अन्नपूर्ण हासीदेऊ ।
लालिगुँरास फुलिदेऊ ।।
डाफे मुनाल गीत गाइदेऊ ।
कस्तुरी मृग नाचिखेऊ ।।
मुक्तिनाथ आशिष देऊ ।
प्रकृति बचाईदेऊ ।।

सैनिक सुपिङ्ग क्याम्पस भिमफेदीले ठीक ४० बर्ष अगाडि मुक्तिनाथलाई शैक्षिक भ्रमणको गन्तव्य बनायो । भूगोलको बिद्यार्थी १७ बर्षे ठिटो पंक्तिकारलाई स्वर्ग नियाल्ने अपूर्व अवसर प्राप्त भयो । जति हेर्‍यो उति सुन्दर, जति बुझ्यो उति रहस्यमय र जति जान्यो झन् झन् अपराम्पार थियो अन्नपूर्ण संरक्षण क्षेत्र । पैदल यात्रा गरेर मुक्तिनाथ पुगेपछि रचेको छोटो कविता शिरमा राखेर यो आलेख पाठक समक्ष पस्किएको छु ।

आफ्नो सैनिक क्याम्पसको गन्तव्य रोजाई देखेर लाग्यो पहिलेका प्राध्यापकहरु साहसिक र दुरदर्शी थिए । शैक्षिक भ्रमण अत्यन्त शिक्षाप्रद र अविस्मरणीय हुन्थे ।

अन्नपूर्ण क्षेत्रसंग पहिलो भेटमा आफ्नो गहिरो माया प्रेम बस्यो । प्राकृतिक मनोरम दृष्य । जैबिक बिबिधताको खानी । सांस्कृतिक बिबिधताको विशिष्ट आकर्षण । भौगोलिक बिबिधता झल्किने सुन्दर भूआकृति । प्रकृतिप्रेमी स्थानीयबासीहरुको न्यानो आतिथ्यता र अतिथि देवो भव: ।

Jomsom

यो पनि पढ्नुहोस:प्यारी छोरीलाई पत्र

खम्पा बिद्रोहको केन्द्रबिन्दु

सैनिक कलेजको अध्ययनले सैनिक भर्तीको बाटो खोलिदियो । सैनिक पोशाकमा तालिम, भ्रमण, उद्धारको शिलशिलामा धेरै पटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्ने अवसर प्राप्त भयो ।
रहस्यका रोचक पत्रहरु खुल्दै गए ।

एउटा स्वतन्त्र र सार्वभौम मुलुकको उत्तरी सीमानामा किन र कसरी बिदेशी चेकपोष्टहरु लहरै स्थापना गरिए ? ती चेकपोष्टको ईण्टेलिजेन्समा टाढाको शक्ति मित्र राष्ट्रले कसरी हिमाल पारिका जिल्लामा गुरिल्ला क्याम्प खडा गरे ? आज भन्दा ५६ बर्ष अगाडि उच्च हिमाली क्षेत्रमा बिदेशी पाईलटहरुले कसरी दुरुस्त नेभिगेशन गरेर भारी हातहतियार गोली गट्ठा र लजेष्टिकको सप्लाई दिए ? असंलग्न परराष्ट्र नीति अंगालेको एउटा तटस्थ मुलुक, शान्तिका दूत भगवान गौतम बुद्धको शान्ति क्षेत्र, शान्तिकामी जनताको प्राण भन्दा प्यारो देश माथि कसरी बिदेशीहरुले धावा बोलेर कब्जा गरेका रहेछन् ? र, भूपरिवेष्ठित परिेवेश सहन बाध्य मुलुकको भर्जिन ल्याण्ड माथि लामो दूरीको स्ट्राटेजिक पार्टनर मुलुकबाट कसरी गोप्य भर्टिकल एन्भेलोपमेन्ट भइसकेको रहेछ ? अध्ययन अनुसन्धान गर्न पाइयो ।

तत्कालिन शाही नेपाली सेनाले त्यस्तो दुर्गम र बिकट हिमाली भू–भाग भित्र चुपचाप कसरी कति छिटो गोप्य सैनिक अपरेशन लञ्च गरे र क्याम्प कब्जा गरेर पवित्र हिमाललाई पुन: स्वतन्त्र राख्न सफल भए अर्को रोचक अध्ययनको पाटो । शाही सेनाको कमाण्डरको छनौट, अपरेशन योजना तर्जुमा, लजेष्टिक कठिनाई, पैदल ईन्फिल्ट्रेशन, एक्सप्लोईटेशन र पर्सुईट, लिडरसीप हण्टिङ्ग, विथड्रलबाट सिक्नु पर्ने मनन योग्य पाठहरु कति कति?

बल्ल एउटा सार्वभौम मुलुकको आँखा कान खुल्यो । उत्तरी सीमानाका बिदेशी चेक पोष्टहरु कति हानिकारक रहेछन् भनेर अक्कल आयो । बिदेशी हस्तक्षेपबाट भू–परिबेष्ठित मुलुकलाई बचाउन ईण्टेलिजेन्स पावर र काउण्टर ईण्टेलिजेन्स अपरिहार्य रहेछ भनेर घैंटामा घाम लाग्यो ।

कैसाङ्ग ब्यारेक स्थापना

तत्कालि राजा बीरेन्द्रको स्मार्ट भिजन र निर्णय । प्राचिन शाही सेनाको क्वीक एक्सन । बिद्रोही खम्पाको ध्वस्त क्याम्प माथि आफ्नो क्याम्प खडा गर्ने साहसिक पहल र निर्णय । अन्नपूर्ण हिमाल स्वतन्त्र मात्र भएन, एउटा अन्तर्राष्ट्रिय स्तरको गौरवयोग्य बेसक्याम्प उपहार पायो । पछि त्यसलाई माउण्टेन वारफेयर स्कूलमा परिणत गरियो । आज त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्कूलमा स्वदेशी बिदेशी सैनिकहरुले पर्वतारोहण कला र हिमाली सैनिक कलाको प्रशिक्षण लिइरहेका छन् । हिमालको काखमा अवस्थित ऐतिहासिक महत्वको स्कूलले अन्नपूर्ण संरक्षण क्षेत्रको प्रचार प्रसार गरिरहेको छ ।

Rhododendrons flowers in Annapurna Conservation Area.

अन्नपूर्ण संरक्षण क्षेत्र अवधारणाको गर्भाधान

जब भारतिय चेकपोष्ट तत्काल हटाउने निर्णय भयो । सैनिक कुटनीति र ट्रयाक टू वार्ताको माध्यमबाट चेकपोइन्टहरु धमाधम फिर्ता भए । तराईमा मात्र होइन हिमालमा समेत सीमा निगरानी बढाउनु पर्ने टड्कारो आवस्यकता महशुस भयो ।

तराईमा जस्तै हिमालमा संरक्षण क्षेत्र र निकुञ्ज आरक्षहरुको स्थापना गर्ने सोच पलायो राजामा । रारा, लामटाङ्ग र सगरमाथा राष्ट्रिय निकुञ्ज बिना बिलम्ब २०३२ सालमा स्थापना भए । खप्तड, से–फोक्सुण्डो अन्नपूर्ण, मकालुबरुण, कञ्चनजंघालाई कस्तो कुन मोडलको संरक्षण क्षेत्र बनाउने भनेर चिन्तन मनन र खाका तयारी गर्ने गृहकार्य प्रारम्भ भयो ।

खम्पा विद्रोहीहरुको क्याम्प र किल्लाले आँखा खुलेको राजाले उत्तरी सीमाना पहिचान, अनुगमन र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय दबाब र विरोध सृजना नहुने निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र स्थापना र नेपाली सेना तैनाथीको स्मार्ट अवधारणा निकाले । साथै ती दुर्गम र विकट क्षेत्रको विकास अवधारणा तर्जुमा गर्न विज्ञहरु खोजी खोजी ल्याए । अन्नपूर्ण संरक्षण क्षेत्रले राजालाई सबैभन्दा बढी आकर्षक गरेको ठोकुवा गर्दछन् विज्ञहरु । अपवित्र सशस्त्र गुरिल्ला क्याम्प सफा गरेर शाही सरकार र शाही नेपाली सेनाले पवित्र बनाई अन्नपूर्ण क्षेत्रलाई विश्व सम्पदामा दर्ज गराउन ढोका खोलिदिएको हो ।

Mustang Valley.

विशिष्ट व्यक्तिहरुको भनाई र गराई

एकातिरबाट हेर्दा पत्र पत्र हिमाल । अर्को तर्फबाट हेर्दा हिमाल पारि अर्को सुन्दर ल्याण्डस्केप र छिटपुट् हिमाली बस्ती । एउटा आँखाले हेर्दा पूर्व र पश्चिमबाट आएका हिमाली श्रृङ्खलाहरुको संगमस्थल । अर्को आँखाले हेर्दा संगम होइन दुई हिमालको ओभरल्याप । तालहरुको माला कास्की पोखरा । पोखरालाई जिस्काउन छेउमा खडा माछापुछ्रे हिमाल । सुन्दर पोखरा उपत्यका भित्रभित्र गहिरो अण्डरग्राउण्ड बग्ने सेती नदी ।

पंक्तिकारले जति भि.भि.आई.पि.हरुलाई ट्रेकिङ्ग गराए र मुक्तिनाथ पुर्‍याएं ती सबैले सास रोकेर जमिनलाई ढोगेर भने– “धर्तीको एकमात्र स्वर्ग ।”

भि.भि.आई.पि.हरु परिचय र भेष बदलेर पुन: स्वर्गमा निजि भ्रमणमा आइरहेको देख्दा बोलीको मस्कत र हर्कत मिलेको देखें । अतिथिहरु दोहोर्‍याई तेहेर्‍याई आफू मात्र होइन आफ्ना परिवारजन र ईष्टमित्र समेतलाई यो स्वर्गमा पठाईरहे ।

अन्नपूर्ण क्षेत्रसँग मेरो सम्बन्ध र साईनो झन गाढा हुंदै गयो ।
अन्नपूर्ण क्षेत्रमा विश्व धनी बनाउने बहुमूल्य खनिज छ भन्ने भि.भि.आई.पि.हरुको लख् कटाईमा सत्यता छ भन्ने विश्वास पलायो । हो होइन भविष्यले बताउला ।

Few Lake (Fewa Taal), Pokhara.

खड्केको कुरा

द्वन्द्वकालमा खाली भएका निकुञ्जहरु अहोरात्र जीवजन्तुले भरेर लगातार ‘शून्य शिकार वर्ष’ मनाईरहेको उत्कर्ष (२०६८) मा आफ्नो सरुवा पश्चिम पृतना अड्डा पोखरामा भयो ।

आफूलाई निकुञ्ज आरक्षको अभाव खड्कियो । ज्यादै खल्लो र निरस महशुस भयो । भावना र रगतमा प्रकृति र वन्यजन्तु संरक्षण भाव भएका जन्मजात् प्रकृतिप्रेमी पृतनापति भिक्टर राणलाई लिएर गस्ती गर्न चितवन राष्ट्रिय निकुञ्जसम्म पुगेर आत्मसन्तुष्टी लियौं ।
प्रकृति माताले आफ्नो तेश्रो आँखा खोलिदिईन् र भनिन्–

“मूर्ख,

जहाँ जहाँ शरीर छ उहीं विशाल प्रकृति छ । बाघ र गैंडाको चस्मा खोलेर राख र प्रकृतिको चस्मा लगाएर हेर ।”

बल्ल मैले विश्वको स्वर्ग “अन्नपूर्ण संरक्षण क्षेत्र” लाई देखें । त्यसपछि नजिकको मनास्लु संरक्षण क्षेत्रलाई देखें । पहाडी हिमाली भौगोलिक र जैविक विविधता, सांस्कृतिक विविधता अध्ययन तर्फ मन एकोहोरियो ।
कुशल नेतृत्वको पृतना अड्डाले संरक्षण रोडम्याप बनायो–

“अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको आवश्यकता पहिचान गर्ने । जैविक विविधताको संरक्षण योजनामा स्वस्फूर्त श्रमदान गरेर संरक्षण योगदान गर्ने । व्यापकरुपमा वृक्षारोपण गरेर ‘गो ग्रीन’ अभियान सफलिभूत पार्न सक्रिय सहभागिता जनाउने । संरक्षण क्षेत्र कार्यालय र पदाधिकारीसँग निकट सम्पर्क, सम्बन्ध र समन्वय राखेर संरक्षणमुखी काम फच्चे गर्न गराउन मद्दत गर्ने । जस्तै– उनीहरुले भनेको ठाउँमा सर्ट, मद्यम र लङ्ग रेञ्ज पट्रोल पठाउने । र, क्षेत्रीय तथा जिल्ला ‘वाईल्डलाईफ क्राईम कन्ट्रोल ब्युरो (डब्लु.सि.सि.बि) लाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन संयोजनकारी भूमिका निभाउने । संभावित प्राकृतिक प्रकोपको पूर्वानुमान लगाउने र विपद विरुद्ध फष्ट रेस्पोण्डर भएर उद्धार राहत पूनर्निर्माणमा जुट्ने ।’

पृतना अड्डाको यो सुन्दर ‘संरक्षण योजना’ देखेर घैंटोमा घाम लाग्यो र मन मुटुमा असीम उत्साह र उर्जा भरियो । आत्मज्ञान पलायो–

“मिशन’ पर्खेर बस्ने होइन रहेछ । ब्ल्याक एण्ड ह्वाईट्मा लिखित आदेश कुरेर बस्ने बानी घामट्हरुको खराब आदत हो । अल्छ्ेहरुको बहाना हो । कातरहरुको पहलकदमी र निर्णय लिने साहसबाट पन्छिने काईते छलकपट् हो ।

‘मिशन’ आफै खोज्ने हो । पवित्र मिशन आफै बनाउने हो । ‘प्रकृति संरक्षण’ नगर्नु भनेर कुन संविधान र कानूनमा लेखेको छ र । न सैनिक ऐनले छेकबार गरेको छ ।

त्यो पवित्र जिम्मेवारी हामी सबैले आजीवन खोजी खोजी निर्वाह गरिरहनुपर्ने स्वधर्म हो ।”

क्षेत्रीय सुरक्षा प्रमुखहरुको टीम सिमेण्ट भन्दा बलियो थियो । भिक्टर राणाका समकक्षीहरु तत्कालिन डि.आई.जि. त्रय राजेन्द्र भण्डारी, दुर्ज कुमार राई र दिलिप रेग्मी को टीमवर्कले डब्लु.सि.सि.बि. माझिन र टल्किन पायो । राजेन्द्र भण्डारी स्वयं आफै सि.आई.बि.को वन्यजन्तु पिलार संस्थापक हुनुहुन्थ्यो ।

Phewa Lake.

सेती फल्यास फ्लड

हिउँदको खडेरीयाममा सेतीमा बाढी आएको खबरले क्षेत्रीय सुरक्षा टीमको दौडादौड शुरु भयो । संयोगले यो टीम हाईकिङ्ग र क्याम्पिङ्ग गर्दै प्रकृतिको काखमा संगै थियो । सुन्दर गुरुङ्ग संस्कृतिको होमस्टे समूहको आतिथ्यमा रमाईरहेको बेला सेतीको अनायास अपत्यारिलो बाढीले पस्केको खाना छाडेर भागदौड मच्चियो । छिनमा सबै हराए र उद्धारमा जुट्न पुगे । पृतनापतिको स्टाफको हैसियतले आफूलाई अन्नपूर्ण संरक्षण क्षेत्रको पत्र पत्र भित्र पुगेर उद्धार गर्ने अवसर जुट्यो । त्यो भन्दा धेरै सुन्दर माछापुछ्रे हुँदै अन्नपूर्णको काखमा पुगेर कसरी हिमताल र हिमनदी एक्कासी फुट्यो भनेर अध्ययन अनुसन्धान गर्ने अपूर्व मौका मिल्यो । ग्लोबल वार्मिङ्गको प्रत्यक्ष असर थियो त्यो । तापक्रम बढेर हिँउ धेरै पग्लिदा हिमताल एक्कासी फुटेर सेतीमा बाढी आएको थियो । सदियौ वर्ष पुरानो डिपोजिट् लेदोले भयंकर आवाजका साथ हिमताल फुटाएको थियो र त्यसले भीषण आवाज र धुंवाका साथ सेतीमा ३० फिट अग्लो बाक्लो लेदोको बाढी आएको थियो । सन २०१२ मे ५ को दिन, यो अकल्पनीय विध्वंशकारी बाढीले १७ जनाको ज्यान लिनुका साथै ५० जना बेपत्ता बनाएको थियो । अग्ला अग्ला झोलुँगे पुल, बिजुलीका पोल बगाउनुका साथै नदी किनाराका ट्याक्टर ट्रक गुटुमुटु बगाएर लगेको थियो । बत्ती, पानी, सडक, टेलिफोन पूरै अवरुद्ध पारेको थियो ।

अन्नपूर्णलाई आज दुख्दा

करोडौं पर्यटकलाई खुशी र तृप्त पारेको मेरी अन्नपूर्ण अहिले पीडामा छिन । मेरो भन्दा अन्याय होला; अरबौं रुपया कमाएर सम्वृद्धिको राष्ट्रिय सपना पूरा गरिदिने हाम्री साझा अन्नपूर्ण अहिले दु:खमा छिन् । घर न घाटकी भएकी छिन् । तह–तहको कर्तव्यबेगरको हक र अधिकारको मारमा परेकी छिन् । संघीय मोडलको दुविधा र अन्यौलको अनायास शिकार भएकी छिन् ।
मुखमा सबैको संरक्षणको नारा बगलीमा प्राकृतिक श्रोत साधन दोहन र विनास गर्ने धारिलो छुरा ।

ढुकुटी लुछाचुंडी र कब्जाको तंछाड् मछाड् हान्थाप् । संघलाई हटाउने पन्छाउने मुण्ट्याउने र जित्ने अस्वस्थ प्रतिस्पर्धा । जात, वर्ग, क्षेत्र विभाजन र बिखण्डनको विजाारोपण र भावी अन्तरकलह अन्तर संघर्षको जग निर्माणको खोटो नियत । संघर्षपूर्ण स्थापना र हुर्काई बढाई गरेर नमूना व्यवस्थापन र संरक्षण गर्ने मातृसंस्था (किङ्ग महेन्द्र ट्रेष्ट/राष्ट्रिय प्रकृति संरक्षणकोष) विरुद्ध खुट्टा तान्न संरक्षणविरोधीहरु गोलबद्ध । बाह्य हस्तक्षेप निम्त्याउने खतरा मोल्न उद्यत् ।

त्यसैले अन्नपूर्ण संरक्षण क्षेत्रलाई पीडा हुँदा पंक्तिकारको मन छियाछिया भएको छ ।

घले गाउँको शिरमा पानी ब्रेक लिदा एकजना बेलायती भि.आई.पि.ले सचेत गराएको अर्ती कानमा गुन्जिरहेको छ–

“एकदिन यी सुन्दर संरक्षण क्षेत्र लगायत निकुञ्ज आरक्ष चक्लाबन्दी गरेर लुट्ने दिन आउने छन् । गैंडा मारेर बिलो बांड्ने माग उजागर हुने छ । खोला, ताल, सडक, मन्दिर र टुँडिखेल लुट्न हुलबाजी हुने छ ।” जनयुद्ध उत्कर्षमा पुगिरहदा म उहाँलाई क्लोज प्रोटेक्शन डिउटी दिएर ७ दिन लामो ट्रेकिङ्ग लगिरहेको थिएँ ।

उतिबेर मलाई हामीलाई ओल्चिने भि.आई.पि.अतिथि भनेर रिस उठेको थियो।

आज म उनै अन्तरयामी ज्योतिषरुपी अतिथिलाई स–सम्मान स्मरण गर्दै आँखाभरि आँसु पारी २ लाइन कवितालाई यो आलेखको निचोड बनाउन चाहन्छु–

नरोउ नरोउ हे अन्नपूर्ण ।
संरक्षणमा जुट्ने छौ हामी सम्पूर्ण ।।

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

 

यो हेर्नु भयो?

Rajesh Hamal with Twins | राजेश हमाल को काखमा जुम्ल्याहा

 

 


Like it? Share with your friends!