कोरोना महामारीको बन्धन तोडेर प्रकृतिको काखमा रमाउन भनेर हिँडें । मार्ग ७ देखि १० गतेसम्म भोटेकोसी, तामाकोसी हुँदै सगरमाथादेखि आएको दुधकोसीलाई नजिकबाट नियालें । हरेक कोसीको किनारमा गएर पवित्र पानीको बहावलाई हेरें । पानीको छङ्गछङ्ग मिठो आवाज सुनें । कोसीको मनोविज्ञान बुझ्ने प्रयास गरें ।

कोसीको गुनासो

“विशाल कोसीले भनिरहेकी थिईन– मरो तिब्र धार हेर । तेज गति हेर । अण्डर करेण्ट महाशक्ति हेर । तर म हरेक सेकेण्ड सेकेण्ड खेर गइरहेकी छु। हजारौं वर्ष भइसक्यो खेर गएको।

मैले गुन लगाउन खोजेको मानव अन्धकारमा छ । उसको खेत बारी बिना सिंचाईको सुख्खा छ । उसको घर गाग्रीमा पिउने पानी छैन । जल यातायातको सम्भाव्यता टाढाको कुरा भयो ।

Sunakoshi River, Nepal

उहिले कोशी गड्तिरमा ठूलठूला वर पिपलका अजङ्ग रुखहरु हुन्थे । ती रुखहरुसँग अग्ला ठूला सिमलका रुखहरुले प्रतिस्पर्धा गरिरहेका हुन्थे । एउटा चौतारोमा पंक्षीहरुको सुन्दर संसार हुन्थ्यो । साँझ बिहान पंक्षीहरुले संगित भरेर कोसी किनार वारिपारि गुञ्जायमान बनाउदथे । चौतारीमा बाख्रा वस्तु गोठालोले आराम विश्राम संवाद गरेर बिताउदथे । अगाडि चौरमा स्कुले नानीहरु डण्डीबियो र फुटबल खेल्ने गर्दथे । कोशी गड्तिरमा वारिपारि हरियो वन जंगल थियो । साल र खयरका चाम्रा बलिया रुखहरुले भीर पहिरो थामेका हुन्थे । जंगल भित्र पानी घट्ट चलिरहेका हुन्थे । हाम्रो सानो कुलोले गाउलेको अर्गानिक उत्पादन छिनमा धुलोपिठो पारिदिन्थ्यो । त्यस्तो पिठोको स्वाद र पोष बिछट्टै राम्रो र स्वास्थ्यमैत्री हुन्थ्यो ।

कोसी बीच बीचमा आईल्याण्ड बनेका हुन्थे । हरियो वन जंगलको बलमा टिकेका सुन्दर आईल्याण्डहरुले रैथाने वन्यजन्तु र पंक्षीलाई रामराज्य उपलब्ध गराएको जस्तो लाग्दथ्यो । जैविक विविधताको राम्रो संरक्षण हुन्थ्यो त्यस्तो टापुहरुमा । कोसीको बीचमा वर्षामा बगिआएका रुखहरु अड्केका हुन्थे । ती रुख र बडेमानका ठूल–ठूला ढुंगाहरुमा किङ्ग फिसर लगायतका शिकारी चराहरुले अड्डा जमाउने गर्दथे । डाईभ् हानेर असला माछा शिकार गर्दथे ।

बल्छी र जाल हान्ने माझी तथा शिकारी चरा दुवैलाई असला माछा फ्याँका फ्याँक पुग्दथ्यो ।

Fisherman in Dudhkoshi River.

त्यो सुन्दर अतित् । त्यो रामराज्य ।अहिलेको परिस्थिति पृथक छ । ज्यादै विषम र प्रतिकूल छ । म भन्नेलाई लाज, तिमी सुन्नेलाई झन् लाज ।”
आफू भावुक भएर नदीलाई आफ्नो पीडा सुनाउन आग्रह गरें । कोशीले पीडा वर्णन गर्दै गईन्–

“वर पिपलका चौतारा काटेर घाँस दाउराको लागि सफाचट् । उत्ताउलो र वातावरण अमैत्री विकासले भिरपाखा पहिरोको बिपद् । वन जंगलको ठाउँमा डोजर स्काईभेटर र टिपरको लर्को र दिनरातको कटानी तथा ढुंगा गिट्टी बालुवा संकलन । खोला किनारा भरि क्रसरका करङ्ग र ध्वनी तथा वायु प्रदुषण । कोसीलाई थुन्ने छेक्ने फर्काउने निमोठ्ने गरेर हेभि उपकरणहरुले दिनरात बलत्कार गरेर हैरान । जसको शक्ति उसको भक्ति लयमा । आफ्नो मालिक तपाई मान्छेहरुको ढलले पवित्र पानीको रङ्ग र स्वाद विषाक्त ।

Ghurmi Dudhkoshi, Nepal

आजका मितिसम्म अनुत्पादक भएर खेर जाने क्रम जारी छदै छ । अझ विपद् र आँसुका श्रोत भनेर उल्टो सत्तोसराप खानुपरेको छ हामीले । आधुनिक मानवको घमण्ड र अहंकारले आफ्नो दोष मरे नदेख्ने, उल्टै हाम्रो मात्र दोष देख्ने दोषी चस्माको चरम पीडामा छौं हामी कोसीहरु । न सफा र शुद्ध पानी। न वनजंगलको फिल्टर । न माछा ।

उग्लिएका खुईलिएका कुरुप हामी कोसीहरु ।

हाम्रो भाषा, मनोविज्ञान बुझ्ने र सदुपयोग गर्न दृढ संकल्प भएको एउटा पनि संवेदनशील सरकार हुँदो हो त हामी स्वर्गलाई सम्वृद्धि दिने थियौं । बिडम्बना हामी थोपा थोपा बेचिने र ढल बोक्नेमा दर्ज भयौं ।”

रामराज्यको कल्पना

कोसीको यो पीडा सुन्दै गर्दा कोशी किनारमा सफा बालुवाको थुप्रो देखें । कोशी मातासँग ‘बास पाउँ’ भनेर सादर अनुरोध गरें । सानो टेण्ट टागेर ढले पडेका ठूटाहरु संकलन गरेर आगोको धुनी जगाएँ ।

कोशीको यात्रा र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग आफ्नो गहिरो रहर हो । सैनिक युनिफर्म र डिउटीमा कोशी किनारमा धेरै ठाउँ धेरै पटक सुन्दर शान्त रात बिताएको अनुभव छ आफूसँग । तर फिसिङ्गको विरोधी भएकोले समान विचारको मित्र भेट्टाउन कठिन हुन्छ प्राय: ।
जलिरहेको मुढो र एकनास चञ्चल कर्तल ध्वनीका साथ बगिरहेको कोसीलाई हेरेर मन उद्वेलित भयो । कोसीको अत्यन्त जायज गुनासोले छटपटी भयो । अनि, मनले रामराज्यको कल्पना गर्‍यो–

“यी डोजर टिपरको बजार बन्द होस् । क्रसर उद्योग व्यवस्थित हुन् । टिपरको ठाउँमा रंगीचंगी र्‍याफ्टहरुमा पर्यटकहरु बगिरहुन् । बीचबीचमा विश्राम लिएर बिचभलिवल खेलून् । क्याम्पिङ्ग गरुन् । वारिपारि हरियो वन जंगल होस् । वन्यजन्तु र पंक्षीको स्वर्ग होस् । यात्राको दौरान विभिन्न रैथाने प्रजातिको अवलोकन हुन सकोस् ।

Tama Koshi, Nepal

कोशीको पानी यति सफा र शुद्ध होस् कि पुर्खाले जस्तो अँजुलीमा थापेर पिउन योग्य होस् । असला माछा, गोही, कछुवा आदि जलचरहरुको रमिता लाग्दो आश्रय होस् । जात् जातका किङ्ग फिसरहरुको होभर डाईभ् र माछा शिकार क्यामरामा कैद गर्न पाईयोस् ।

हरेक १ घण्टाको यात्रामा सफा शौचालयको व्यवस्था होस् । गाईड् अनुगमनकर्ता र उद्धार टोलीको ठाउँठाउँमा उपस्थित होस् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस् । विश्राममा जंगली केरा, जंगली आँप, लहरे आँप, लप्सी, बयर, ऐंशेलु, मेवा देख्न चाख्न पाईयोस् । धंगेरोको फुल चुस्न पाईयोस् ।

कोशी किनारका बेंसीहरुमा ठूलठूला पोखरी हुन् । माछा, बंगुर, पशुपालन र परम्परागत अर्गानिक कृषि व्यवसायले किसानहरु सम्पन र सम्वृद्ध हुन् ।
रात्री स्टेशनमा बिच लाईफको व्यवस्थित बसोबासको व्यवस्था होस् ।

कोशीले काम पाउन् । झिलिमिली बिजुली निकाल्दै बगिरहुन् । सिंचाईले बेंसी र फाँटाहरु सदाबहार हरियाली बनाईदिउन् । पौडी, क्यानोईङ्ग, र्‍याफ्टिङ्ग, बञ्जी आदि साहसिक खेलको सुविधा प्रदान गरुन् ।

बीच बीचमा प्राकृतिक ‘स्याण्डपार्क, रकगार्डेन्, बिचपार्क, वाटरपार्क, ग्रीनपार्क, अर्गानिक कृषिपार्क, फुड्पार्क, फिसिङ्गपार्क हुन् ।”

राजधानीमा कुवाको बन्धक जीवन बिताउन बाध्य युवा, विद्यार्थी, बालबालिकाले कति खुशी भएर स्वर्गको सयर गर्ने थिए । साप्ताहिक छुट्टी कति उमङ्गसाथ बिताउने थिए ।

गौरीशंकर, सगरमाथा, मकालुवरुण हिमाल आरोहीहरु जलयात्रा गरेर अर्को सुन्दर कोशीटप्पु वन्यजन्तु आरक्ष पुग्ने थिए ।

सबै मुलुकले जमिन (माटो) जल जंगललाई पूजा आराधना गर्दछन् । हाम्रो धर्म संस्कृतिले पनि ईश्वर मान्दछ । तर हामी कलियुगका घमण्ड र अहंकार पालेर बसेका चतुर मानवहरु किन प्रकृतिमैत्री हुन नसकेका ? अरु देशले जललाई सम्वृद्धिको जग र भर्‍याङ्ग बनाएको देखासिकी र नक्कल गर्न हामीलाई के ले छेकबार गर्‍यो ? अनि किन पवित्र सेतो दूर्लभ हिमालको कञ्चन सफा निलो चिसोपानी हामी व्यर्थ खेर फ्याँकिरहेका छौं । अझ पवित्र नदीहरुलाई बलत्कार गर्न उद्यत छौं । र, सिङ्गा नदीहरुलाई एकपछि अर्को गोलमटोल कौडीको भाउमा बेचिरहेका छौं ?

कोशी नदीहरु जस्तै कति धेरै पुर्खाहरु रोए होलान् । आज हामी पीडा महशुस गर्दै छौं । र, जानी जानी भावी सन्ततीलाई अझ धेरै बिपद् र पीडाको भुँग्रोमा धकेलिरहेका छौं ।

संरक्षण अभिभारा

नदीहरु भावी सन्ततीका स्थायी र जीवन्त पूँजि हुन् । नेपाली जनताका ढुकढुकी हुन् । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका जन्मदाता र जग हुन् । हिमाल तराई जोड्ने अटूट माला हुन् । सौन्दर्यताका गहना हुन् । राष्ट्रिय प्रतीक हुन् । सम्वृद्धिका श्रोत हुन् । हिमाल खुईलिए नदी सुक्नेछन् । नदी सुके तराई मरुभूमि हुने छ । हिमाल, पहाड, चुरे, मधेश बीचको साईनो र अन्तरसम्बन्ध गहिरो, दोहोरो र पेचिलो छ । पेचिलो यो अर्थमा हिमाल भूकम्पले काम्यो महाभारतमा पहिरो गयो । तराईमा बाढीले भिमकाय पौडीबाज् गैंडाहरुको झुण्ड बगाएर भारत पुर्‍यायो । यो एउटा ताजा उदाहरण मात्र हो ।

हामीले पाईला–पाईलाका गल्ती माथि गल्ती सच्याउनु र रोक्नुपर्दछ । मनपरि छाडा अतिक्रमण बन्द गर्नुपर्दछ । सुन्दर पर्वत पहाडका खुट्टा घुँडा कट्टी कन्दानी खुईल्याउन र काट्न बन्द गर्नुपर्दछ ।

Author at Dudhkoshi, Nepal

राज्यको राम्रो पूर्व तयारी, अनिवार्य सावधानी, पूर्वजनाउको भरपर्दो संयन्त्र, चुस्त उद्धार योजना हुने हो भने विपद्को क्षति न्यून गर्न अथवा शून्यमा झार्न सकिन्छ । तर राज्य अनिवार्यरुपमा प्रकृति र वातावरणमैत्री हुनैपर्दछ । जलजमिन जंगलको माया, सम्मान र दिगो संरक्षण गर्नैपर्दछ । तबमात्र मनसुन होस् वा अन्न फलाउने वर्षाद्, अथवा सुन्दर झरना, ताल, खोला सबै हाम्रा लागि प्राकृतिक सौन्दर्यताका उपहार र वरदान हुने छन् । प्राकृतिक सौन्दर्यता र बिपद् न्यूनको सन्तुलन प्रकृतिमाता आफैले मिलाउने छिन् । बिपद् न्यूनिकरण अथवा शून्यताको जिम्मेवारी पनि प्रकृति आफैले लिने छिन्।

खोला दोहन र विनाश अति भयो । यो वर्षमात्र ४८३ को मृत्यू । १०१ जना बेपत्ता । ८५६ घाईते । कति घरवारबिहिन र अरबौं रुपयाको धनमाल क्षती । सरकार त्यसको संरक्षक र निर्देशक हो । प्रकृति र संरक्षणबिद् सचेत अध्येता, अनुसन्धानकर्ता र साक्षी हुन् । खबरदारी गर्ने र प्राकृतिक श्रोत साधनको स्वामित्व लिने काम थोरै सरकारको धेरै स्थानीय जनताको हो । नेपाली सेना लगायत सुरक्षा निकायहरु संरक्षण साझेदार र खम्बा हुन् । हामी सबै मिलिजुली जलको संरक्षण र सदुपयोग गरौं । बिपद्, दु:ख, क्षतिको थप पीडा रोकिहालौं ।

जय प्रकृति संरक्षण।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format