हरेक वर्ष अप्रिल १८ तारिखमा विश्व सम्पदा दिवस मनाइन्छ । यो वर्षको दिवस मनाउन ऐतिहासिक धार्मिकस्थल स्वर्गद्वारी पुगेँ । प्रकृतिको काखमा अवस्थित रमणीय चुट्टीमा बसेर यो दिवसको औचित्य, महत्व, मर्म र भावना स्मरण गरेँ । सम्पदाको प्रेम र सम्मानभाव तथा संवर्द्धन र संरक्षणको गहिरो चाहनाले मन उद्वेलित भयो । यो पवित्र दिवसप्रति सद्भाव, सम्मान र कर्तव्यबोध दर्शाउन यो आलेखलाई माध्यम बनाएको छु ।

Sworgadwari.

प्रसङ्ग प्रारम्भ स्वर्गद्वारीबाट

नेपालको ७७ जिल्लाका कुना कन्दरामा पुगे पनि पङ्क्तिकारका लागि स्वर्गद्वाराी दर्शन पहिलोपटक थियो । सम्पदा अध्ययनको चाहनालाई यो अपूर्व अवसर बरदान सरह भयो । पूर्व–पश्चिम, उत्तर–दक्षिण, पहाड–तराईबाट क्रमशः उठ्दै गएको पहाडको शृङ्खलामाथि अवस्थित स्वर्गद्वारीको प्राकृतिक छटा र सौन्दर्य देखेर स्वर्गमा पुगेको अनुभूत भयो । चारैतिर हरियो वनजङ्गल, कुण्ड, पोखरी, गुफा र हिमाल–तराई देखिने मनमोहक दृश्यले जो कोहीलाई आकर्षित गर्ने स्वर्गद्वारीको अलौकिक शक्ति ।

महाप्रभु हंसानन्द गिरी परमहंसले स्थापना गर्नुभएको स्वर्गद्वारीको प्राचीन रूप एउटा रामराज्यको जस्तो थियो । उहाँले तपस्या गरेको १२४ वर्ष बूढो बाँझ वृक्ष अझै हरियो र खडा साक्षी छ । हेर्दाहेर्दै स्वर्गद्वारीको १८ सय बिगाहा जग्गा चौतर्फी आक्रमणमा परेर १२ सय बिगाहामा खुम्चिएको छ । त्यसमाथि पनि गिद्दे दृष्टि लगाउने र नम्बरी जग्गालाई भीरपाखो बगरसँग साटिदिने छलकपटले मन्दिरको भविष्य अन्धकार बनाइदिएको छ । महाप्रभुका १२ सय स्वस्थ, सुखी र खुसी गाईहरू घटेर ३ सय हाराहारीमा झरेका छन् र ती गाईहरू पनि घाँस, पानी, दाना र उपचारको माग राखेर कराइरहेका छन् ।

स्वर्गद्वारीमा सडक पुर्‍याउने सबैको होडबाजी छ । चारैतिरबाट कलिलो, कमलो, सुन्दर पहाडको कट्टी काट्ने खुइल्याउने काम तीव्र रूपमा हुँदा हरियो वनजङ्गल, घाँस सफाचट् पारिएको छ । ती असुरक्षित सडकबाट भए पनि ज्यान जोखिममा राखेर लाखौँ यात्रु मन्दिर यात्रा गरिरहेका छन् ।

लाखौँ आन्तरिक र त्योभन्दा धेरै भारतीय तीर्थालु भक्तजनहरूको ओइरो लाग्ने ६१६० फिटको उचाइमा रहेको स्वर्गद्वारीले असल व्यवस्थापन र प्रभावकारी संरक्षण तथा बहुरुपी यातायातको पहुँच एवं भौतिक विकासको माग गरिरहेको देखियो । दाङदेखि प्युठानसम्म फैलिएको मन्दिरको जग्गा जमिनको वनजङ्गललाई धार्मिक एवं ऐतिहासिक पार्क बनाएर ती लाखौँ भक्तजनहरूलाई ३ दिन ध्यान, धर्म र मनोरञ्जन गराएर पठाउन सकिने सम्भाव्यताको हामीले किन सोध, खोज र सदुपयोग गरेनौँ ? त्यो हाम्रो धर्म, संस्कृति र सम्पदा संरक्षणको उदासिनताबाहेक अरू केही होइन । अझ लुम्बिनी, बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पा, पोखरा र धोरपाटनले घेरेको स्वर्गद्वारीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न हामी ठोस गुरुयोजनाका साथ अघि बढ्नुपर्ने हो ।

भक्तजनहरूको धन, मन, उमेर, शारीरिक अवस्था, समय, व्यस्तता अनुसार हवाइजहाज, हेलिकोप्टर, केवलकार, जिपलाइन, मोटर, साइकल, घोडा, पैदल ट्रेकिङको सुविधाको विकल्प रोज्न दिनु र सोही अनुसारको खाने बस्ने सुविधाका विकल्पहरू खुला गरिदिने हो भने स्वर्गद्वारी धर्म र समृद्धिको मुहान हुने थियो ।

यो ताजा प्रसङ्ग त स्वर्गद्वारीको भयो । उस्तै लुटपाट र अतिक्रमणको चौतर्फी समस्याबाट गुज्रिरहेका छन् अरू हजारौँ सांस्कृतिक, धार्मिक, ऐतिहासिक सम्पदाहरू ।

Sworgadwari

विश्व सम्पदाहरूको हालत

काठमाडौँ राजधानीमा अवस्थित विश्व सम्पदा पशुपति क्षेत्रले सम्भार, संवर्द्धन र संरक्षणका लागि गरेको जोडदार पुकार सुन्न र सम्बोधन गर्न विलम्ब भइसकेको छ । अतिक्रमित जग्गा फिर्ता ल्याएर पशुपति क्षेत्रको संरक्षण गर्न ढिलो भइसकेको छ । राजधानीको सभ्यता बोकेको धार्मिक नदी बागमती सफाइका लागि विकास क्रान्तिको जरुरी छ । मठ मन्दिर मूर्तिका टुटेफुटेका गजुरहरू शीघ्र रसायन गरेर तिनलाई सजीव बनाउन र विश्वभरिका हिन्दुहरूको सम्मान गर्न विलम्ब भएको छ । यो अर्को प्रतिनिधि उदाहरण मात्र हो । विश्व सम्पदामा सूचीकृत अरू ९ ओटा सम्पदाहरूको हालत पनि उस्तै नाजुक छ ।

सगरमाथालाई फोहोरले पुर्ने डर छ । काखभरि मैलाधैलाको बोझ बोकेर सगरमाथा गुहार गुहार मागिरहेको छ । धन्य छ, नेपाली सेनाका संयोजन र अगुवाइमा जारी हिमाल सफाइको पवित्र अभियान । अर्को सम्पदा चितवन राष्ट्रिय निकुञ्ज चौतर्फी अतिक्रमणको सिकार भएको छ । नेपाली सेनाको संरक्षण पहल र प्रयास नभएको भए यो सम्पदाको उहिले पत्तासाफ भइसक्ने थियो । गैँडाको बढोत्तरी र बाघ दोब्बरको सङ्कल्प साकारले यो सम्पदाले धन्न नेपाल र नेपालीको इज्जत र छवि बढाइदिएको छ ।

पशुपतिलगायत काठमाडौँका ७ ओटा विश्व सम्पदाहरू (काष्ठमाण्डप, भक्तपुर दरबार स्क्वाएर, पाटन दरबार स्क्वाएर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण)ले उचित व्यवस्थापन,सम्भार र दिगो संरक्षणको जोडदार पुकार गरिरहेका छन् । कलाकृति, मूर्ति चोरीका घटनाले यी सम्पदाहरू हैरान र लज्जित छन । महाभूकम्पपछि धेरै सम्पदाहरू नलीखुट्टा, घुँडा, कन्दानी, कट्टी, छाती र घाँटीमा पासो जस्तो टेकोको भरमा उभिएका छन् । अर्को सम्पदा लुम्बिनीको अतिक्रमण राष्ट्रिय लज्जाको पसारो भएर राम्रो व्यवस्थापन र संरक्षणको प्रतीक्षामा छ ।

Pashupatinath Temple.

न यी विश्व सम्पदामा सूचीकृतयोग्य कलाकृति, संस्कृति, सभ्यता निर्माण गरिदिने ती सिर्जनशील पौरखी र स्वाभीमानी अग्रजहरूप्रति हामी कृतज्ञ छौँ, न त ती सम्पदालाई सूचीकृत गरिदिएर नेपाल र नेपालीको शिर ठाडो बनाइदिने युनेस्कोप्रति हामी अनुग्रहित छौँ । बरू हामी उल्टो युनेस्को लगायत विश्व सङ्घ संस्थाले हाम्रा सम्पदाहरू संरक्षण गरिदियोस् भन्ने भ्रम पालेर निरीहता प्रकट गरिरहेका छौँ । सिर्जना र प्रतिभाका धनी पुर्खाहरूलाई गालीगलौज गर्ने नास्तिक पिँढीको नयाँ नेपालको गफ फगत् सुनिरहेका छौँ ।

यी सबै राष्ट्रिय लज्जाबोध हुने हिनता र कुकृत्यबाट हामी छिटो मुक्त हुन जरुरी छ ।

नयाँ सम्पदा सूचीकृतका पहल र प्रयासहरू

नयाँ सम्पदा सूचीकृत गर्न पूर्व सम्पदाहरूको उचित व्यवस्थापन र भरपर्दो संरक्षण अपरिहार्य हुन्छ नै । एकछिनलाई मानौँ कति करोडौँ पर्यटकहरूले यी सम्पदाहरूको सुखद् भ्रमण र अवलोकन गरे होलान् ? तिनले कुन सुविधाको सेवादायी पसलहरूको उपभोग गरे होलान् ? कुन पिउने पानी र सफा शौचालयको प्रयोग गरे होलान् ? कुन व्यावसायिक टुर गाइड र सुविधाजनक यातायातको प्रयोग गर्न पाए होलान् ? कुन सुविधासम्पन्न मापदण्डअनुसारको आहार र वासस्थानको प्रबन्ध उपयोग गर्न पाए होलान् ? व्यवस्थापकीय त्यो पाटो नै हाम्रो पहिचान हो । सम्पदा र सम्पदा अवलोकनकर्ताको व्यवस्थापन र संरक्षण तत्परता र क्षमताको हाम्रो सक्कली ऐना हो । त्यो नै थप नयाँ सम्पदा सूचीकृत गर्ने राष्ट्रिय चाहना र सङ्कल्पको सूचक हो ।

अब प्रश्न उठ्छ, भइरहेका सम्पदाहरू क्षतविक्षत भई ढलिरहेको, हराइरहेको अवस्थामा नयाँ सम्पदा सूचीकृतको हाम्रो चाहनालाई कसले कसरी किन पत्याउने ? यही चरम उदासिनताको सिकार भइरहेका छौँ हामी नेपाली ।

यद्यपि हाम्रा थप १५ ओटा सम्पदाहरू विश्व सम्पदामा सूचीकृत हुने योग्यता र क्षमता पूरा गरेर त्यो शुभदिनको प्रतीक्षामा छन् । से–फोक्सुन्डो (डोल्पा) राष्ट्रिय निकुञ्ज अहिले सूचीकृत भइसक्नुपर्ने थियो । जानकी मन्दिर सूचीकृत गराउन नसक्नुमा के शक्तिहीन मधेस एक मात्र कारण हो त ? ऐतिहासिक तिलौराकोट, मुक्तिनाथ क्षेत्र, गोरखा दरबार, नुवाकोट दरबार, रामग्राम, खोकना, साँखु, लोमान्थाङ, कीर्तिपुर, रुरु क्षेत्र, दैलेखको भुर्ती मन्दिर, सिँजा उपत्यका, तानसेन दरबारको सूचीकृतको योग्यता र हक पूरा गरिदिन राष्ट्रिय पहलको जरुरी देखिन्छ । हामी सबै व्यक्तिगत, समूहगत, दलगत क्षणिक र निहित स्वार्थबाट बाहिर निस्किए मात्र यी राष्ट्रिय/विश्व सम्पदाले संरक्षण प्राथमिकता पाउने छन् ।

सलाम छ नेपाली सेनालाई, जसले ऐतिहासिक गढीहरूको संरक्षण पहल अभियानका रूपमा अगाडि बढाएको छ र तिनलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा मालाझैँ प्रवर्द्धन र विकास गर्ने सुन्दर खाका तथा गुरूयोजना तर्जुमा गरिदिएको छ । पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरिदिएको छ । अरू धेरै ऐतिहासिक सङ्ग्रहालय, पुरातात्विक महत्वका सम्पदाहरूको व्यवस्थापन र संरक्षण पहल तारिफयोग्य छन् । तर राज्य उदासिन हुन र पन्छिन मिल्दैन । स्थानीय समुदायको हात, काँध र साथले सम्पदाहरूको संरक्षणमा योगदान पुग्नेछ ।

सम्पदा संरक्षणमा बटम अप एप्रोचमार्फत् केन्द्रको ध्यानकर्षण गराउनु मनासिब हुनेछ । तर सम्पदाको स्वामित्व ग्रहण र तदअनुसारको संरक्षण पहल स्थानीय नागरिकहरूको हुनुपर्दछ ।

Nuwakot Durbar.

सगरमाथा जस्तो उच्च सचेतना

हाम्रो सगरमाथा, राम्रो सगरमाथा, एक मात्र सगरमाथा र विश्वको सगरमाथा भन्ने स्थानीयवासीहरूको स्वामित्व स्वस्फूर्त ग्रहण, रक्षा, सम्मान र कल्याणभाव देखेर चार दशकअगाडि गर्वबोध भएको थियो । हरेक दशकमा त्यो सम्पदा रक्षा भाव पुनर्मापन गर्दैजाने अवसर जुर्‍यो । आफ्नो सम्पदाको स्वामित्व ग्रहण र रक्षा सङ्कल्प आजसम्म बढेको बढ्यै छ । अहिंसाको बुद्धमार्गले सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षणलाई ठूलो टेवा पुगेको छ । त्यो सम्पदा संरक्षणभाव हरेक नेपाली नागरिकमा जाग्नुपर्दछ र सर्वत्र फैलिनुपर्दछ । नागरिकले आफ्नो सबै तहका सरकारलाई खबरदारी गर्नुपर्दछ ।

द्वारिका होटलको सम्पदा संरक्षण पहल उदाहरणीय र कदरयोग्य छ । दाजु कर्ण शाक्यको प्रकृति र सम्पदा संरक्षणको रहर र पहल उस्तै प्रशंसायोग्य छ । राज्यलाई प्रेरित गर्ने निजी सोख र पहलहरू अरू थुप्रै छन् । लकडाउन सुरु हुनासाथ द्वारिका होटलमा प्राचीन सम्पदा पुछ्‌ने, तेल लगाउने, रङरोगन गर्ने र टल्काउने चम्काउने काम युद्धस्तरमा भएको देखेर पङ्क्तिकारलाई लाग्यो राज्यले नक्कल गर्नुपर्ने काम । लकडाउन अवधिभरि हामीले सोही काम गर्नुपर्ने थियो ।

हरेक सम्पदा सुसंस्कार, शान्ति, सभ्यता र समृद्धिका प्रतीक हुन् । नेपाल र नेपाली चिनाउने यी सम्पदाले समृद्धिको आशा र सम्भाव्यता बोकेका छन् । जाने ती पैसा छाप्ने मेसिने हुन्, नजाने नास्तिकलाई गाँजा खाने पाटी पैवा मात्र ।

राष्ट्रिय धर्म

प्रकृतिको सर्वोच्चता स्वीकार गर्नु र नेपालको प्राकृतिक सौन्दर्यको रक्षा सम्मान गर्नु हाम्रो पहिलो राष्ट्रिय धर्म हो । प्रकृतिका उपहार भावी पुस्ताहरूलाई हस्तान्तरण गर्दै जानु र पुण्यभूमिलाई ध्यानभूमि मानेर स्वर्गजस्तो पवित्र राख्नु हाम्रो परम कर्तव्य हो । यो राष्ट्रियभन्दा पनि अन्तर्राष्ट्रिय दायित्वबाट हामी कहिल्यै बिमुख हुन मिल्दैन ।

मान्छेभन्दा धेरै देवता र घरभन्दा धेरै मठमन्दिर भन्ने पश्चिमाहरूको गर्विलो आत्मविश्वासमा हामीले ठेस लाग्न दिनुहुँदैन । त्यही विश्वासले हो यहाँ पर्यटक र अध्येताहरूको ओइरो लागेको । सिङ्गो नेपाल जैविक विविधता र ऐतिहासिक सांस्कृतिक कलाकृतिको विशिष्ट पाठशाला हो । त्यसैले हाम्रो मौलिक पहिचान र सभ्यता दर्शाउने यी सम्पदाहरूको संवर्द्धन र रक्षामा हामीले ध्यान र त्याग दुवै लगाउनुपर्दछ । नयाँ नेपालको सपना होइन, पुरानो नेपाललाई जस्ताको तस्त राख्न सके मुलुकको अर्थतन्त्र र सामाजिक पहिचानमा कायापलट हुने छ । दुई उदाउँदा विश्वशक्ति छिमेकीहरूको पर्यटन दबाब थेगिदिन पनि हामीसँग प्राचीन नेपालको कलाकृति र संस्कृति चाहिन्छ नै । राज्यका सम्बन्धित सबै निकायहरूले उदासिन भएर होइन, सकारात्मक भएर र फुटेर होइन, जुटेर यो राष्ट्रिय धर्म पूरा गरिदिनुपर्दछ । विश्वका सम्पदाहरूको अनिवार्य रक्षा गरिदिनुपर्दछ ।

द्वारिका होटल एक्लैले त्यति धेरै सम्पदाको संवर्द्धन र संरक्षण गरिरहेको नजिरबाट पाठ सिकेर राज्यले संरक्षणको पहलकदमी र अगुवाई गर्ने हो भने नेपाल बहुमूल्य सम्पदा नै सम्पदाको माला हुनेछ । हामीलाई चाहिएको सुन्दर, शान्ति, विशाल नयाँ नेपाल त्यस्तो हो । त्यस्तो राष्ट्रिय धर्म पूरा गर्ने कटिबद्ध नेतृत्व आजको आवश्यकता हो ।

शुभकामना

अन्त्यमा, कठिन वर्षको यो दिवसले सम्पदा संरक्षणको दायित्वप्रति हामी सबैलाई सचेत बनाओस् । सरकारलाई सङ्कल्प लिन उत्प्रेरित गरोस् र त्यो संवेदनशील सङ्कल्प पूरा गरेर देश सिँगारेर देखाउन सामर्थ्य बनाओस् । सम्पदा संरक्षणको संस्थामा स्वयंसेवी भई आबद्ध हुन र अध्ययन, अनुसन्धान, संरक्षण योगदान गर्न चाहेको आज तीन वर्ष पूरा भयो । विडम्बना ! मैले कुनै सक्रिय र जवाफदेही संस्था भेट्न सकेको छैन ।

द्वन्द्वकालीन पिँढी बूढो भइसकेको छ । नयाँ पिँढीलाई सम्पदाभक्षक होइन, रक्षक भएर प्रस्तुत हुन बौद्धिक, नैतिक, आध्यात्मिक शिक्षाले उत्प्रेरित गरोस् ।

स्थानीय सम्पदा राष्ट्रिय सम्पदामा र राष्ट्रिय सम्पदाहरू विश्व सम्पदामा छिटो छिटो दर्ज होऊन् । सिङ्गो नेपाल विश्व सम्पदाको सजीव सङ्ग्रहालय होस् । मातृभूमिले अखण्ड नेपालको भूगोल र त्यो भूगोलभित्रका सम्पदाहरूलाई प्रेम, सम्मान, कल्याण र रक्षा गर्ने दृढ सङ्कल्प भएको जवाफदेही र त्यागी नेतृत्व पाइराखून् । त्यही छ, विश्व सम्पदा दिवस २०७८ लाई शुभकामना ।

(लेखक संरक्षणविद् हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format