बर्दिया राष्ट्रिय निकुञ्जमा अंग्रेजी नयाँ वर्षको दिन बाघको आक्रमणबाट एकजना महिलाको ज्यान गएको छ । कैलाली लम्कीचुहा न.पा.–४ कौवापुरीको ५२ वर्षीया नन्दकला थापा लगायत बाघ आक्रमणमा परि मृत्यू हुने सबैको चिर शान्तिको लागि प्रार्थना गर्दछु ।

बाघले २० वर्ष पछाडि गुडिरहेको मोटरसाईकल माथि आक्रमण गरेर घटनाको प्रकृति दोहोर्‍याएको छ । पहिलो घटना लाष्ट लाईट् अगाडि घटेको थियो । कैलालीतर्फ जादै गरेको एक्लै सवार मोटरसाईकल यात्रीलाई खौराहा खोला नजिक अग्लो काँसघारीमा लुकेर बसेको बाघले एक्कासी आक्रमण गर्दा कैलाली लम्कीका युवाको ज्यान गएको थियो ।

अहिले उस्तै प्रकृतिको घटना सोही निकुञ्जको उही कोर इलाका घुमना पुल नजिक राती ९ बजे घटेको छ । यो अम्रेनीदेखि कर्णालीसम्मको निकुञ्जको घना जङ्गल (कोर एरिया) हो । फरक अहिले बाघले २ जना सवार मोटरसाईकल माथि आक्रमण गरेर पछाडि सवार महिलाको ज्यान लिएको छ । यो लेखमा आफ्नो पुरानो अनुभव र बाघ–मानव द्वन्द्व न्यूनिकरणको सुझावहरु राख्ने प्रयास गरेको छु ।

Tiger in Bardiya National Park.

यो पनि पढ्नुहोस:मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली

पूर्व नजिर

बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरिया भएर राजमार्ग बनाईएको हुँदा पहिले रातको समयमा सवारी साधन चलाउन निषेध थियो ।
बुढापाकाको कहावत छ– ‘दिन आफ्नो रात अर्काको ।’ फष्टलाईट लाष्टलाईट् र रातको समय वन्यजन्तु सक्रिय र बदमास हुने समय हो । बबई पुल र सैनवार बीचको जङ्गलमा २० वर्ष अगाडि दुई बाघ र बघिनीले घण्टौं बाटो नछाड्दा सवारी जाम खोल्न पंक्तिकार पुगेको थिएं । अम्रेनी कर्णाली १४ कि.मि. निसपट्ट जङ्गलमा हात्तीका बथानहरुले रातभरि बाटो छाड्दैन थिए । जुलुसको झल्को दिने गरि हात्तीले राजमार्गमा एकछत्र राज जमाउदथे । उहिले वन्यजन्तु अधिकारकर्मीहरुको आवाज बुलन्द हुन्थ्यो । संरक्षणलाई प्राथमिकता भन्दथे जनताहरु आफैं ।

पैदल यात्रु, एक्लो साईकल–मोटरसाईकललाई सुरक्षा गार्ड पोष्टले यात्रा गर्न दिदैन थिए । यात्रुलाई रोकेर २ वा २ भन्दा बढी साधनलाई एकट्ठा गरि पठाउने चलन थियो ।

पंक्तिकारको सेवा अवधिमा राजाहरुको ३ पटक भ्रमण भयो । निकुञ्जभित्रको राजमार्गलाई ‘यो अस्थायी बाध्यकारी अवस्था हो र छिटै यो असुविधा हटाउनुपर्दछ’ भन्ने राजाको सदिच्छा थियो । राजमार्गले वन्यजन्तुलाई पुर्‍याएको बाधा व्यवधान र पीडा देखेर राजामा छटपटी हुन्थ्यो । नयाँ राजमार्ग निकुञ्ज बाहिर राजापुरबाट छिटै निर्माण हुंदै छ भनेर हामी संरक्षणकर्मीहरु खुशीले गद्गद् हुन्थ्यौं ।

बर्दिया राष्ट्रिय निकुञ्जलाई पूर्व–पश्चिम राजमार्गले ३ ठाउँमा चिरेको छ । पहिलो खण्ड कर्णाली–अम्रेनी । दोश्रो सैनवार–बबई नदी र तेश्रो बबई–रम्भापूर खण्ड । २० वर्ष अगाडि यी तीनै खण्डमा रैथाने बाघको टेरिटोरी थियो । गुडिरहेको गाडिबाट बाघ देख्न पाईन्थ्यो । पंक्तिकारले धेरै पटक बाघको दर्शन गाडि र साईकलबाट पाएको थिएं ।

सायद अहिले पनि यो तीनै खण्डमा बाघको टेरिटोरी कायमै हुनुपर्दछ । पछिल्लो घटनाले पनि यसलाई थप पुष्टि गर्दछ । अझ अम्रेनी–कर्णालीको लामो कोर क्षेत्रमा १ होइन २ देखि ३ बाघको टेरिटोरी हुन सक्दछ ।

Ten Things That You Didn’t Know About Vultures in Nepal

बाघको विचित्र स्वभाव

बाघले हात्तीलाई २/३ कि.मि लखेटेको आँखाले देखेको थिएं । बेतोड् दौडिएको हात्तीको हौदाबाट लडेकी विदेशी महिला यात्रुलाई बाघले सुंघेर केही नगरेको र फेरि एक सुरले हात्ती लखेटिरहेको थियो । धेरै पछि बाघ थाकेर फिर्ता गएपछि हात्तीले सकुशल महिलालाई पुन: फेला पारि उद्धार गरेको थियो । अर्को घटनामा दौडिरहेको हात्तीको हौदाको मान्छेलाई बाघले उफ्रेर आक्रमण गरेको देख्दा लाग्दथ्यो बाघ उफ्रेको होइन उडेको हो । दुवै घटना बघिनीले डम्मरु बचाउ गर्न रिसाएर गरेका आक्रमण थिए । हामीले सुरक्षा गार्डलाई बाघ–बघिनीको मनोविज्ञान अनिवार्य पढ्न बुझ्न सिकाएका थियौं । संसर्गको समय, बघिनीले डमरुहरु स्याहारेको समय र शिकार अथवा शिकार पश्चातको समयमा बाघको वरिपरि नजान प्रशिक्षण दिएका थियौं । हात्तीलाई बाघको नजिक नजान आग्रह गर्दथ्यौं । तर पर्यटकहरुको मन अगाउने भएकोले उनीहरु बाघको नजिक भन्दा नजिक जान खोज्दथे ।

केही वर्ष अगाडि कसराभित्र खोरमा कैद गरेको नरभंक्षी बाघले ३५ फिट अग्लो खोर नाघेर बाहिर निस्कियो र संरक्षणकर्मीलाई मार्‍यो ।

बाघले गुठीमा पंक्तिकारको गस्ती जीपलाई १ कि.मि. लखेटेको थियो । कर्णालीको गस्ती र्‍याफ्टलाई छिटो भागिजाउ भनेर वार्निङ्ग दिएको थियो । मनाउघाटमा बाघले महासेर माछा लखेटेर शिकार गरेको देखाएका थिए एकजना जापानिज् मित्रले । उनी वर्षेउनी माछाको अध्ययन गर्न बर्दिया आईरहन्थे ।

रुखमुनी मरेको जस्तो नक्कल गरेर बाघले अग्लो रुखको टुप्पामा बस्ने लंगुरलाई झारेर ठहरै मारेको नाटक पनि कम रोचक थिएन । स्वाभिमान बाघको स्वभाव लज्जालु भनिएतापनि मलाई बुझिनसक्नुको विचित्र लाग्दथ्यो ।

फष्ट लाईट्मा मनाउघाटमा बाघसँग जम्काभेट भएपछि ‘राम नाम’ पुकारेर ढलेका बेहोसी स्थानीयलाई उद्धार गर्न पाएको थिएं । उसलाई बाघले घुमिघुमि सुंघेर छाडिदिएको थियो । स्थानीयले हालेको कथा र बाघका फ्रेस पग्मार्क दुरुस्त मिलेको थियो । पंक्तिकार बाघसँग बडिल्याङ्गवेज्मा कुरा गरेर आनन्द लिन्थें । मलाई बाघले आक्रमण गर्दैन र ‘रक्षक’ भनेर चिन्दछ भन्ने आत्मविश्वास थियो ।

आफू बाघसँग प्रेममा परेपछि आफ्नो संरक्षणकर्मीहरुलाई मैले उर्दी जारी गरें– “सबैले अनिवार्य बाघ देखेको हुनुपर्दछ । बाघ नदेखि निकुञ्ज डिउटीबाट जानु पाप हो ।”

बाघ देख्न गस्ती जानेहरुको तछाड मछाड हुन्थ्यो । अझ मसँग गस्ती जादा पेटभरि बाघ देख्न पाईन्छ भन्ने उनीहरुको अपेक्षा हुन्थ्यो ।

एकदिन सैनवार पोष्टले मृत बाघ फेला परेको प्रतिवेदन गर्‍यो । म तुफान घटनास्थल पुगे । गस्तीको १ जना बहादुरलाई बाघको मुख नजिक पुगेको देखेर मैले उसलाई तुरुन्त आउन ईशारा गरें । हामीले लुकेर बाघलाई हेर्दाहेर्दै बाघ उठेर जङ्गलतर्फ लाग्यो । ठूलो दुर्घटनाबाट एउटा सिपाही बांच्यो । लामो लौरोले घोच्दा र माटोको डल्लोले हिर्काउदा मरेको नाटक गर्ने बाघ आखिरी जिउदै रहेछ । तर भर्खर शिकार गरेर थाकेको र मातेको चिर निन्द्रामा ।

‘जोसको साथ होस्’ हुन नितान्त जरुरी छ जङ्गल डिउटीमा । बढी आत्मविश्वास र साहसले अप्रिय दुर्घटना होला भनेर पोलिरहन्थ्यो मलाई । तर वन्यजन्तुसँग अभ्यस्त फौजले गोही, सर्प खाली हात उद्धार गरेर जङ्गलभित्र रिलिज गर्दथे ।

Bardiya National Park.

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

मेरो टाईगरल्याण्ड

कर्णाली तटीय क्षेत्र बाघको लागि स्वर्ग थियो । पर्याप्त आहार र पानीको बासस्थान भएकोले यहाँ बाघको घनत्व बाक्लो थियो । कर्णाली पुलदेखि खाता कोरिडरसम्म बाक्लो बाघको रंजाईक्षेत्र थियो । पाईला पाईलामा रुखको हाँगामा पर्यटकहरु भेटिन्थे । बाघ देखेको खुसियालीमा साँझ पर्यटकहरु पार्टी गरिरहेका हुन्थे ।

गुठी उपत्यका निकुञ्ज भित्रको अर्को निकुञ्ज हो । वास्तविक वाईल्डरनेस् गुठीमा देख्न पाईन्छ । वाईल्डरनेसको खास् राजधानी । उपत्यकालाई चिरेर बबई नदी बग्ने भएकोले गुठी अर्को टाईगरल्याण्ड । गुठीका बाघ ज्यादै वाईल्ड । हृष्टपुष्ट र बलिष्ठ ।

मानिस मेशिन नदेखेका बाघहरु । त्यसैले हो बाघले मेरो गस्ती जिपलाई किलोमिटर लखेटेको । गुठीको जरायोहरु अजङ्ग ठूला । बलिष्ठ बाघले मात्र शिकार गर्न सक्ने ।

दुई टाईगरल्याण्डको बाघलाई हेर्न बुझ्न पाउदा स्वर्गीय आनन्द आउदथ्यो । कर्णाली फ्ल्ड प्लेनका बाघहरु मान्छे, पर्यटक र मसँग रत्तिएका थिए । मानिससँग मिलिजुली बस्न सिकेका थिए । तर गुठीका बाघले मान्छेको म पनि देख्न पाउदैन थिए । आहा ∕ कति भाग्यमानी गुठीका बाघहरु ।

मैले सँधै पुकारिरहें– बर्दिया राष्ट्रिय निकुञ्जमा अनगिन्ती टाईगरल्याण्ड । त्यसैले त्यो निकुञ्जको टाईटल रहोस्– टाईगरल्याण्ड । टाईगरल्याण्डका बाघहरु सुरक्षित, शान्त, खुशी र सुखी रहिरहुन् । पृथ्वीमा अन्तिम पाटेबाघले विचरण गर्ने बासस्थान त्यही टाईगरल्याण्ड होस् ।

तर अरु निकुञ्ज र अरु टाईगरल्याण्डलाई वास्ता अथवा सम्मान नगरेको पटक्कै होइन । वर्तमान घटना र आफ्नो पसिना बगेको फिल्ड स्टेशनको अतिरिक्त र विशेष माया मात्र हो यो ।

Karnali Bridge.

यो पनि पढ्नुहोस: बाघको चोरी शिकार : नयाँ नेतृत्व र डिजिलाई अवसर

पश्चातापको डढेलो

आफूले टाईगरल्याण्ड छाड्नासाथ द्वन्द्व नामको आंधीबेहरी आयो । कर्णाली पारी गोलाको एक्लो आइसोलेटेड् पोष्ट मर्ज भयो । कर्णाली नदीको पूर्वी किनारामा लहरै गार्ड पोष्टहरु स्थापना भए । द्वन्द्वको बाध्यता । पाटे बाघलाई सुरक्षा त प्राप्त भयो । तर धेरै डिस्टर्ब भयो । बाघको मूल घर कर्णाली फ्ल्ड प्लेन पारि छुट्यो ।

उल्टो यो सुरक्षा व्यवस्थाले मेरो मनमा डढेलो लागिरह्यो । आज सम्मपनि पश्चातापको ज्वारभाटाले पोलिरहन्छ । यो बाधा मैले गरेको होइन । मैले छाडेपछिको बाध्यात्मक नयाँ सुरक्षा व्यवस्था हो । तर आफ्नै छातीमा काँटी ठोकेर तारबार लगाएजस्तो पीडा छ मलाई ।

अनुसन्धान आवश्यक

बाघ विज्ञहरुले बाघको मनोविज्ञान अध्ययन गरेर निश्कर्ष निकाल्न जरुरी छ– “बाघहरु किन यति धेरै अस्थिर छन् ? के को तनाव र पीडा हो यो ? कोही डडेल्धुरा त कोही ईलाम पुगेका छन् । कोही सडकमा निस्केर गाडीसँग ठोक्किएर आत्महत्या गरेका छन् । कोही गुडिरहेको मोटरसाईकलको मान्छे थुतेर आक्रमणमा उत्रेका छन् । त्यति भद्र, लज्जालु र स्वाभिमान बाघलाई के के समस्याले सताईरहेको छ । उत्तर सजिलो होला– बासस्थान विनास, बाघको घरमा लिनियर पूर्वाधार निर्माण, चोरी शिकारी, आहाराको कमी, जलवायु परिवर्तन, अशान्ति र असुरक्षा, अवैध अङ्ग व्यापारको बिगबिगी आदि आदि । तर बाघको मनोवैज्ञानिक भित्रि चिन्ता पत्ता लगाउन जरुरी छ ।

के नेपाल पुर्खाले सुम्पेको प्रकृतिको उपहार बाघ पाल्न नसक्ने देश भएको हो त ? किन दुर्गामाताको बहान् शक्तिको प्रतीक बाघ विनासको लागि हामी उद्यत छौं । किन बाघ अधिकारकर्मीहरु बाघ बचाउका लागि बोल्न लेख्न सक्दैनन् । किन हामी बाघका बासस्थान मास्ने नास्ने दाउमा छौं । किन विश्व सम्पदामा सूचिकृत प्राकृतिक सम्पदाको विरोधमा छौं ?

सायद यो दरिद्रताको पराकाष्ठा हो । बाघ विज्ञहरु एकजुट् गोलबद्ध हुन र बाघको रक्षार्थ जुट्न आवश्यक देखिन्छ । यहाँ बाघ प्रजातिको छुट्टै चर्चा र समस्या गर्न खोजिएको होइन । बाघसँग सम्पूर्ण जैविक विविधता र तिनको बासस्थान जोडिएर आउदछ । बाघसगँसँगै मानव जातिको पनि अस्तित्व समाप्त हुन्छ भन्ने विज्ञहरुको भविश्यवाणीलाई हामीले हृदयंगम गरेर बाघलाई बचाउन हरदम प्रयास गर्नुपर्दछ ।

Karnali Bridge.

हल्ला र अफबाह

नेपालमा बाघ धेरै भयो भन्ने हल्ला फैलाईएको छ । यो सुनियोजित रचिएको तानाबुना हो । गरीबको देशमा किन चाहियो निकुञ्ज– आरक्ष र बाघ हात्ती ? यो अर्को अफवाह हो । निकुञ्ज–आरक्ष र संरक्षण क्षेत्र चक्लाबन्दी गरेर बाँड्ने र नेपाल धनी हुने उल्टो दीवा सप्नाले एउटा वर्गलाई जुरुक् जुरुक् उचालेको छ।

बाघको क्यारिङ्ग क्यापासिटी अझ धेरै छ नेपालमा । तर हाम्रा निकुञ्ज–आरक्षमा चौतर्फी अतिक्रमण र वाधा व्यवधान बढेर बाघलाई तनाब भएको हो । चोरी शिकारी बढेको पनि घामजस्तै छर्लङ्ग छ । तर बाघ बढी भएको हल्ला निराधार हो । सन् २०२२ मा हामीले बाघ दोब्बर बनाउनु छ । बाघको आनीबानी अनुसन्धान गर्न समेत सहयोग पुग्ने हिसाबले तत्काल एउटा बाघ गणना आवश्यक देखिन्छ ।

Karnali Bridge.

बर्दिया निकास

अनकण्टार जङ्गलको एक्लो मोटरसाईकल यात्रालाई निकुञ्ज प्रशासनले प्रतिबन्ध लगाउनुपर्दछ । कम्तिमा जोडी साधनमा यात्रा गर्न दिने व्यवस्था हुनुपर्दछ । अति जरुरी आपतकालीन् यात्रा हो भने सुरक्षाकर्मीहरुले एस्कर्ट गरेर जङ्गल पार गराईदिनुपर्दछ ।
जङ्गलको बीच बीचमा समदूरीमा अस्थायी पोष्टहरु, अस्थायी चेक पोइण्टहरु अनिवार्य सञ्चालन गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्दछ । डमी पोष्ट र डमी गार्डहरुपनि डेटरेन्सको लागि उपयोगी हुन सक्दछ ।

अस्थायी भनेर राजमार्ग भित्र बनाईएका सडकहरु हटाएर निकुञ्ज बाहिरबाट बनाउनुपर्दछ । अथवा, विज्ञहरुको राय लिएर अण्डरपास भन्दा पनि ओभरपासको व्यवस्था हुनुपर्दछ । र, भविष्यमा यस्ता प्रकृति एवं वन्यजन्तुअमैत्री लिनियर पूर्वाधार निर्माण गरिनु हुंदैन ।

कर्णाली नदीका पूर्वी किनारामा स्थापना गरेका गार्ड पोष्टहरु हटाएर कर्णाली पारि लैजानुपर्दछ ।
टाईगरल्याण्ड (बर्दिया) का स्थानीयबासी जनताहरु बाघ संरक्षणमा अझ सक्रिय र जुझारु भएर लाग्नुपर्दछ ।
टाईगरल्याण्डको सि.बि.ए.पि.यु. टीम र संरक्षणकर्मीहरुलाई सलाम ।
जय प्रकृति संरक्षण ।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format