनि हुन्छन् — खेतमा, बारीमा, चौरमा, पहाडमा, खोलामा, डाँडा पाखामा, घरमा, बगैंचामा, भान्छामा, भर्‍याङमा, कोठामा । उनीहरुको देउतालाई रजस्वला हुने महिलाहरु अशुद्ध हुने भएकाले मन पर्दैन रे, अनि उनीहरु अगाडि पर्‍यो भने, छोयो भने ती कुलदेउताहरु रिसाउँछन्, परिवारको नाश हुन्छ, बाली सपिँदैन रे । अझ यस्तो चलन बारेन भने मुख बाङ्गिन्छ वा बाघ आएर खान्छ भन्ने समेत विश्वास पाल्छन् तिनीहरु, त्यो पनि आजको युगमा ।

सुधारिएकाे भनिएकाे छाउगोठमा लेखक

त्यसैले यस २१आैै शताब्दीमा पिन उनीहरुले रजस्वला भएकाहरुले गर्दा आफ्ना देउताहरु नरिसाउन् भनेर आफ्नै आमा, श्रीमति वा छोरी नै भए पनि त्यस्तो बेलामा घरमा सुत्न दिँदैनन् । अझ उनीहरु यताउति जालान् र बाटोमा देउता भेट्लान् भनेर कतै जान पनि दिइँदैन, कैद गरेर राख्नु उचित सम्झिन्छन् । आफ्नो देउता नरिसाउन् भनेर महिलाहरुका इच्छा, स्वास्थ्य र स्वतन्त्रताको समेत बलिदान दिइन्छ । मानिसलाई रुवाएर देउतालाई खुशी पारिन्छ ।

सामान्य स्थानीय भाषामा छाउ भनेको रजस्वला हो अनि पडी भनेको प्रथा । यस्तो बेलामा बस्ने ठाउँलाई छाउगोठ भनिन्छ । यो छाउगोठ ठाउँअनुससार फरक हुन्छ । कतै गाईभैंसी नै राख्ने ठाउँमा पठाइन्छ भने सामान्यतयाः अलग्गै छाउगोठ बनाइएका हुन्छन् । एकजना पनि खुट्टा पसारेर सुत्न नमिल्ने, घुँडा टेक्दा पनि टाउकेले छतमा छुने । त्यहाँ झ्याल हुँदैन, झ्यालजत्रो घस्रेर जाने चौकोस हुन्छ, खापा हुँदैन, फलेक ढप्काएर हावा छेकिन्छ । स्वाभाविक हो, सर्प इत्यादिको डर त छँदैछ, बलात्कारको शिकार हुने सम्भावना समेत छ । यस्तो बेलामा स्यानिटरी प्याडजस्तो केही नहुँदा फोहोर र संक्रमण त हुने नै भयो ।

कति दिन छाउ बस्ने भन्ने गाउँ र समयअनुसार फरक हुन्छ । सामान्यतयाः किशोरीहरुलाई पहिलोपल्ट रजस्वला हुँदा एघार दिन र अरु बेला सात दिन छाउ राखिन्छ । आजभोलि चार दिन राख्छौं भन्छन्, बाहिरियाहरुले सोधे भने ।

यी क्षेत्रबाट काठमाडौं आएर बसेका थुप्रै नेताहरुको नाम लिन सकिन्छ । त्यहाँबाट आएकाहरुले देश बनाएको डिङ हाँक्छन् उनीहरु तर आफ्नो क्षेत्र जसको खण्ड र अखण्डको नाममा आन्दोलन पनि गर्छन् तर यहाँको छाउपडीबारे भने कोही बोल्दैनन् । महिला अधिकारका कुरा गर्नेहरु पनि यसबारे आन्दोलन चलाउँदैनन्, चलाएको देखिँदैन वा सार्थक भएनन् ।

करिब २० वर्ष अगाडि अस्मिता पत्रिकाले यसबारे कुरा उठाएको थियो । अहिले पनि छिटपुट लेखरचना वा रिपोर्टहरु छापिन्छन् । यहाँ घरैपिच्छेजस्तो गैरसरकारी संस्थाहरु भेटिन्छन् । कतिपय गाविसमा छाउपडी मुक्त भनेर बोर्ड राखिएका हुन्छन् तर छाउगोठमा आवतजावत भएको दृश्य भने देखिन्छ नै । कतिले गोठ भत्काउने अभियान चलाएको पनि सुनिन्छ, तर प्रथा भत्काउँदैनन् उनीहरु ।

माओवादीले पनि केही त गर्न खोजेको जस्तो देखिन्थ्यो । सन् २००५ मा सर्बोच्च अदालतले नै छाउपडी प्रथा अन्त गर्न निर्णय गरिदिएको थियो तर व्यवहारमा भने यसलाई रोक्न सकिरहेको छैन । अहिले पनि बजारतिर नयाँ मान्छे देखियो कि त्यहाँका पुरुषहरु आफै छाउपडीका कुरा गर्न तम्सिन्छन् । एनजिओ आयो भनेर जिस्काउँछन् अनि दिउँसो बजारमा छाउपडीको विरोध गर्ने आइमाईहरु आफै छाउ बस्छन् भनेर गिज्याउँछन् । पक्कै पनि समस्या धेरै छ, भन्न जस्तो सुल्झाउन त्यति सजिलो छैन ।

आखिर काठमाडौं केन्द्रित महिला अधिकारकर्मीहरु पनि किन नेपालका महिला अधिकारकर्मीहरु छाउपडीका विषयमा बोल्न चाहँदैनन् त? धेरैलाई यो कुरा पाच्य नहोला तर यो एउटा तीतो यथार्थ — नेपालमा महिला अधिकारका बारेमा बोल्नेहरु धेरै जसो यही समुदायसँग सम्बन्धित छन् । उनीहरु देशभरिका समस्यामा कोट्याउन चाहन्छन् तर यसमा बोल्न डराउँछन् । अनि घुमाउरो तरीकाले यसैको वकालात गर्न लागेका हुन्छन् । अनि कहाँ हुन्छ त समाधान ? कहिले हुन्छ त यसको अन्त्य?

( केही वर्ष अघि महिलामाथि हुने यौन हिंसाबारे अध्ययन गर्न डडेलधुरा, अछाम र कैलाली भ्रमणको अनुभवको आधारमा)

 

This article was written by Razen Manandhar and was first published on Medium.

Please connect with us if you are interested in submitting your article/opinions via nepalisite.com/contact or via Facebook


Like it? Share with your friends!

Nepalisite